मुसोभन्दा ठूलो, बिरोलोभन्दा सानो
साल नाल काटेर मलाई निकालियो । एन्टीसेप्टिक थियो कि थिएन, इन्फेक्सन नगराउने त्यो विधि थियो कि थिएन ? डिटोल थियो किन थिएन ? जे होस्, मलाई आमाको काखमा राखियो ।

२०३० साल । भदौ ५ गते ।
पाल्पा, भुवनपोखरी गाविसमा त्यो रात पर कतै खैंजडी बजिरहेको थियो । पण्डित विष्णुप्रसाद गाइरहेका थिए,
‘जाउँला वैकुण्ठमा नाच्दै गाउँदै रमाउँदै’
यता छहरानजिकै मैयाँ तीनपाटा बारी छिचोलेर कम्मरमा गाग्री अटेसमटेस गर्दै, सुइय सुस्केरा छाड्दै गोठमा आइन् ।
‘ए मैया, भोलि जनै पूर्णिमा, शुद्ध भइस् ?’ हजुरआमाले सोध्नु’भो ।
‘बल्ल पानी ल्याएँ, अब नुहाउँछु,’ आमाले भन्नु’भो ।
०००
खरले छाएको बुकुरो । भाद्र कृष्ण शुक्ल पक्षको पूर्णिमाको त्यो अदभूत् चन्द्रमा आफ्नो श्वेत आलोकका साथ ब्रह्माको कमलबाट सुवास छर्दै हाँसिरहेको थियो । म त्यतिबेला प्रभु विष्णुले क्षीर सागरमा शेष नागको आसन जमाए झैं बडा आनन्दको बोधमा थिएँ । हो, मैले सास आमाबाट फेरिरहेको थिएँ । मैले भोजन आमाबाटै गरिरहेको थिएँ । अनि मेरो स्वत्व आमामै निसृत थियो ।
राति ३ बजे । आमालाई पिसाब लाग्यो ।
दक्षिण-पूर्वी कोणमा रहेको सुन्तलाको बगैंचामा छामछुम गर्दै आमा कुनै समथर भूमि खोज्दै हुनुहुन्थ्यो । एक्कासि आमाको तल्लो पेट दुख्यो । उहाँ थचक्क बस्नु’भो ।
मकैको बोटबाट सानो पतेरो झर्यो र आमाको दाहिने हात चिलायो ।
आमा पिसाब फेर्दै हुनुहुन्थ्यो, लिचिको बोटबाट लोखर्केले सुटुक्क चियायो ।
‘लौ न नि, यो के झर्यो ?’
निस्तब्ध रातमा एकाएक आमाको चिचिलो स्वर सुनेपछि ब्रह्म मुहूर्तको सुशुप्त निद्रामा रहनुभएकी मेरी हजुरआमा झस्किनु’भो । अग्निसोमात्मक आलोक छरिरहेका चन्द्रमा पनि सायद हेरिरहेका थिए,
‘लौ न नि, यो के झर्यो ?’
हजुरआमाले उठेर झ्यालको खापा सर्याक्क पार्नु’भो । अनि आँखा चिम्सा पार्दै दक्षिणतिर हेर्नु’भो ।
‘ए मैया किन कराइस्, के भो ?’
दृश्य देखिसकेपछि हजुरआमा भुल्ला कपडा बोकेर काठको भर्याङ हतार-हतार ओर्लेर सुन्तला बगैंचातिर हतासिनु’भो ।
‘हेर्नु न सातै महिनामा आएछ’
‘भाग्यमानी छ, नडरा मैयाँ ।’
मैनटोल बालेर पल्लाघरका काँइला’बा आए । बाँसको झारीमुनि केतुकीलाई छिचोल्दै आएका हाम्रा साइँला’बाले भने, ‘यिनी त मुसोभन्दा ठूलो, बिरालोभन्दा सानो पो रहेछन् ।’
साल नाल काटेर मलाई निकालियो । एन्टीसेप्टिक थियो कि थिएन, इन्फेक्सन नगराउने त्यो विधि थियो कि थिएन ? डिटोल थियो किन थिएन ? जे होस्, मलाई आमाको काखमा राखियो ।
भोलिपल्ट ।
यज्ञोपवितको कर्मकाण्डको तयारी थियो । ज्योतीषी हाम्रा हजुर’बाले भन्नुभो,‘ अब छोइछिटो गर्नुपर्छ, बुहारी जुठी भइन् ।’
निस्तब्ध रातमा एकाएक आमाको चिचिलो स्वर सुनेपछि ब्रह्म मुहूर्तको सुशुप्त निद्रामा रहनुभएकी मेरी हजुरआमा झस्किनु’भो ।
यता समस्या अर्कै थियो । साल नाल काटेर मलाई निकाल्न त निकालियो, तर मेरो वक्य फुटेन । जस्तो कि सामान्य बच्चा जन्मिनासाथ आफ्नो प्रारब्धका सारा आलय विज्ञान ओकलेर आफ्नै भाषामा च्यहाहाँ….गर्छ नि, हो त्योचाहिँ मैले गर्न पाइनँ ।
सात महिनामा जन्मिएको रहेछु । तीन दिनसम्म दूध नचुसेपछि र परेला बटारिन थालेपछि आमाले ठान्नु’भो, अब यो बाँच्दैन । अनि कालीगण्डकीमा सेलाउने निधो गरीवरि हिँडनु’भो ।
बाटोमा भेटिनु भो, कुलप्रसाद नेपालकी आमा (मलाई उहाँको नाम पनि याद छैन, तर भुत्री भन्दारहेछन्) । उहाँले मेरो हाल देखेपछि मलाई च्याप्प छातीमा टाँसेर दौडाउँदै चार घण्टाको बाटो (त्यो वर्षायामको) पाल्पा मिसन अस्पताल लैजानु’भो ।
मिसन अस्पतालका चिकित्सकले भने, ‘वी कान्ट रिकोभर हिम ।’
भुत्री अकमक्क । सायद त्यो कुन कश्मीक पावर थियो, जसले तत्काल भुत्रीको चेतना झल्याँस्स गरायो ।
‘बेलवासे डाक्टरकहाँ जाउँ ।’
डा. बेलभक्त । उहाँको क्लिनिकमा मलाई लगियो । डाक्टर साहेबले मुसाभन्दा ठूलो बिरालोभन्दा सानो एउटा पिण्डलाई दुवै हातले उठाएर हेर्नु भो र भन्नु भो, ‘यसलाई निमोनियाँ भएको छ ।’
समस्या पत्ता लागेपछि समाधान त भइहाल्छ । डा. साबले एन्टीबायोटिक इन्जेक्सन (सायद पेनिसिलिन हुनुपर्छ) दिनु’भो । जन्मेको चौथौं दिनमा मेरा आँखा खुले, यी शब्द टाइप गरिरहेका मेरा औंला चल्मलाए । अनि पाँचौं दिन बक्यो फुट्यो, चियाहाँ…।
गुल्मीबाट मामाहरु आए । आमाको स्तन दाहिने कान्छी औंलाले चलमलाउँदै पान गर्न थालेपछि म यो संसार, यो भवसागरमा पदार्पण गरिहालें ।
अहिले लाग्छ, मलाई किन बचाएको ? किन कालीगण्डकीमा नसेलाएको ? भुत्रीले किन बेलबासे डाक्टरकहाँ लगेको ? किन मलाई बचाएको ?
हो, यही प्रारब्ध हो । मैले दुःख भोग्न लेखेको रैछ नि त ।
प्रतिक्रिया