लघुवित्तलाई नीतिगत सहुलियत दिने राष्ट्र बैंकको घोषणा

काठमाडौं । चुक्ता पूँजी बढाउने लघुवित्तहरुलाई नेपाल राष्ट्र बैंकले नीतिगत सहुलियत दिने भएको छ ।
राष्ट्र बैकले बुुधबार (आज) लघुुबित्त बित्तीय संस्थाहरुको नाममा परिपत्र जारी गर्दे सहुलियत दिने घोषणा गरेको हो । सो अनुसार (घ) वर्गको लघु वित्त वित्तीय संस्थाहरु गाभिएर वा प्राप्ति गरेर एक अर्बभन्दा बढी चुक्ता पूँजी कायम गरेमा वा एक अर्बभन्दा बढी चुक्ता पूँजी भएका संस्थाले एउटा राष्ट्रियस्तर वा दुई वटा प्रदेशस्तरका संस्था गाभेमा वा प्राप्ति गरेमा काठमाडौं उपत्यका भित्र काठमाडौं महानगरपालिका तथा ललितपुर महानगरपालिका बाहेकका स्थानमा एउटा कर्पोरेट कार्यालय र दुई वटा शाखा कार्यालयस्थापना गर्न स्वीकृति प्रदान गरिने छ ।
परिपत्र अनुसार लघुबित्त कर्जा प्रवाह गर्दा संस्थाले स्वीकृत कर्जामा वार्षिक एक दसमलव ५० प्रतिशत सम्म सेवा शुल्क लिन सक्नेछन् । एक वर्षभन्दा कम अवधिको लागि कर्जा प्रवाह गरेको अवस्थामा यस्तो कर्जाको लागि वार्षिक एक दसमलव ५० प्रतिशतमा नबढ्ने गरी कर्जा अवधिको आधारमा सो दरको दामासाही हिसाबले मात्र सेवा शुल्क लिन सक्नेछन् । तर, थोक कर्जा प्रवाह गर्ने संस्थाले लघुवित्त वित्तीय संस्थाहरुलाई प्रवाह गर्ने कर्जामा वार्षिक शुन्य दसमलव ५० प्रतिशतभन्दा बढी सेवा शुल्क लिन पाइने छैन ।
थोेक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेमा त्यस्तो लघुवित्त वित्तीय संस्थाले खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाको रुपमा कार्य गर्न सक्नेछन । परिपत्र अनुसार प्रचलित लेखा मापदण्डको अनुशरण गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा तोकिएको अवस्थामा बाहेक वित्तीय विवरणहरु नेपाल लेखा मापदण्ड अनुसार तयार गर्नुपर्नेछ ।
नेपाल लेखा मापदण्डले समावेश नगरेका क्षेत्रहरुमा अन्तर्राष्ट्रिय लेखा मापदण्ड आईएफआरएसलाई आधारकोरुपमा लिनुपर्नेछ । थोक कर्जा कारोवार गर्ने र सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाहरुले २०७८ असार मसान्तको वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदनमान एनएफआरएस अनुसार समेत समानान्तररुपमा तयार गर्नु पर्नेछ ।
परिपत्र अनुसार राष्ट्रियस्तरका लघुवित्त वित्तीय संस्थाहरुले २०७९ असार मसान्तको वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदनमान एनएफआरएस अनुसार समेत समानान्तररुपमा तयार गर्नुपर्ने बताइएको छ ।
प्रतिक्रिया