बुधबार, वैशाख १०, २०८२

स्वास्थ्य सेवामा अब्बल, पोखराको मनिपाल

नेपालखोज २०७८ भदौ १७ गते १९:२०

काठमाडौं । काठमाडौंपछि पोखरा सहर आन्तरिक तथा बाह्य पर्यटकका लागि दोस्रो गन्तव्य हो । नेपाली मात्र नभई भारतीय तथा अन्य विदेशी पर्यटकका लागि पनि पोखरा रोजाइको ठाउँ हो । पर्यटकीय गन्तव्यका लागि मात्र होइन, पोखरा अन्य क्षेत्रको विकासका लागि पनि उत्तिकै प्रसिद्ध छ । स्वास्थ्य क्षेत्रको विकासमा पनि पोखरा अग्रणी छ ।

पोखरामा रहेको मनिपाल शिक्षण अस्पताल नेपालका नमुनामध्ये एक हो । भारतको मनिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपको लगानीमा सन् १९९४ बाट उक्त शिक्षण अस्पताल सञ्चालनमा आएको थियो । सञ्चालनमा आएदेखि नै यो अस्पताल नेपालको पश्चिमी क्षेत्रका जनताको उपचारका लागि केन्द्र बनेको छ ।

नौ सय बढीलाई रोजगारी दिँदै आएकोे अस्पतालमा उपचारको व्यवस्था पनि अब्बल छ । घुमघामका लागि पनि मनिपाल शिक्षण अस्पताल परिसरमा मन लोभ्याउने वातावरण छ । यहाँको वातावरणले स्थानीयसँगै उपचारका लागि आएका बिरामी तथा कुरुवालाई लोभ्याउँछ ।

विराटनगरकी सरिता घिमिरे लामो समयदेखि पोखरामा बस्दै आएकी छन् । सानोतिनो बिमार लागे पनि मनिपाल आफ्नो रोजाइमा पर्ने उनी बताउँछिन् । गण्डकी प्रदेशका साथै अन्य क्षेत्रका जनताको रोजाइमा पनि मनिपाल पर्ने गरेको छ ।

स्थापनाकालदेखि नै उत्कृष्ट सेवा दिँदै आएको मनिपालका हरेक सेवा अझ प्रभावकारी र सशक्त बनाउन नेपाली व्यवसायीले यसको स्वामित्व लिएका छन् । अस्पतालको स्वामित्व भारतीय लगानीकर्ताबाट नेपाली नागरिकको हातमा आएपछि पश्चिम क्षेत्रका जनता खुसी भएका छन् । भारतीय समूहबाट सञ्चालन हुँदा बेलाबेला विभिन्न समस्या झेल्दै आएको मनिपालमा आगामी दिनमा भने समस्याहरूको समाधान भएर जानेमा पोखरावासी पनि ढुक्क छन् ।

पोखराका दुई व्यावसायिक समूह बतास अर्गनाइजेसनका आनन्दराज बतास र अटोवेज ग्रुपका नारायण पौडेलले मनिपालको स्वामित्व लिएका छन् । भारतीय समूहसँग तीन अर्ब २२ करोड ६० लाख रुपैयाँमा मनिपाल बतास र पौडेलले किनेका हुन् । कुल लगानीमध्ये बतासको ६० र अटोवेजको ४० प्रतिशत छ ।

नेपाल सरकार र भारतको मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपबीच १८ अक्टोबर १९९२ मा उक्त अस्पताल स्थापना गर्ने सम्झौता भएको थियो । सम्झौता भएको दुई वर्षपछि मेडिकल कलेजका रूपमा एमबीबीएस सुरु भएको थियो । आगामी दिनमा एमबीबीएस पढ्न चाहनेका लागि अस्पतालले उपयुक्त नीति ल्याउनेमा पनि गण्डकी प्रदेशवासी आशावादी छन् । हाल मनिपालमा एमबीबीएस, पीजी र नर्सिङका कक्षा सञ्चालन हुँदै आएका छन् ।

यसलाई नेपालमै पहिलोपटक निजी क्षेत्रको लगानीमा स्थापना भएको सुविधा सम्पन्न अस्पतालका रूपमा लिइन्छ । मनिपालमा अहिले ७ सय ५० शय्या सञ्चालनमा छन् । भारतीय समूहसँग केही दिनअघि खरिद सम्झौता भएको उक्त अस्पताल डेढ महिनाभित्र नेपालीको स्वामित्वमा हस्तान्तरण भइसक्नेछ । लगानीकर्ता बतास अस्पताल सञ्चालन समितिको अध्यक्ष र पौडेल उपाध्यक्ष रहनेछन् ।

पश्चिमी क्षेत्रका जनतालाई उपचार गर्न सहज होस् र मेडिकल साइन्स पढ्न चाहने विद्यार्थीले पनि राजधानी वा अन्य ठाउँमा जानु नपरोस् भन्ने उद्देश्यले अस्पतालमा लगानी गरिएको सञ्चालकहरू बताउँछन् ।

नेपालमा उपचार सेवाका लागि अग्रणी मानिने उक्त अस्पताललाई थप सुबिधा सम्पन्न बनाउन पहल गरिने अध्यक्ष बतासले नेपालखोजलाई जानकारी दिए । शिक्षण अस्पतालका नयाँ सञ्चालकहरूले न्युरो र मुटुको उपचारमा विशेष ध्यान दिने जनाएका छन् ।

प्रतिक्रिया