बिम्ब…
ईन्द्र नेउपाने
२०७८ भदौ १९ गते ९:०८

आफ्ना बारीका गुलाबहरू सम्हाल
दुबोहरू काट,
सयपत्रीहरू रोप
पराइको बगैंचामा फोटो खिचेर कति रमाउँछौ
आस्कोट धोई-पखाली गर पिताजीको
नङहरू काटिदेउ आमाको
उनीहरूसँग अपार प्रेम छ तिमीप्रति
देख्नु न चिन्नुका महत्त्वलाई
हेप्पी बर्थ डे भन्नै पर्दैन
पैसा र शक्तिको पूजाले
जीवन हारेर विचित्रता देखिन्छ
समय ठीकसँग चलेन भने जीवनमा
आमाको बलात्कारी र बाबुको जार
सँगै मन्दिरमा भेटिन्छ
छि..तेल लगाएर पाएको टोपी
त्योभन्दा स्वाभिमान र स्पष्टता प्यारो
गद्दार भएर यश.. देखाउनुभन्दा
सत्य बोलेर भोकै मर्नु बेस
अन्तिम सत्य मृत्यु हो
अभाव र भोकले
त्यही गन्तव्य पुगे बरु सही
तर…
चिप्ला र स्वार्थीहरू
अहंताले मातेर
सेतो सर्ट भित्र
कालो मन बोकेका
समयका देशद्रोहीहरूको
मलामी पुग्न नपरोस्…
सम्बन्धित
प्रतिक्रिया