आइतबार, वैशाख ७, २०८२

‘म दुई जिउकी छु’

आचार्य प्रभा २०७८ भदौ १९ गते १०:१२

कार्यक्रम सुरु हुनै लागेको थियो । त्यहाँ दुई महिला पनि पुगे । कैले न मैले साहित्यको ‘स’ पनि नरुचाउनेहरु आज उक्त कवि गोष्ठीमा पुगे र खासाक-खुसुक गर्दै थिए । ‘खै ! त त्यस्ती जिउकी जस्ती त लाग्दिन त ?’ अर्कीले भनी । -‘भर्खर गाँईगुईं सुनिएको हो दुई/चार महिनामै कहाँ देखिन्छ र ?’

रुपा कविता वाचनमा व्यस्त थिई । उसलाई के थाहा ? उसकै गाउँका दुई महिलाहरु उसलाई चियो गर्न आएका छन् भनेर । उनीहरु अझै पनि प्रश्नसूचक आँखाले हेर्दै गन्थन गर्दै थिए । – ‘खै ! कविता/कविता भन्दै लखरलखर हिँड्थी । सधैं संगत छोरा मान्छेकै हुन्छ भन्थे । हुन पनि सक्छ नि यो कलियुगमा के पो नपत्याउँनु र ?’

छेवैमा बसेकी एक युवतीले उनीहरुका गन्थन सुनिरहेकी थिई, तर विषय के हो ? उसलाई पत्तो भएन तर कुराचाहिँ रुपाकै काटेका भनेर अड्कल भइसकेको थियो ।

ती महिलाहरुको गन्थनले दिक्क भएर उसले प्रश्न तेर्स्याई । -‘यहाँहरुले रुपाजीको बारेमा कुरा गर्नु भएजस्तो लाग्यो । तर कुन विषयमा हो ? किन त्यस्ता अपशब्दहरु उहाँलाई भनिरहनु भएको छ ?’

एउटीले बिस्तारै भनी । -‘नानी यी रुपाले बिहे गरेकै छैनन् । तर गाउँमा दुई जिउकी छ भनेर हल्ला चलेको छ । कुरा के हो ?तपाईंलाई त थाहा होला नि ?’ अर्कीले प्याच्च भनि हाली ।- ‘आजकलकालाई के, बिहा हुनु र नहुनु ? के लाज शरम ?”

उनीहरुको कुरा सुनेर त्यो युवती हाँसेर हुरुक्कै भई र हाँस्दै भनी । -‘अहो ! हजुरहरुले उल्टो सुन्नुभएछ । रुपा साँच्चिकै कहाँ दुई जिउकी भएकी हुन् त ? उनको त्यो ‘म दुई जिउकी भएकी छु ।’ कविता संग्रहको नाम पो हो त ! त्यो शीर्षकको कविता त कस्तो चर्चामा आयो । उनले त्यही किताबबाट मदन पुरस्कार पाएकी हुन् ।’

ती दुई महिलाहरु अकमक्क परे । थुइक्क ! यी साहित्तेकारहरुका पनि भाषा बुझी नसक्नु हुँदा रैछन् भनेर बाटो लागे । ती युवती ती अन्जान महिलाहरुलाई हेर्दै अझै हाँसी रहेकी थिई ।

प्रतिक्रिया