त्यसो त सब शून्य हो-शून्य !

त्यसो त
सब शून्य हो – शून्य !
सम्बन्ध ?
शून्य ÷ शून्य
सम्झना ?
शून्य × शून्य
सीमा ?
शून्य + शून्य
सिद्धान्त ?
शून्य – शून्य
तर
म त सधैँ
तिमीसङ्गै हुनेछु – अङ्क बनेर !
तिमीलाई
आमाको पिठूँमा राखेर हुर्काउँछु
बुवाको बुइबाट झैं संसार देखाउँछु
दाइले झैँ कान्छी औँला समाउँदै हिँडाउँछु
या दिदीले झैँ कम्मरमा बसाएर
टोल , गल्ली र सम्पदाका सारा नक्शा घुमाउँछु
साथीसितको हातेमालो
या काँधेमालोमा
गाउँदै एउटा अजम्म्बरी गीत
- झी निह्म पासा
गनं वने योसा
नापनापं चाह्यु वने नु !
या वा
यह दोस्ती हम नहीँ तोडेंगे
या वा अङ्गाल्दै
प्रेमिकासित सङ्गसङ्गै
- जीवनदेखि जीवनसम्म
- दु:खसुखदेखि सुखदुःखसम्म
- पहिलोदेखि अन्तिमसम्म !!
हुन सक्छ
कहिले
आँखामा सपना बनेर
कहिले
दिलको सम्झना भएर
कहिले
दिमागमा – हिसाब किताबका
केही अलपत्रे लेनदेनमा
लिनुपर्ने जे छ – बिर्सिन नसकेर
दिनुपर्ने धेरै – सम्झिन नसकेर
प्रेमको आधार
एक सम्झौता – एक अमोघ आशा – एक श्रद्धा !!
प्रेम मात्र प्रेम हो !
प्रेममा –
लिनुपनि पर्ने दिनुपनि पर्ने = स्वाहा !
शून्य माइनस शून्य बराबर – स्वाहा !!
एक गुणा दस बराबर – स्वाहा !!!
सय जोड सय बराबर – स्वाहा !!!!
हिसाब र किताब – बराबर = बराबर
——– शू——– न्य ———– !!!!!!
विस्मृतिको पुन:स्मृतिमा
तिम्रो दायाँ छातीमा – भिजा र व्यापार
बायाँ छातीमा – प्रेम र सहभाव !!
म आँखाको सपना हुँ !?
या मुटुको सम्झना !?
भ्रम ?
बिभ्रम ??
यथार्थ ??
कतै नमिलेको हिसाबमा !?
भन म कहाँ छु ?!
नढाँट है मलाई
ढाँट्यौ भने –
शून्य ÷ शून्य
शून्य × शून्य
शून्य + शून्य
शून्य – शून्य
…शून्य…शून्य…शून्य…!
- भक्तपुर
प्रतिक्रिया