बिहीबार, वैशाख ११, २०८२

कर्णालीमा संक्रमणको अंकभार ६५ भन्दा बढी देखिए रेडजोनमा राखिने

नेपालखोज २०७८ भदौ १९ गते १०:०१

कर्णाली । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले स्मार्ट लकडाउन कार्यविधिमा तोकिएको अंकभार ६५ भन्दा माथि कोभिड संक्रमण देखिएमा त्यस्ता स्थानीय तहलाई रेडजोनमा राख्ने बताएको छ ।

जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले स्मार्ट लकडाउन कार्यविधिमा ६५ अंकभारभन्दा माथि कोभिड संक्रमण भएमा रेडजोनमा राख्ने र कडा लकडाउन गर्नुपर्ने उल्लेख गरिएको बताए ।

अधिकृत वाग्लेले भने, ‘वीरेन्द्रनगरको अंकभार ६६ छ । भेरीगंगा नगरपालिकाको ४२ र गुर्भाकोटका २१ छ । अंकभारका लागि दिइएका सूचकमा दुई सातामा कोभिड नयाँ संक्रमणको वृद्धि दर, मृत्युदर, बेड क्षमतालगायत रहेका छन् ।’

उनले सुर्खेतका विद्यालय खुलाउँदा दुई सिफ्टमा खुलाइने तयारी गरिएको जनाए । पञ्चपुरी, लेकबेँसी नगरपालिका साथै सिम्ता, चिंगाड, बराहताल र चौकुने गाउँपालिकामा कोरोना सङ्क्रमण न्यून भएकाले भौतिक उपस्थितिमा विद्यालय खुलाउन सकिने उनको भनाइ छ ।

मापदन्ड निर्धारणका लागि शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ । जसमा वीरेन्द्रनगर, भेरीगङ्गा र गुर्भाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख, जनस्वास्थ्य सेवा कार्यालय, प्याब्सन, एनप्याब्सन, शिक्षक महासङ्घ र शिक्षक अभिभावक संघका सदस्य छन् ।

यही कार्यदलले मापदण्ड निर्धारण गरी प्रतिवेदन तयार गरी जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रमा पेस गर्नेछ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले स्मार्ट लकडाउनसम्बन्धी कार्यविधिअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गरी आगामी सातादेखि खुलाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले आगामी सातादेखि सुर्खेतका सबै सामुदायिक र संस्थागत विद्यालय खुल्ने बताउनुभयो । स्वास्थ्य संक्रमणको जोखिममा रहेको वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोट नगरपालिकाको शिक्षा शाखा, शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सनको सहभागितामा विद्यालय खुल्ने मापदण्ड निर्धारण गरेर त्यसको आधारमा विद्यालय खुलाइने प्रजिअ रिजालले बताए ।

दुई/तीन दिनभित्र मापदण्ड निर्माण गरी प्रतिवेदन बुझाउने र त्यसका आधारमा विद्यालय खुलाइने उनको भनाइ छ । विद्यालय खुलाउने सम्वन्धमा सम्बन्धित स्थानीय तहको शिक्षा शाखाको सहभागितामा कोरोना संक्रमणको अवस्था हेरिनेछ ।

सुर्खेतका नौमध्ये छवटा स्थानीय तह स्मार्ट लकडाउन कार्यविधिअनुसार ग्रीन जोनमा परेको र भौतिकरुपमा विद्यालय खुलाउन सकिने भए पनि वीरेन्द्रनगर नगरपालिका रेड जोनमा र भेरीगंगा तथा गुर्भाकोट नगरपालिका पहेँलो जोनमा छन् । वीरेन्द्रनगर नगरपालिका रेडजोनमा परे पनि विद्यालय खुलाउने तयारी गरिएको छ । रासस

प्रतिक्रिया