ट्विटरले अपमानजनक भाषामा लगाम लगाउने, अब सुपर फलोज फिचर !

काठमाडौं । माइक्रो ब्लगिङ प्लेटफर्म ट्विटरको हेन्डलमा अब अपमानजनक भाषा प्रयोग गर्न नपाइने भएको छ । यसका लागि ट्विटरले एउटा नयाँ ‘सेफ्टी मोड’ फिचरको परीक्षण गरेको छ । जसले अपमानजनक वा घृणा फैलाउने टिप्पणी गर्ने एकाउन्टलाई सात दिनका लागि अस्थायी रूपमा ब्लक गर्छ वा त्यो एकाउन्ट ७ दिनका लागि निलम्बित हुन्छ ।
ट्विटरले एक ब्लग पोस्टमा जनाएअनुसार नयाँ सुरक्षा उपाय आईओएस, एड्रोइड तथा ट्विटर डटकममा स-साना समूहबीच उनीहरुको राय बुझ्ने उदेश्यले लागु गरिएको छ ।
‘हामीले यस्तो फिचर र सेटिङ लागु गरेका छौं, जसले प्रयोगकर्तालाई बढी सहज महसुस गराउँछ । हामी अवान्छित कुरा सामना गर्नुपर्नेहरुमाथिको दबाब कम गर्न बढीभन्दा बढी प्रयास गरिरहेका छौं,’ ट्विटरले भनेको छ, ‘ट्विटरमा अवान्छित ट्विट आउन सक्छ, त्यसैले हामीले सुरक्षा मोडको प्रारम्भ गरेका छौं । यो एउटा नयाँ सुविधा हो, जसको उद्देश्य हानिकारक कुरा कम गर्नु हो ।’
ट्विटरको सुपर फलोज फिचर
ट्विटरले एउटा नयाँ फिचर सुपर फलोज पनि सार्वजनिक गरेको छ । यो फिचरमार्फत ट्विटरले युजर्सहरुलाई पैसा कमाउने मौका दिइरहेको छ । तत्कालका लागि यो फिचर आईओएस युजर्स अर्थात् आइफोन प्रयोगकर्ताहरुले अमेरिका र क्यानाडामा मात्र प्रयोग गर्न सक्नेछन् । यसमा क्रिएटर्सहरुले आफ्ना फलोअर्सका साथ आफ्नो कन्टेट सेयर गरेर मासिक रुपमा आम्दानी गर्न सक्छन् ।
ट्विटरका अनुसार केही सातामै यो फिचर संसारभरका आईओएस युजर्सले प्रयोग गर्न सक्नेछन् । सुपर फलो सब्सक्रिप्सनका लागि योग्य हुन १० हजारभन्दा बढी फलोअर्स तथा बितेका ३० दिनमा २५ भन्दा बढी ट्विट गरिएको हुनुपर्नेछ ।
ट्विटरका प्रोडक्ट म्यानेजर भन्छन्, ‘सुपर फलो फिचरमार्फत ट्विटरमा आफ्ना फलोअर्सका साथ बढी मेलजोल र विश्वसनीय कुराकानी गर्न सकिनेछ भने पैसासमेत कमाउन सकिनेछ ।’
प्रतिक्रिया