नेप्से २,८७५ अंकमा सीमित, सातामा ४२ अर्ब २५ करोड रुपैयाँको सेयर काराेबार

काठमाडौं । नेप्सेमा यो साता निकै नै ठुलो उतारचढाव आएको छ । साताको सुरुवाती कारोबार दिनदेखि नै नेप्से उच्च अंकले ओरालो लागेपछि सेयर बजार सुधारको लागि लगानीकर्ताहरुले अर्थमन्त्री जर्नाधन शर्मा प्रभाकरकाे समेत ध्यानाकर्षण गराए ।
अर्थमन्त्रीले नेपाल राष्ट्र बैंकका गर्भनर डा. महाप्रशाद अधिकारीलाई पुँजीबजारमा देखिएको समस्या समाधान गर्न आग्रह गरे । सोही आग्रहका कारण पहिलो दिन एक सय आठ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन सोमबार एक सय ६१ अंकले बढ्यो ।
तर नेप्सेको त्यो उच्च वृद्धि लामो समय टिक्न सकेन । साताको तेस्रो कारोवार दिन देखि नै पुन नेप्से लगातार ओरालो लाग्न थाल्यो । सोही आधारमा यो साता नेप्से दुई हजार आठ सय ७५ दशमलव ९७ अंकमा सीमित हुन पुगेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ३५ दशमलव २९ अंकमा सीमित हुन पुगेको छ । दुई सय ३० वटा कम्पनीहरुको चार लाख ७२ हजार पाँच सय ८० पटकको कारोबारमा आठ करोड ६७ लाख आठ हजार आठ कित्ता सेयर किनबेच हुँदा यो साता कुल कारोबार रकम ४२ अर्ब २५ करोड ९८ लाख १९ हजार पाँच सय १० रुपैयाँ पुगेको छ ।
यो कारोबार रकम गत साताको तुलनामा पाँच अर्ब रुपैयाँले घटी हो । गत साता भने नेप्सेमा दुई सय ३० वटा कम्पनीहरुको पाँच लाख २८ पटकको कारोबारमा आठ करोड ३२ लाख ९० हजार आठ सय ६४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४७ अर्ब ७६ करोड ८७ लाख ११ हजार ८९ रुपैयाँ पुगेको थियो ।
नेप्से यो साता पाँच दिन नै खुल्ला रहेको भएपनि दोस्रो दिन बढेर बाँकी दिन नेप्से उच्च अंकले घटेको थियो । जस अनुसार पहिलो दिन एक सय दशमलव आठ अंकले घटेर दुई हजार आठ सय १८ दशमलव ७२ अंकमा सीमित हुन पुगेको नेप्से अन्तिम कारोबार दिन पनि शून्य दशमलव ६२ अंकले घटेर दुई हजार आठ सय ७५ दशमलव ९७ अंकमा पुगेर रोकिएको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन १९ दशमलव ७६ अंंकले घटेर पाँच सय २२ दशमलव एक अंकमा सीमित हुन पुगेकोमा अन्तिम कारोबार दिनसम्म आइपुग्दा एक दशमलव ५३ अंकले घटेर पाँच सय ३५ दशमलव २९ अंकमा पुगेर रोकिएको छ ।
बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा यो साता अरुण भ्याली हाईड्रो पावर कम्पनी, नेशनल हाइड्रो पावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेका छन्, भने कारोबार भएको सेयर संख्याको आधारमा नेशनल हाईड्रो पावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेका छन् ।
यसैगरी बजार पुँजीकरणको आधारमा भने नेपाल टेलिक, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेका छन् । सेयर सुचीकरणतर्फ भने यो साता साँग्रिला डेभलपमेन्ट बैंकको नौ प्रतिशत साँग्रिला डेभलपमेन्ट बैंक डिवेञ्चर २०८७ र प्राइम कर्मसियल बैकको आठ दशमलव ७५ प्रतिशत प्राइम डिवेञ्चर २०८५ आदि परेको छ ।
प्रतिक्रिया