रामकृष्ण बान्तवाको ‘आमालाई चिट्ठी’, आध्यात्मदेखि विज्ञानसम्म

रामकृष्ण बान्तवा नेपाली साहित्यमा कहलिएको नाम हो । विदेशमा बसेरै भएपनि उनले नेपाली साहित्यलाई अनगिन्ती गुन लगाएका छन् ।
बहुप्रतिभाका धनी लेखक, साहित्यकार, उपन्यासकार, कथाकार, कवि तथा गीतकार रामकृष्ण बान्तवाका रचना चर्चित छन् । उनका रचनाभित्र कोही छिर्याे भने, त्यो त्यसैत्यसै बगिरहन्छ । अझै भित्र डुब्न चाहन्छ ।
बान्तवाले नेपाली साहित्यमा सम्भवत अहिलेसम्मको सवैभन्दा ठूलो उपन्यास ‘आमालाई चिट्ठी’ लेखे । झन्डै १२ सय पृष्ठको उक्त उपन्यास एउटा विराट समुद्र हो । यसमा एकपटक डुबुल्की लगाएपछि बाहिर निस्कन मनै नलाग्ने रहेछ । मैले पनि यसमा डुब्ने मौका पाएँ । यो उपन्यासभित्र छिरेपछि रात कटेको पत्तै नहुँदो रहेछ ।
कोरोना महामारीका कारण भएको लकडाउनमा मेरो प्रिय साथी नै यही भयो । यो उपन्यासभित्र म ३ पटक डुबिसकेँ । चौथो पटक पनि चाँडै नै डुब्नेछु । उपन्यासको सुरुवातमै भनिएको छ–
‘प्रत्येक सन्तानको जीवनको हरेक नसा–नसामा आमाको दूध र रगत दौडिरहेको हुन्छ । त्यसैले जसले आमालाई सम्मान दिन सक्दैन ऊ असल त बन्न सक्दैन नै, उसको पूरै जिन्दगी सघन तुवालो भित्रभित्र रुमलिँदै उराठ र उदास भएर जानेछ ।’
उपन्यासमा साधारण तर शालीन भाषा प्रयोग गरिएको छ । गाउँघरका ‘टिपिकल’ शब्दहरुको त भण्डार नै हो यो उपन्यास । यसमा हरेक वस्तु, क्षेत्र तथा व्यक्तिविशेषलाई सुक्ष्म रुपले वर्णन गरिएको छ । हरेक वाक्यका विषयलाई परम्परागत शैलीमा उतारिएको छ । हरेक विषयलाई आधुनिक विज्ञानसँग पनि जोड्ने प्रयास गरेको मैले पाएँ ।
उपन्यासमा उठेका विषयवस्तुमाथि सुक्ष्म अध्ययन गरी सामान्य भाषामा प्रस्तुत गर्नु चानचुने कुरो होइन । जुन कुराको वर्णन गरिएको छ, त्यसको गहिराइसम्म लेखक पुगेको पाइन्छ । पुस्तकको २६८ पेजमा एउटा विषयलाई बान्तवाले यसरी प्रस्तुत गरेका छन्–

‘आपाले त्यो दिन कटन र सूती मिसिएको हल्का फुस्रो रंङको दौरा सुरुवाल, रातो, सेतो र हल्का खैरो रंङको टाटे–पाटे कटन र सूती मिसिएको कपडाको ढाका टोपी, कालो कपडाको इन्डियन जुत्ता, सेतो कटन र सूती नै मिसिएको कपडाको मोजा र कालो लामो कटन अनि सूती नै मिसिएको चाइनिज बरम कोटको बाहिरपट्टी दायाँ र बायाँ दुई वटा गोजीहरु भएको र भित्रपट्टी पनि दायाँ र बायाँ नै ठुल्ठूला दुईवटा गोजीहरु भएको कोट लगाई जन्ती जानका लागी तयार भएर आँगनमा निस्किनु भयो ।’
त्यस्तै,
‘भित्र पट्टीको त्यो बरम कोटको ठुल्ठूला दुईवटा गोजीमा आपाले बुहारीका लागि गरगहनाहरु बोक्नु भएको थियो । २२ वटा सेतो खारीको धागोमा उनेर बनाएको हरियो रङको डेढ मिटर लामो लगनको पोतेसँग दुई तोला सुनको एउटा सौभाग्य (गलामा लगाउने), डेढ तोला सुनको २ वटा मरुवारी (कानमा लगाउने)… साढे दुई तोला चाँदीको २ वटा पाउजु र एउटा गुलाबी रंङको सानो डल्लो प्लास्टिकको बट्टामा ऐना पनि त्यही भएको बट्टाको एक बट्टा सिंन्दूर दुईवटै गोजीहरुमा सबै गरगहनाहरु बराबरी मिलाएर बोक्नु भएको थियो । भरियाले पिठ्यूँमा थुम्से र थाप्लोमा नाम्लो लगाएर हिड्न तयार थियो । सात जना जन्तिहरुले एक–एक वटा इन्डियन सिसाको लालटिन हातमा झुण्डाए, दुईजनाले एक–एक वटा हल्का सेतो प्लास्टिकको दुई जेरिक्यान मटितेल (भरे रातभरि बत्ती बाल्नको लागी) हातमा बोकेर हिड्नका लागि तयारी भए ।’
यहाँ साधारण कुरालाई पनि अत्यन्तै सुक्ष्म रुपले लेखकले केलाएका छन् ।
‘आमालाई चिट्ठी’ उपन्यासको पेज नं. ६६४ मा लेखिएको चिट्ठी पढेर जो–कोही पनि भक्कानिन्छन् । चिट्ठीको सुरुवात यसरी गरिएको छ,
मेरी प्यारी पूजनीय आमाको चरणकमलमा,
सास्टाङ्ग दण्डवत् !
म ओछ्यानमा नै छु आमा ! ओछ्यान देखि नै तपाईलाई यो चिठ्ठीमा मसिको बदला आँसुनै आँसुले लेखिरहेको छु ! हो आमा ! हुन पनि आँसु बाहेक अरु त के नै छ र मस“ग यो निष्पट रातको अध्यारोमा ! किन होला हिजो आज जत्ति–जत्ति दुःखका दिनहरु आउँदै जान्छन् त्यत्ति, त्यत्तिनै तपाई र आपाको यादले यसरी सताउँदै लगिराखेको होला ? किन होला मुटु सहिनसक्नु भएर दुखिराख्छ ! किन होला आमा ? …
… त्यसैले त होला आज पनि अतितको यादहरुमा डुबेर एउटा अत्यन्तै दर्दनाक चिठ्ठी तपाईलाई यसै गरी यो रातको माझमा पनि लेख्न मन लाग्यो ! …
… जब तपाइले हामीलाई सदासदाका लागि छाडेर जानुभयो तब दोकान पनि दिनदिनै घाटामा जानथाल्यो त्यही भएर पनि ऋण लाग्दै गयो ! त्यसपछि साहुको ऋण तिर्नकै लागि भए पनि कोही बाध्यताले बिदेश तिर लाग्यौं …
…मान्छेहरुको भीडमा आपाको अन्तिम बिदाई हुने बेला भयो । तीनजना मलामीले तीन घन हरियो बाँस खुकुरीले काटेर ल्याए, त्यस पछि अरु मलामीसँग मिलेर एउटा बाँसको घनलाई खुकुरीले चिरेर मसिनो भाटाहरु बनाए । त्यसपछि दुईवटै हरियो बाँसका घनालाई भाटाहरुले टाट्ना बेरेर खट बनाए …
…त्यसपछि ओछ्यानमा पल्टिएर दीपले ओडिरहेकी त्यो कटनको बाकुलो सेतो सिरकलाई अलिकती तानेर गुम्लुम्म ओडे, दुईवटै आँखा चिम्लेर म पनि उनीसँगै तातो भएर कुप्लुक्क सुते एउटा नाबालक सुतेको जस्तै गरेर ! …
उपन्यासमा हाँस्ने र रुवाउने ठाउँहरु धेरै छन् । पढ्दा–पढ्दै कुनबेला हाँसो फुत्किन्छ थाहै नहुने । अनि कुन बेला आँसु झरिरहेको हुन्छ त्यो पनि पत्तो नलाग्ने । आँसु झरेर कतिवटा किताबका पाना भिजे कुनै गणना छैन ।
यसमा आध्यात्मिक कुरादेखि लिएर हरेक धर्म सम्प्रदायलाई पनि समेटिएको छ । हरेक धर्मको आफ्नै मौलिकता हुन्छ भन्ने कुरा उपन्यासमा प्रष्ट पारिएको छ । ब्रम्हाण्डीय शक्ति र वैज्ञानिक शक्तिको भिन्नतालाई पनि सुक्ष्म रुपले बुझाउन खोजिएको छ । योग, ध्यानबाट मानिसले आनन्दको अनुभूति प्राप्त गर्न सक्छ भन्ने कुरालाई बान्तवाले मज्जाले सिकाएका छन् ।

नम्र स्वभावका बान्तवाले हङकङलाई लामो समयदेखि आफ्नो कर्मथलो बनाएका छन् । उनी विदेशमा रहेर पनि नेपाल र नेपालीको सेवामा जतिबेला पनि उपस्थित रहन्छन् । चाहे स्वदेशमा होस् या विदेशमा कोही नेपालीलाई अप्ठ्यारो परेको थाहा पाए भने सकेको सहयोग गर्न उनी जहिले पनि तत्पर देखिन्छन् ।
उपन्यासकार रामकृष्ण बान्तवा बि.सं. २०२३ सालमा जन्मिएका हुन् । उनी डायस्पोरियन उपन्यासकार हुन् । नेपाली साहित्यमा नाटक, उपन्यास, गीत तथा कविता क्षेत्रका अब्बल व्यक्तित्व हुन् उनी । खरानी, आत्मा, राधाराम, आमाछोरी, सघन तुवाँलो, औपन्यासिक कृति अशिक्षाको प्रताप, मायाजाल, मिर्मिरे कविता संग्रह तथा आधुनिक गीतहरुका विभिन्न भागहरु उनले नेपाली साहित्यलाई अर्पण गरिसकेका छन् ।
आभा, धुवाँ र आवाज गीति संग्रहबाट २ दर्जन भन्दा बढी गीत बान्तवाले बजारमा ल्याइसकेका छन् । आभा मुकारुङको स्वरमा ‘कता हिँडेको’ गीत निकै चर्चित पनि भएको थियो । त्यस्तै, उनले रचना गरेका ‘कुनै फुल जस्तो लाग्यो, यति चोखो मेरो माया, माथि रह्यो तारे भीर, भाग्छन् लोग्ने मान्छे’ आदि गितहरु पनि लोकप्रिय छन् ।
करिब ३२ वर्षअगाडिदेखि सिर्जनामा लागेका बान्तावाका आधा दर्जनभन्दा बढी कृति प्रकाशन भइसकेका छन् । उनको उत्कृष्ट उपन्यास ‘सघन तुवाँलो’ निकै चर्चित मानिन्छ । यो अंग्रेजी भाषामा समेत अनुवाद भएको छ ।

प्रतिक्रिया