हामी ट्वाल्ल
केशव आचार्य
२०७८ भदौ २६ गते १७:४५

बुझी नसक्नु, गुरुको खेल – हामी ट्वाल्ल।
हिजो पास भन्थे, आज फेल – हामी ट्वाल्ल।
भन्थे- विद्यालय सभ्यताको मन्दिर हो,
मन्दिर भित्रै, ठेलम-ठेल – हामी ट्वाल्ल।
कोही गुरु तल त, कोही माथि मञ्चम,
खोइ किन हो, पेलम्-पेल – हामी ट्वाल्ल।
बम्किने, चम्किने, चिच्याउने – कराउने,
यो चल्ने हो अझै, कतिन्जेल – हामी ट्वाल्ल ।
भन्ने गर्छन्- ‘हाम्रो योगदान सानो छैन’,
धेरै भोग्या अरे, जेल-नेल – हामी ट्वाल्ल ।
हामीले सिक्नु के ? यी अगुवाहरुबाट,
बाध्य छौं हेर्न, यो अनमेल – हामी ट्वाल्ल ।
आफ्नो गाँस काटी-काटी पाल्ने चाहिँ हामी,
निकाल्ने भए हाम्रो नै तेल – हामी ट्वाल्ल ।
सम्बन्धित
प्रतिक्रिया