समय चक्र

एकदिन हतार-हतार छोरालाई स्कुलको भ्यानमा पुर्याएर आएँ । र हामी दुई (श्रीमान्-श्रीमती) अफिसका लागि निस्कियौं । बाहिर बाटोमा छिमेकी आमा सार्वजनिक यातायात पर्खिरहनु भएकोरहेछ । नजर पर्ना साथ मेरो श्रीमान्ले भन्नु भयो ‘उहाँ त हाम्रो छिमेकी होइन ?’ र मैले जवाफ दिँदै भनें ‘हो’ । यहाँको समस्या भनेकै गाडी समयमा न आउने र आए पनि अफिस समयमा खुट्टा राख्ने ठाउँ नहुने । श्रीमानले, सोध न कहाँ जाँदै हुनुहुन्छ भन्दै उहाँकै अगाडि गाडी रोक्नु भयो । मैले आधा झ्याल खोलेर सोधें, ‘आमा कहाँ जाँदै हुनुहुन्छ ?’ जवाफ पछि थाहा भयो अनी मैले भने, हजुरको अफिस त हाम्रो बाटैमा पर्ने रहेछ, आउनुस हामीसँगै जाउँ। उनले अल्लि अफ्ठ्यारो मान्दै सहमति जनाउनुभयो । त्यसपछिको दिनहरुमा कहिलेकाँही आमासँग भेट हुँदासँगै जाने गर्थ्यौं ।
समय बित्दै जाँदा अर्को कुनै एकदिनको कुरा हो, त्योदिन बाबुको स्कुलको भ्यान आएन । २० मिनेट ढिला भैसकेको थियो । फोन गर्न मोबाइल हातमा लिएको मात्रै के थिएँ, स्कुलबाट कल आयो र कसैले भन्यो ‘म्याडम’ स्कुलको सधैंको गाडी बाटोमा बिग्रिएर अर्को गाडी पठाउँदै छौं, अझै आधा घन्टा लाग्छ होला । म अवाक् भएँ र शिथिल महसुस गरें किन कि हामीलाइ त्यो दिन अफिस चाँडै पुग्नु थियो, श्रीमानको मिटिङ भएर उहाँलाई हतार भएको कुरा अनुहारको भावबाटै प्रष्ट झल्किन्थ्यो ।
उहाँले भन्नूभयो, बरु बाबुलाई हामीले नै स्कुल छोडेर अफिस जाउँला हुन्न ? मेरो सहमतिमा हतार हतार भर्याङ्बाट तल झर्याैं ,स्कुलको भ्यान गेटमै आइसकेको रहेछ, मन हर्षित भयो । अनि हामी अफिसको लागी निस्कियौं ।
बाटो क्रस गरेर अलिकती अगाडी मात्रै के पुगेका थियौं, श्रीमानले भन्नुभयो हेर त, आमा आज पनि यहाँ गाडी कुर्दै हुनुहुन्छ त । मैले भनें हामी अलिकती अगाडि कटि सक्यौं, फेरि आज मिटिङ पनि छ, हतारमा छौं हामी । आजलाई भैगो जाउँ । श्रीमानले भन्नू भयो, उहाँको अफिस हाम्रो बाटोमै पर्छ, एक्छिन त हो, बोलाउ-बोलाउ ।
हामीले गाडी रोकेको देखेर आमा आफैं नजिक आउनुभयो । मुहारमा एक किसिमको खुशी प्रकट गर्दै भन्नुभयो धन्यवाद सर, म्याडमलाई । आधा घन्टाभन्दा बढी भयो गाडी कुरेको, दुईवटा गाडी त आयो तर खुट्टा राख्ने ठाउँ थिएन । अफिस जान ढिला भएर पेट पोलिरहेको थियो ।भैंसेपाटीको गाडिहरु यस्तै भिड हुन्छन् अझ अफिस समयमा श्रीमानको जवाफ थियो यो ।
आज बाबुको भ्यान नआएर हामीलाइ पनि ढिला भएको थियो, मैले पनि मिश्रित बोलिमा बोली मिसाएँ । बाटोमा गाडिहरु हुँइकिरहेका थिए, सबैलाई आ-आफ्नो गन्तब्यमा पुग्न हामीलाई जस्तै हतार थियो होला । ट्राफिक, धुलो, धुँवा बाटोले धानिनसक्नुको छ । गाडिको पाङ्रा नै फँस्ला जस्तो राजधानी भनिने महानगरको खाल्डाहरु । प्रत्येक खाल्डाबाट निस्केका गिट्टि बालुवाका कणहरु र खाल्डोको स्वरुपले बदनाम राजनैतिक झल्को दिन्थ्यो र मान्छेहरुले महानगर र सडक विभागलाई सराप्न बाध्य हुन्थे ।
जनताहरुले छाक काटेर तिरेको करको कुनै सदुपयोग नभएको देख्दा मन खिन्न पार्दै आफैंसँग भित्रभित्रै दोहोरो संवाद गरिरहेकि थिएँ । हतार हतारमा भएर होला हामी तिनैजना चुपचाप थियौं । गाडि अगाडि बढ्दै जाँदा, आमाको अफिस कटिसके छ । म झसंग हुँदै श्रीमानलाई सम्झाएँ र उहाँले थोरै अगाडी पुगेर ठाउँ मिलाएर रोक्नु भयो ।
आमालाई थोरै हिड्नु पर्ने भयो, केही छैन, यति थोरै म हिंडेरै गैहाल्छु नि । आमाले फेरि पनि धन्यवाद दिएर आफ्नो बाटो लाग्नुभयो । हामी दुई चुपचाप थियौं । बच्चाको गाडी ढिलो, बाटोको ट्राफिक र मिटिङको दबाब, श्रीमानको मौनताले बोलिरहेको थियो ।
एकदिन बिहानको कुरो हो, ७ बजे नै श्रीमानलाई अफिस पुग्नुपर्ने थियो । प्रपोजल सब्मिसनको अन्तिम दिन आज, केहि स्टाफहरुलाई पनि अफिसमा बोलाएका थियौं, म बाबुलाई स्कुल पठाएर अफिस जानूपर्ने थियो, प्राय जसरी नै बाबुलाई स्कुल भ्यानमा पठाएर म अफिस जानको लागि सार्वजनिक गाडि कुरिरहेकी थिएँ ।
आधा घन्टा भयो… तर गाडी नै आएन । बल्ल बल्ल एउटा गाडी आयो, तर खुट्टा राख्ने ठाउँ थिएन, रोक्दै रोकेन । आज गाडि सार्है पातलो छ, किन रैछ ? नजिकैको पसले दिदिले भन्नूभयो । हामी गाडी कुर्ने नै ७/८ जना जम्मा भैसकेका थियौं । ट्याक्सी आए पनि जान हुन्थ्यो जस्तो लागेको थियो ।
आउन त आयो तर खाली आएन । मन पोलिरह्यो, कत्ती खेर अफिस पुगेर छोरा स्कुलबाट फर्किने बेलामा घर फर्किउँला भन्ने कुरा मनमा खेलिरह्यो । बाटोमा गाडिहरु दौडिइरहेका थिए, म आत्तिइरहेकी थिएँ आफ्नै मनको गतिमा । अचानक् एउटा कार आयो र १०० मिटर पर पुगेर रोक्यो र हर्न बजायो ।
मलाइ नै बोलाएको भन्ने एकिन भएन र वास्तै लागेन । कार अलिकती रिभर्स आयो र म्याम, म्याम भनेर बोलाएको सुनें । गाडी कुरुवाहरु सबैको ध्यान त्यही कार माथी नै थियो ।
एकजना सुन्दर युवती, सायद मेरै उमेर जस्तो, उहाँले मैं तिर औल्याउँदै मलाइ नै बोलाएको इशारा गर्नुभयो । मलाई ? मैले भनें । हो, तपाईंलाई नै भन्नुभो र गाडिमा बस्न अग्रह गर्नुभयाे । मैले थोरै राहत, थोरै असजिलो महसुस गर्दै सोधें, हजुर कहाँ जाँदै हुनुहुन्छ ? म बानेश्वर । उहाँको जवाफ थियो । उहाँलाई मैले छिमेकमा देखिराखेको मान्छे हो, तर वास्तवमा नजिकबाट चिन्ने मौका पाएको थिइन ।
धन्यवाद म्याडम भन्दै, गाडी कुर्नुको पीडा र गाडी न आएको कुराको गुनासो बेलीबिस्तार लगाएँ । उहाँले हाँस्दै भन्नू भयो, मैले हजुर र सरको बारेमा धेरै कुरा सुनेंको छु । म अचम्म पर्दै भनें, के कुरा र को मार्फत सुन्नुभएको ? आमाले धेरै कुरा गर्नुहुन्छ हजुरहरुको बारेमा …..म अचम्मित भएँ र सोधें, को आमा ? मेरो प्रश्नमा शंकाको भाव मिसिएको थियो । हजुरहरुले अफिस छोड्ने गरेको ‘आमा’ उहाँ मेरो आमा हो, जवाफ आयो ।
मलाई यो संयोग देखेर खुशिको क्षणमा पनि आश्चर्य माथी झन् आश्चर्य लाग्यो । यसरी नै धेरै कुरा गर्दै हामीले बाटो काटिरह्यौं । बेला बेलामा उहाँको अफिसबाट कल आइरहन्थ्यो…. यस्तै त हो म्याडम अफिसको काम तनाब दिन्छन्, भन्दै हुनुहुन्थ्यो…… तर पनि अनुहारमा मुस्कानको भाव देखिन्थ्यो उहाँमा ।
एक्कैछिन भए पनि आत्मियता बढ्दै गयो र छिमेकी हुनुको अर्थबोध हुँदै गयो । मलाइ यहीँ रोकिदिनुस् , म आईपुगें, भनें । अनि धेरै धेरै धन्यवाद दिंदै म गाडिबाट ओर्लिएँ । बाइ… भनेर आफ्नो बाटो समातें ।
हिंड्दै गर्दा सबै कुराहरु र पलहरु आँखा अगाडि चलचित्रको दृश्य जस्तै घुम्न थाले । अनि सोचें, समय तँ कति शक्तिशाली छस्, आज म कहाँ,कसरी, कुन मोडमा आएर, कोसँग ठोक्किन पुगें ? सायद यस्तै सोच्दै नसोचेको संयोग हुने भएर नै होला पृथ्वीलाई गोलाकार छ भनिएको ।
प्रतिक्रिया