सोमबार, वैशाख २२, २०८२

ललितत्रिपुरासुन्दरीले बनाएको वाग्मतीको पुल

सुनील उलक २०७८ असोज २ गते २०:३०

बाँस वा काठका फड्के बनाएर दुर्गम गाउँहरुका खोला तर्ने गरिन्थ्यो । स्थानीय कामीहरु भएको ठाउँ तथा नजिकै खानी भएमा फलामे साङ्लाका झोलुंगे पुलहरु बनाइन्थ्यो । चुना सुर्कीको जोडाइबाट पक्की पुलहरु भने काठमाडौं उपत्यका तथा उपत्यकासँग तराई जोड्ने बाटोमा पर्ने स्थानहरुमा बनाइएको थियो । अन्यत्र खासै बलिया पुल बनाइएको भेटिँदैनथ्यो । नेपालमा पक्की पुलको इतिहास भने भीमसेन थापाको पालामा बनेको थापाथलीको वाग्मती नदीमाथि बनाइएको काठे पुललाई लिने गरिन्छ । वि.सं. १८६८ मा बनाइएको थापाथली कुपण्डोलबीचको वाग्मती नदीको पुल नै नेपालको पहिलो पक्की पुल हो । इँटामा चुना सुर्कीको जोडाइबाट खोलाको बीच-बीचमा काठे पिलर उठाएर बनाइएको पुललाई चन्द्रशमशेरले ११६ वर्षपछि विस्थापित गराइ काठको ठाउँमा स्टिलका बिमहरु राखेर पुल बनाएका थिए ।

बहुलट्ठी स्वभावका राजा रणबहादुर शाहले जेठी रानीबाट रोलक्रमअनुसार राजा बन्न योग्य छोरा जन्म भइसक्दा पनि जनकपुर नजिकैका मैथिली ब्राह्‌मण परिवारकी विधवा महिला कान्तावति देवी पशुपतिनाथ दर्शन गर्न आउँदा देखेपछि उनको प्रेममा पागल भएर विवाह प्रस्ताव राखेका थिए । कान्तावतिले आफ्नो कोखबाट जन्मने छोरालाई राजा बनाउने भए मात्र विवाह गर्न राजी हुने भनिए पछि सर्त मञ्जुर गरी विवाह गरेका थिए । यस्तै भीमसेन थापाको भतिजी तथा माथवरसिंह थापाको दिदी ललित त्रिपुरासुन्दरीसँग पनि रणबहादुर शाहले विवाह गरेका थिए ।

रानी ललितत्रिपुरासुन्दरी राजकाज तथा विकास निर्माणमा समेत विशेष रुचि भएको हुँदा उनले विकास निर्माण तथा मन्दिर घाटहरुको निर्माण पनि गरेकी थिइन् । उनले त्रिपुरेश्वर महादेव मन्दिर बनाएकी थिइन् । जुन मन्दिरको नामबाटै आजको त्रिपुरेश्वरको नामकरण भएको हो ।

वाग्मतीमा पुल नहुँदा काठमाडौ तथा पाटनका जनताहरुका लागि आवतजावत गर्न निकै कठिन भएको देखेर रानी ललितत्रिपुरासुन्दरीले वाग्मतीमा पुल हाल्ने बारेमा सल्लाह गरेकी थिइन् । त्यसबेला मुख्तियार रहेका जनरल भीमसेन थापाले सो पुल राख्ने रानीको मनसाय धेरै नै उपयुक्त रहेको भन्दै तुरुन्तै कामको थालनी गर्न लगाएका थिए । सो पुल निर्माणको शिलान्यास रानी स्वयंले वि.सं. १८६७ मार्ग शुक्ल एकादशी अर्थात मंसिर २३ गते बिहीबारका दिन गरेकी थिइनु । पुलको लम्बाइ १३५३ हात अर्थात् ६१८.५ मिटर हुँदा पनि निर्माण कार्यमा समय लागेको थियो । पुल निर्माण थालनीको १५ महिनापछि वि.सं. १८६८ चैत कृष्ण सप्तमी अर्थात् फागुन २४ गते बिहीबारका दिन सम्पन्न भई उद्घाटन गरिएको थियो ।

May be an image of outdoors, temple and text that says 'वि.सं. १९३७ साल Collection Ulak Collection Sunil ColleetionfSu Collection of Sunil Ulak'

पति राजा रणबहादुर शाहको देहावसान भइसकेको हुँदा पतिको उद्धारका लागि पुलको वारिपारि धर्मशाला गुठी खेत बनाइन् भने काठमाडौंतिरको पश्चिम भागमा ढुंगा छापेर घाट पनि बनाइदिइन् । साथै पुलको वारिपारि मानव बस्तीको विकास पनि गराएकी थिइन् ।

यो पुल बनाएको ११६ वर्षपछि श्री ३ चन्द्रशमशेरले भने पक्की फलामे झोलुंगे पुल बनाएका थिए । जसलाई रातो पुल नामले चिनिन्थ्यो । समयको परिवर्तनसँगै गाडी गुडाउन मिल्ने चौडा पक्की पुल बनेपछि रातो पुलको इतिहास पनि मेटियो ।

यसरी रानीले बनाएको घाटमा पछि जंगबहादुरको पालामा अझ बढी विकास गराएका थिए । उनको समयमा घाटमा भकारीहरु बनाएका थिए । घाटमा मलामीहरु बस्न बनाइने चौतारोलाई भकारी भन्ने गरिन्छ । १ नं भकारी भनेर चिनिने थापाथली नजिकैको पहिलो भकारीदेखि टेकु दोभानसम्म ६६ वटा भकारी बनाइएका थिए । भकारी बनाउँदा ढुंगाहरु कुँदेर बनाइएका हुन्थे । घाटे भकारी भनेर चिनिने यि भकारीहरु बस्ती अतिक्रमण तथा पार्क निर्माणका नाममा अतिक्रमण भएर हराउँदै गए । महत्त्वपूर्ण ऐतिहासिक घाटे भकारीका कुँदिएका ढुंगाहरु पनि हराउँदै गए । अहिले त बिस्तारै पवित्र वाग्मतीलाई पनि नहरमा परिणत गरिँदै छ । भविष्यमा ती नहरलाई पनि माथिबाट छोपिएर पवित्र वाग्मती खोज्न हिँड्नु पर्ने दिन पनि आउन सक्छ ।

प्रतिक्रिया