उपत्यकाका सिनेमा हल असोज २१ गतेबाट खुल्ने, शोभित बस्नेतको फिल्म असोज २६ मा

काठमाडौं । काठमाडौं उपत्यकाका सिनेमा हल असोज २१ गतेबाट सञ्चालनमा आउने भएका छन् । उपत्यकाका निर्माता, वितरण तथा प्रदर्शकहरूको संयुक्त बैठकले गठन गरेको चलचित्र प्रदर्शन व्यावसायिक समितिको आइतबार (हिजो) बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
असोज २६ गते शोभित बस्नेतको ‘डाँडाको बरपीपल’ रिलिज हुने भएको छ । अन्य नेपाली चलचित्रको भने मिति सार्वजनिक गरिएको छैन ।
उक्त बैठकले सार्वजनिक गरेको निर्णयअनुसार अब एउटा नेपाली चलचित्र प्रदर्शनमा आएको कम्तीमा २ साता अर्को नेपाली चलचित्र प्रदर्शन गर्न नपाइने भएको छ ।
समितिको बैठकले पहिलो हप्ता रिलिज हुने नेपाली सिनेमाका निर्मातालाई ५५ प्रतिशत र प्रदर्शकलाई ४५ प्रतिशत सेयर दिने निर्णय गरेको छ । दोस्रो हप्ताबाट ५० प्रतिशत सेयर निर्माताले पाउने वितरक करण श्रेष्ठले जानकारी दिए ।
यस्तै नेपाली चलचित्रको प्रदर्शन मिति तोकिएको समयमा विदेशी चलचित्र रिलिज गर्न नपाइने निर्णय गरेको छ ।
समितिले सार्वजनिक गरेका सबै निर्णय पुस २१ गतेसम्मका लागू हुने जनाएको छ ।पुस २१ गतेभित्र रिलिज हुने सबै सिनेमाले असोज २० गतेसम्म चलचित्र प्रदर्शन मिति सार्वजनिक गर्न भनेको छ ।
प्रतिक्रिया