इन्टरनेटको स्वतन्त्रता कहाँ-कति ?
म्यानमारले १७, क्युबाले २१, भियतनामले २२, साउदी अरबले २४, मिश्रले २५, संयुक्त अरब इमिरेटसले २६ तथा इथियोपियाले २७ अंक पाएको छ ।

वासिंटन । यो वर्ष अमेरिका, चीन र पाकिस्तानमा इन्टरनेटको स्वतन्त्रताको स्थिति थप कमजोर भएको छ ।
वासिंटनस्थित फ्रिडम हाउसले हालै ‘फ्रिडम अन द नेट २०२१ : द ग्लोबल ड्राइभ टू कन्ट्रोल बिग टेक’ शीर्षकमा एक रिपोर्ट जारी गरेको छ । रिपोर्टअनुसार पूरै संसारमा इन्टरनेटको स्वतन्त्रतामा लगातार ११ वर्षदेखि गिरावट आइरहेको छ । यो रिपोर्टमा समावेश एउटा सूचीमा इन्टरनेटमा नियन्त्रण र हस्तक्षेप गर्ने देशहरुमध्ये सबैभन्दा माथि चीन छ । ‘द ग्लोबल ड्राइभ टू कन्ट्रोल बिग टेक’ रिपोर्टमा इन्टरनेटको प्रयोगलाई लिएर कतिपय देशले बनाएका नियमहरुलाई लिएर चिन्तासमेत व्यक्त गरिएको छ । अमेरिकी संस्थाबाट जारी रिपोर्टमा भनिएको छ, ‘यस्ता कतिपय नियम साइबर स्वतन्त्रताका दृष्टिले घातक छन् ।’
स्थिति अझ खराब हुँदै
रिपोर्टअनुसार म्यानमार, बेलारूस र युगान्डामा सबैभन्दा खराब स्थिति देखापर्यो । अमेरिकाको स्थितिका सम्बन्धमा रिपोर्टमा भनिएको छ, ‘नोभेम्बर २०२० को चुनावमा झुटो र कन्सिपिरेन्सीयुक्त सामग्रीको प्रचारमा इन्टरनेटको व्यापक प्रयोग गरेर अमेरिकी राजनीतिक व्यवस्थाकै जरो हल्लाउनेसम्मको काम भयो ।’
यो सूचीमा चीनले १९ अंक पाएको छ भने इरानले १६ अंक प्राप्त गरेको छ । यसैगरी म्यानमारले १७, क्युबाले २१, भियतनामले २२, साउदी अरबले २४, मिश्रले २५, संयुक्त अरब इमिरेटसले २६ तथा इथियोपियाले २७ अंक पाएको छ ।
यो सूचीमा ० देखि ३९ अंकसम्म ल्याउने देशलाई इन्टरनेट स्वतन्त्रता नभएको देश मानिएको छ । यसैगरी ४० देखि ६९ अंक प्राप्त गर्ने देशलाई आंशिक स्वतन्त्रता भएको देश बताइएको छ । यो सूचीमा ७० भन्दा बढी अंक ल्याउने देश भने इन्टरनेटमा स्वतन्त्रता भएको मुलुक मानिएका छन् ।
यी दश देशमा छ इन्टरनेट स्वतन्त्रता
- आइसल्यान्ड
- एस्टोनिया
- क्यानाडा
- कोस्टारिका
- ताइवान
- जर्मनी
- फ्रान्स
- यूके
- जर्जिया
- जापान
यी दश देशमा इन्टरनेट स्वतन्त्रताको स्थिति खराब छ
- चीन
- इरान
- म्यानमार
- क्युबा
- भियतनाम
- साउदी अरब
- पाकिस्तान
- मिश्र
- संयुक्त अरब इमिरेटस्
- इथियोपिया
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा
प्रतिक्रिया