बिहीबार, वैशाख ११, २०८२

हाम्रा मुद्दालाई राज्यले सम्बोधन गर्नुपर्छ : केवल व्यवसायी

नेपालखोज २०७८ असोज १३ गते १४:३०

काठमाडौं । केवल टेलिभिजन व्यवसायीहरुले आफ्ना मुद्दालाई राज्यले सम्बोधन गर्नुपर्ने बताएका छन् ।

बुधबार (आज) सरकारको नीतिका कारण व्यवसायीहरुको व्यवसायमा परेको नकारात्मक प्रभावका विषयमा आयोजित केवल टेलिभिजन व्यवसायीहरुको राष्ट्रिय भेलामा व्यवसायीहरुले सरकारले आफ्ना मुद्दाहरुलाई सम्बोधन गर्नुपर्ने बताएका हुन् ।

व्यवसायीहरुले व्यवसायी मैंत्री र उपभोक्ता मैंत्री नीति ल्याउन जरुरी रहेको तर सरकारले सरोकारवाला निकायहरुसँग छलफल नै नगरी विरोध आउने किसिमका नीति ल्याएको बताए ।

उनीहरुले पोलसम्बन्धी भाडा बढाइएको कुराले अफ्ठ्यारोमाथि अफ्ठ्यारो थपेको बताए । राज्यले ल्याएको नीतिअनुसार व्यवसायीहरुलाई काम नगर् भनेर घाँटी थिच्ने काम मात्र सरकारले गरेको औँल्याएका छन् ।

विद्युत प्राधिकरणको पोल प्रयोग नगरी घर–घरमा टेलिभिजन नपुग्ने भएकोले प्राधिकरणले पोलको भाडा बढाएर जनताको सूचनाको हक खोस्न लागेको भन्दै प्राधिकरणले तोकेको पोल भाडाको मूल्य व्यवसायीहरुले तिर्न नसक्ने र तार काटिएमा घर घरमा टेलिभिजन प्रशारण नहुने बताए ।

कार्यक्रममा अन्य व्यवसायीहरुले कुलमान घिसिङ एउटा सफल र कुशल प्रशासक भए पनि उनमा दम्भ बढेको बताएका छन् ।

व्यवसायीले कुलमान घिसिङले आफ्नो दम्भका कारण केवल व्यवसायीहरुलाई मारमा पर्ने गरेर नीति ल्याएको बताए ।
सरकारको नीतिबाट अधिकांश क्षेत्र नै पीडित रहेको भन्दै व्यवसायीहरुले सबैको हीत हुनेगरी नीति निर्माण गर्न सुझाएका छन् ।

विद्युत प्राधिकरणले पोलको भाडा ३५० प्रतिशत वृद्धि गरेपछि सरकारले सूचनाको हक खोस्न लागेको भन्दै केवल टेलिभिजन व्यवसायीहरुले काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरेर आन्दोलन गरिरहेका छन् ।

केवल टेलिभिजन व्यवसायी महासंघको आयोजनामा देशभरबाट ४ सय भन्दा बढी व्यवसायीहरु उपस्थित भएका छन् ।
उनीहरुले सरकारको नीति र निर्णयका कारण आफ्नो व्यवसाय नै धराप हुन लागेको भन्दै आफूहरु बाध्य भएर राष्ट्रिय भेलामा सहभागी बनेको बताएका छन् ।

प्रतिक्रिया