एफएनसीसीआईले भन्यो- पुँजीबजारप्रति जनताको विश्वास बढ्यो
डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ४५ लाख !

काठमाडौं । कोरोना रोकथामका लागि लगाइएको बन्दाबन्दीका कारण अर्थतन्त्रमा नकारात्मक असर परे पनि पुँजी बजारमा सर्वाधिक राजस्व प्रदान गर्न सफल भएको छ ।
आम लगानीकर्ताको पुँजी बजारप्रतिको विस्वास बढेको नेपाल उद्योग वाणिज्य महासंघले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
बजारमा प्रविधिको प्रयोग र बैंक वित्तिय संस्थामा अधिक तरलता रहँदा धेरै लगानीकर्ताले अवसर पाएको जनाएको छ । अहिले डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या नै करिब ४५ लाख नाघेको छ ।
महासंघले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘मूल्य जस्तो संवेदनशील विषयमा अन्य निकायहरुको हस्तक्षेप हुनु, बैँक तथा वित्तिय र बीमा कम्पनीहरुको लगानी सीमालाई संकुचन गरिनु, शेयर धितो कर्जामा लगाईएको एकल ग्राहक कर्जा सीमा तोक्नु, सूचिकृत कम्पनीले आफ्नो आवश्कता अनुसार हकप्रद तथा अन्य विधिबाट पुँजी संकलन गर्न रोक लगाउनु, विद्युत नियमन आयोगबाट संस्थागत लगानीकर्ताले खरीद बिक्री गर्दा १५ दिन अगाडि नै स्वघोषणा गर्नु पर्ने व्यवस्था जस्ता विभिन्न नीतिगत परिवर्तनको कारण शेयरबजारमा असर परेको देखिन्छ ।’
पूँजी बजार सम्बन्धी नीति नियम बनाउंदा सरोकारवालाहरुसँग पनि छलफल र विमर्श गर्न महासंघले सम्बन्धित सबैमा आग्रह गरेको छ ।
साथै पुँजी बजारमा जोखिम पनि रहने हुँदा लगानीकर्ताहरुलाई आफुले कारोबार गर्न खोजेको कम्पनीबारेको वित्तीय लगायतका आवश्यक जानकारी हासिल गरी विवेकपूर्ण लगानी गर्न हुन पनि महासंघले आग्रह गरेको छ । यसैगरी संस्थागत लगानीकर्ताहरुको संख्या विस्तार पनि आवश्यक रहेको बताएको छ ।
बजार व्यवस्थित बनाउन आवश्यक अन्य नीतिगत व्यवस्था, पर्याप्त सूचना प्रवाह हुने संयन्त्रको निर्माण, प्रविधिको उच्चतम प्रयोग र नयां लगानीका साधन एवं उपकरण बढाउन पनि माग गरेको छ ।
पुँजी बजारको बिकास एवं प्रवद्र्धनमा नियामक निकाय लगायत अन्य सरोकारवालाको सकारात्मक भूमिका आवश्यक हुने हुँदा त्यसतर्फ सबैले योगदान गर्न पनि महासंघले ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया