रामकुमारी झाँक्री : एक प्रसंग !

पार्टीमा आफ्नो भूमिका खोज्दै कुनै दिन भक्तपुरको बार्दली भवनमा पुगेकी थिइन् रामकुमारी झाँक्री । याचना गर्दै भनेकी थिइन्, मलाई पनि पार्टीमा कुनै काम दिनुपर्यो, कामरेड अध्यक्षज्यू ।
काम ? एउटी फुच्चीलाई के काम दिने ? अध्यक्ष केपी ओलीले निमेषभर पनि केही सोचेनन् । आफ्नो स्वाभावअनुरुप उनले दायाँ हातको चोर औंलाले नजिकै बसेर मुस्कुराइरहेकी आफ्नी पत्नीलाई देखाउँदै ठाडै भने, उनलाई हेर, उनी पनि विद्यार्थीकालमा तिमीझैँ एक्टिभ थिइन्, बिहे गरिन् । अहिले हेर, अहिले उनी एक कुशल गृहणी भएर आरामसँग बसिरहेकी छिन् । तिमी पनि यस्तै बन्ने हो अब ।
त्यही बेलादेखि हो झाँक्री ओलीसँग रिसाएकी । उनी अनेरास्ववियुको अध्यक्षको पदावधि समाप्त भएपछि केही समय ओझेलमा बसेकी थिइन् । युवावस्थामा पाइला टेकिसकेकी थिइन् । त्यही बेला कसैसँग उनको माया पिरती झाँगियो । प्रेमबिबाह भयो । पुत्रलाभ गरिन् र एक दिन उनी झसंग भइन्, मेरो कार्यस्थल त राजनीति पो हो त । आखिर नेकपा एमालेको महत्त्वपूर्ण भातृ संस्था अनेरास्ववियुको इतिहासकै पहिलो महिला अध्यक्ष थिइन् उनी ।
यसबीच उनलाई आफ्नो पार्टीमा तान्न अन्य दलका केही नेताहरुले प्रयास नगरेका पनि होइनन् तर उनले कसैको कुरा सुनिनन् । अरु त अरु, आफ्ना प्रिय गोरेबहादुर दाइको कुरा पनि मानिनन् । माधव नेपालसँग उनको ठ्याक मिल्दैथ्यो । बाध्य भएर उनी पार्टीमा भूमिकाको खोजी गर्दै त्यस दिन बार्दली भवन पुगेकी थिइन् ।
राजनीति यसरी विकसित भइदियो कि कालान्तरमा झाँक्री पार्टी विभाजन गर्न माधव नेपाललाई लतार्दै बहादुर भवनमा पुर्याउने भइन् । आज उनी देशको कार्यपालिकाको महत्त्वपूर्ण भागिदार भएकी छिन् ।
(वरिष्ठ पत्रकार थापाको फेसबुक वालबाट)
प्रतिक्रिया