आइतबार, वैशाख ७, २०८२

‘पिङ खेल्ने, नाचगान गर्ने हो, बाहिर गइँदैन’

नेपालखोज २०७८ असोज २६ गते १३:१२

काठमाडौं । गायक तथा मोडल दुर्गेश थापाले यस वर्षको दसैँ गाउँमै परिवारसँग मनाउँदै छन् । कोरोनाको जोखिम कायमै रहेका र भिडले जोखिम थप बढ्न सक्ने भन्दै उनले यस वर्ष दसैँका कुनै पनि कार्यक्रममा सहभागिता जनाएनन् । घरका नयाँ सदस्य अर्थात् आफ्नो छोराको पहिलो दसैँ गाउँमै परिवारका साथ मनाउने उनको इच्छा थियो । दुर्गेशले गत माग ११ गते आफू पिता बनेको भन्दै छोरासहितको तस्बिर सामाजिक सन्जालमा सार्वजनिक गरेपछि उनको बिहे भएको कुराबारे आम दर्शकले थाहा पाएका हुन् । त्यसअघि उनले आफ्नो वैवाहिक सम्बन्धबारे कसैसँग पनि भनेका थिएनन् । तिनै छोरासँग दुर्गेशले यस वर्ष दसैँ परिवारका साथ गाउँमा मनाउँदै छन् ।

गायक तथा मोडल थापालाई पनि गाउँघरकै साथीभाइ भेला भएर दसैँमा नाचगान गर्दै पिङ खेलेर मनाउन मन पर्छ । तर यस वर्ष कोरोनाको जोखिम रहेकाले परिवारमै सिमित भएर मनाउने आफ्नो योजना रहेको उनले सुनाए । उनले भने, ‘दसैँमा खासगरी गाउँघरका साथीहरूसँग भेला भई आपसमा खुसी साटासाट गरी मनाउन मन पर्छ । साथीभाइ भेला हुने पिङ खेल्ने, नाचगान गर्ने यही नै मन पर्छ, तर यतिबेला त कोरोनाका जोखिम छ । बाहिर गइँदैन होला । आफू पनि कही नजाने अरूलाई पनि आउन नदिने । परिवारमै सीमित भएरै मनाउने हो ।’

गत वर्ष कोरोना संक्रमणका कारण राम्रोसँग कुनै पनि चाडपर्व मनाउन पाइएन । यस वर्ष जोखिम कायमै रहेकाले सबै चाड फिक्काजस्तै बित्ने भएका छन् । सकेसम्म यस वर्ष पनि गत वर्षको जस्तै भिड नगरी परिवारमा सीमित भएर दसैँ मनाउँदा उपयुक्त हुने उनको भनाइ छ । चाडपर्वहरू आफू सुरक्षित भइयो भने आगामी वर्षहरू पनि मनाउन सकिने भन्दै उनले यस वर्ष पनि सामान्य रूपले मनाउन सबैमा आग्रह गरेका छन् ।

उनले भने, ‘कोरोना संक्रमणको ख्यालै नगरी भिड गर्दै बूढा हजुरआमा–हजुरबुबाहरूको हातबाट टीका, आशीर्वाद थाप्न गएको समयमा त्यसमा कसैलाई कोभिड भएको रहेछ भने ती हजुरबुबा–हजुरआमालाई गाह्रो हुन्छ । त्यसले पछि परिवारमा, समाजमा हुँदै सबैलाई समस्या हुन्छ । त्यसैले यतिबेला हामीले सजग भएर परिवारमै सीमित भएर चाडपर्व मनाउनुपर्छ ।’

प्रतिक्रिया