बिहीबार, वैशाख ११, २०८२

रिलायन्सले बिमितलाई प्रत्येक वर्ष ५ प्रतिशत रकम दिने

नेपालखोज २०७८ कार्तिक १ गते १३:४७


काठमाडौं । रिलायन्स लाइफइन्स्योरेन्स लिमिटेडले “रिलायन्स वार्षिकधन वर्षा जीवन बिमा योजना” सार्वजनिक गरेको छ । सो बिमा योजना अन्तर्गत बिमितलाई प्रत्येक वर्ष बिमालेखको वार्षिकोत्सव मितिमा बिमाङ्कको ५ प्रतिशत रकम भुक्तान गरिने छ ।

उक्त व्यवस्थाले बिमितको नियमित नगद प्रवाहको आवश्यकता पूरा गर्नुका साथै पूर्ण बिमाङ्क रकम बराबरको रक्षावरण समेत प्रदान गर्दछ । यो योजना बिमितले १५ वा २० वर्षको अवधिका लागि लिन सक्नेछन् ।

१५ वर्षको बिमा अवधिको समाप्तिमा बिमितलाई अग्रिम वार्षिकरुपमा भुक्तानी गरिएको रकम घटाई बाँकी रहेको बिमाङ्क रकम र आर्जित बोनस प्रदान गरिनेछ भने २० वर्षको बिमा अवधिको समाप्तिमा अग्रिम वार्षिकरुपमा भुक्तानी गरिएको रकम घटाई बाँकी बिमाङ्क रकम, आर्जित बोनस र बिमाङ्क रकमको १० प्रतिशत थप रकम (एक पटकको लागि मात्र) प्रदान गरिने छ ।

यस योजनामा कथंकदाचित बिमा अवधिमा बीमीतको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई बीमाङ्क रकम र आर्जित बोनस प्रदान गरिने छ । यो योजना १८ देखि ५५ वर्ष उमेरका ग्राहकले लिन सक्नेछन् ।

यो योजना अन्तर्गत न्यूनतम बीमाङ्क रकम १ लाख कायम गरिएको छ । यो योजनासँगै बिमितले थप न्यूनतम बीमा शुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बिमा शुल्क मिनाहा जस्ता अतिरिक्त सुविधाहरु पनि लिन सक्नेछन् ।

प्रतिक्रिया