४ वाणिज्य बैंक प्रमुख कार्यकारी अधिकृतविहीन

काठमाडौं । संचालनमा रहेका २७ वटा वाणिज्य बैंकहरु मध्येमा ४ वटा बैंकहरुले नेपाल राष्ट्र बैंकले दिएको नीतिगत सहुलियतको फाइदा उठाउँदै प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तीमा ढिलाई गरेका छन् ।
राष्ट्र बैंकले दिएको नीतिगत सहुलियत अनुसार प्रमुुख कार्यकारी अधिकृत विहिन भएको मितिले ३ महिनासम्ममा नयाँ प्रमुुख कार्यकारी अधिकृत नियुक्त गरिसक्नु पर्छ ।
यसबिचमा भने बढीमा ३ महिनासम्म निमित्त प्रमुख कार्यकारी अधिकृत कै भरमा बैंकहरुले आफ्नो नियमित कार्य सञ्चालन गर्न सक्नेछन् ।
राष्ट्र बैंकले दिएको नीतिगत सहुलियतको फाइदा उठाउँदै कुमारी बैंक, सेञ्चुरी कर्मसियल बैंक, सिद्धार्थ बैंक र बैंक अफ काठमाडाैं (बिओके) को सञ्चालक समितीले सिईओ बिहिन भएको लामो समय बितिसक्दा पनि हालसम्म कुनै पनि व्यक्तिलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छैन ।
यसअवधिमा यि बैंकहरुले निमित्त प्रमुख कार्यकारी अधिकृत कै भरमा आफ्नो नियमित बैंकिङ कारोबार संचालन गर्दे आएका छन् । प्रमुख कार्यकारी अधिकृत बिहिन भएका यि ४ वटा बैंकहरु मध्येमा बैंक अफ काठमाडौं (बिओके) मा श्रवण लाल मास्के निमित्त प्रमुख कार्यकारी अधिकृत रहेका छन् ।
गत साउन १९ गते बिओकेका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले बैंक छाडेपछि बिओकेको सञ्चालक समितीले मास्केलाई निमित्त प्रमुख कार्यकारीको जिम्मेवारी दिएको थियो । त्यसयता हालसम्म पनि बिओकेले प्रमुख कार्यकारी नियुक्त गर्न सकेको छैन । निमित्त कै भरमा बैंक चलाउँदै आएको छ ।
यसैगरी सिद्धार्थ बैंकले पनि निमित्त प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलको भरमा बैंक चलाउँदै आएको छ । गत साउन १८ गते उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भु प्रसाद गौतमको कार्यकाल सकिएपछि सिद्धार्थको संचालक समीतिले कँडेललाई निमित्तको जिम्मेवारी दिएको थियो ।
हालसम्म पनि सिद्धार्थले नयाँ प्रमुख कार्यकारी नियुक्त नगरी निमित्त कै भरमा बैंक चलाउँदै आएको छ । कुमारी बैंकले पनि राष्ट्र बैंकको नीतिगत सहुुलियतको फाइदा उठाउँदै निमित्त कै भरमा बैंक चलाउँदै आएको छ ।
कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले असार ३१ गते बैंक छाडेपछि उक्त बैंकको सञ्चालक समितीले अनुजमणी तिमिल्सिनलाई निमित्त प्रमुख कार्यकारीको जिम्मेवारी सुम्पिएको थियो । तर ३ महिना बितिसक्दा पनि कुमारीले नयाँँ प्रमुख कार्यकारी नियुक्त गर्न सकेको छैन ।
यसैगरी सेञ्चुरी कर्मसियल बैंकले पनि निमित्त प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने कै भरमा बैंक चलाउँदै आएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौत्तमले गत असार २७ गते बैंक छाडेदेखि सेञ्चुरी बैंक निमित्त कै भरमा चल्दै आएको हो ।
राष्ट्र बैंकको नीतिगत सहुलियत अनुसार प्रमुख कार्यकारी बिहिन भएको बढीमा ३ महिनासम्ममा नयाँ प्रमुख कार्यकारी नियुक्त गर्नुपर्ने भएपनि यि बैंकहरुले यो समय व्यतित हुनै लागिसक्दा पनि प्रमुख कार्यकारी नियुत्त गर्न सकेका छैनन् ।

प्रतिक्रिया