पीडा

“हेर त दिब्या! तिम्रो लागि मैले के ल्याइदिएको छु? प्लिज एकपटक हेर न।” बेलुका अफिसबाट फर्कदा ल्याइदिएको उपहार दिदै उसले श्रीमतीलाई भन्यो।
“जे ल्याइदिएको भएपनि दराजमा राख्दिनु। म भोलि बिहान हेर्छु।” फर्केर नहेरी सुतेकैसुत्यै दिब्या बोली।
श्रीमतीलाई खुसी बनाउला भनेर कति उत्साहका साथ भनेको थियोे उसले। उसको पुरुष मन ठसक्क भाँचियो। तैपनि मन सम्हालेर सोध्यो।
“तिम्रो जीउ सञ्चो छैन, सानु? औषधि दिऊँ।”
“भो भो चेपारे पार्नुपर्दैन। मलाई थकाइ लागेको छ। हल्ला नगरी छपक्क सुत्नुस्।” जवाफले तिरझैँ घोच्यो।
यस्तै विभिन्न बहानामा दिब्याले उसलाई नियमित रुपमा बेवास्ता गर्न थाली। फकाउँदा वैवाहिक बलात्कारको आरोप लगाई उजुरी दिने जब दिब्याले धम्की दिई। ऊ छाँगोबाट खसे जस्तो भयो।
श्रीमतीको उक्त व्यवहारले उसलाई पीडा दियो। उसले आफ्नो पीडा बाड्ने ब्यक्ति र ठाउँ पाएन। ऊ दिब्या देखि टाढिदै जान थाल्यो। रक्सीको सहारा लिन थाल्यो। घरबाहिर नै रात कटाउन थाल्यो। एक विहान पत्रिकामा सनसनीपूर्ण समाचार आयो।
“प्रहरीद्वारा एक सरकारी कर्मचारी र युवती होटलबाट आपत्तिजनक अवस्थामा पक्राउ।”
प्रतिक्रिया