बिहीबार, वैशाख ११, २०८२

पल र समीक्षाको सम्बन्ध के ? पलले दिए स्पष्टीकरण

नेपालखोज २०७८ कार्तिक ८ गते ९:३४

काठमाडौं । गायिका समिक्षा अधिकारी र अभिनेता पल शाह सम्बन्धकाबारेमा अहिले निकै टिकाटिप्पणी हुन थालेको छ । समिक्षा र पलको प्रेम सम्बन्ध छ भनेर उनीहरूको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा धेरै कुराहरु आइरहेका छन् । तर यता पलले भने त्यस्तो कुनै सम्बन्ध नभएको स्पष्टीकरण दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् समिक्षासँग नाम जोडेर बनाइएका गसिपले आफूलाई मात्रै नभएर आफ्ना दर्शकलाई पनि दुःखी बनाएको बताएका छन् ।

‘विगत केही दिनदेखि मेरो र गायिका समिक्षा अधिकारीको विषयमा आइरहेका समाचारबाट म लगायत मेरो परिवार अनि मलाई माया गर्नुहुने सिंगो दर्शकलाई नै दुःखी बनेको महसुस हामीले गरेका छौं । जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही व्यक्ति समूह कहीँ न कहीँ कुनै न कुनै प्रकारले नजिक हुने गर्छ । यो हामी सबैलाई थाहा भएकै कुरा हो । मेरो पेशा र विधाका कारण म धेरै मान्छेहरूसँग सहकार्य गर्नुपर्ने हुन्छ र मसँग जोडिनु हुने मेरा अग्रज, अनुज र सहकर्मीहरूमाझ मैले सदैव आफूलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छु ।’

उनले लेखेका छन्, ‘अरू कलाकारहरूसँग जस्तै र अरूले जस्तै सांगीतिक सहकार्य गायिका समिक्षा अधिकारीसँग पनि भएको कुरा यहाँहरूलाई विदितै छ । हुँदै नभएका, गर्दै नगरिएका, बिना आधारका कुराहरूलाई गसिप बनाएर एउटा कलाकार र उसको व्यक्त्तिगत जीवनमाथि आँच आउने किसिमले लेखिएका झुटा समाचारहरूले मलाई अत्यन्तै दुःखी बनाएको छ। यसरी कसैको व्यक्तिगत प्रतिष्ठा र चरित्र हत्या हुनेगरी बदनाम गर्नेगरी समाचार नबनाई दिनुहुन सम्पूर्ण मिडियाकर्मीज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु ।’

गायिका समिक्षा अधिकारी र आफ्नाे बीचमा भएको मित्रता र सहकार्यलाई अन्य तथानाम शीर्षक दिएर सिंगो पत्रकारितालाई पनि बदनाम गर्ने र हाम्रो चरित्र हत्या हुने कार्य नगरिदिन पनि उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया