सोमबार, वैशाख ८, २०८२

फाइदा

वसन्त अनुभव २०७८ कार्तिक १३ गते ९:०८

मन्त्री पदको सपथ ग्रहण गरेसँगै ऊ सरासर आफ्नो मन्त्रालय गयो। त्यहाँ उसको भव्य स्वागत गरियो ।
“कर्मचारी मित्रहरू ! म एक मन्त्री हुनुभन्दा पहिले म जनताको नोकर हुँ। म आफ्नो कार्यकाल मन वचन र कर्मले जनताको सेवामा समर्पित गर्न चाहन्छु।

राष्ट्र र जनहित विपरीतका कुनैपनि क्रियाकलाप क्षम्य हुनेछैन् । अत आफ्नो काम कर्तव्य इमानदारीपूर्वक गर्नुहुनेछ भन्ने आशा गर्दछु ।” कार्यभार गरेलगत्तै पत्रकारहरूको उपस्थितिमा उसले भाषण छाट्यो । साथै जनप्रिय कार्यक्रम तयार पारी पेश गर्न सचिवलाई निर्देशन दियो ।

अर्को दिन मन्त्रालयका सचिवले उसले भने बमोजिम कार्यक्रम तयार पारेर पेश गरी ब्रिफिङ गरे । फाइल राम्रोसँग हेर्दा पनि नहेरी सचिवलाई सोध्यो । “यी कार्यक्रम गर्दा के फाइदा हुन्छ ?”

“जनताले विकासको अनुभूति गर्न पाउछन् । केही हदसम्म भएपनि कष्टकर जीवनबाट मुक्ति पाउछन् । ……” सचिवले झुकेर नम्र हुँदै भन्यो ।

“चुप लाग्नोस् । बन्द गर्नुस् जनता चालिसा । मलाई के फाइदा हुन्छ ? त्यो भन्नोस् पहिला । लाखौंलाख खर्च गरेर यहाँ जनताको फाइदा सुन्न आएको होइन ।” सचिवलाई फट्कार्दै मन्त्री कुर्ल्यो ।

प्रतिक्रिया