सानिमा बैंकले पुँजीको १७ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । सानिमा बैंक लिमिटेडले कार्तिक १४ गते आइतबारका दिन १७औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । कोभिड १९ भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाइ सेयरधनीहरुको उपस्थितिमा बैठक सम्पन्न गरिएको बैंकले जानकारी दिएको छ ।
साथै अधिकतम सेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था पनि बैंकले गरेको थियो । बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर र ०.८९४७ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
संस्थापक समूहको तर्फबाट संचालक समितिमा तुक प्रसाद पौडेल, श्रीमती गायत्री थापा र डा. केशव प्रसाद आचार्य १७ औं वार्षिक साधारण सभाबाट सर्वसम्मतरुपमा निर्वाचित भएका छन् ।
बैंकका अनुसार तुक प्रसाद पौडेल र श्रीमती गायत्री थापा भने पुःननिर्वाचित भएका हुुन् । आर्थिक वर्ष २०७७/७८ मा २.३२ अर्ब रुपैयाँ खुद मुनाफा गरेको बैंकको कुल सम्पत्ति १६०.७५ अर्ब रुपैयाँ, कुल निक्षेप १३०.८८ अर्ब रुपैयाँ तथा खुद कर्जा सापटी १२३.१७ अर्ब रुपैयाँ रहेको छ ।
आर्थिक वर्ष २०७६/७७को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश १८.८८, ३१.४५ र २७.२६ प्रतिशतले वृद्धि गरेको छ ।
प्रतिक्रिया