जाडोमा यसरी राख्न सकिन्छ बालबालिकाकाे ख्याल !

काठमाडाैं । त्यसो त जाडो, गर्मीको तुलनामा कम संक्रामक मौषम हो तर जाडोको प्रकोप तिव्र भएको खण्डमा नानीबाबुहरुलाई चिसोबाट जोगाउन कठिन हुन सक्छ ।
तसर्थ जाडोको मौषममा बच्चाहरुको स्वास्थ्यको विशेष ख्याल राख्न जरुरी हुन्छ । चिसोको मौसममा बच्चाहरुको ख्याल नराख्दा निमोनिया, रुघा-खोकी, ज्वरो, चिसोको एलर्जी, इन्फ्लुएंजा , श्वासको समस्या, सिङ्गान बग्ने रोग, छाला फुट्ने, ब्रोङ्काईटिस, नाक, कान घाँटीको संक्रमण जस्ता समस्याहरु देखिन सक्छ । जाडोमा प्रकोपित हुन सक्ने यी समस्याहरूबाट नानीबाबुहरुलाई बचाउन जाडोमा निम्न कुराहरुमा विशेष ध्यान दिन अत्यन्त आवश्यक छ ।
कपडामा विशेष ध्यान :
१. जाडोमा नानीबाबुहरुलाई चिसोबाट बचाउन जाडोमा प्रयोग गरिने विशेष किसिमका लुगाहरुको प्रबन्ध गर्नुपर्ने हुन्छ । नानीबाबुहरुका लागि जाडोको कपडाहरुको इन्तजाम हुन नसकेको खण्डमा उनीहरु जाडोकाे चपेटामा आउन सक्दछन् ।
२. बच्चाहरुलाई जाडोमा कपडा लगाई दिँदा सधैं हामीले लगाएको भन्दा एउटा लेयर ज्यादा लगाई दिनुपर्छ । अर्थात हामीलाई दुई लेयर कपडाले जाडो छेकी रहेको छ भने, बच्चाहरुलाई तीन लेयरको कपडा लगाई दिनुपर्छ । यदि हामीलाई तीन लेयरले जाडो छेकी रहेको छ भने बच्चाहरुलाई चार लेयरको कपडा लगाई दिनुपर्छ ।
३. जाडोको मौसममा बच्चाहरुको टाउको, खुट्टा, हातको पञ्जा, छाती, र कानलाई न्यानो कपडाले ढाकेर राख्नुपर्छ ।
४. बच्चाहरुलाई जाडोमा कपडा लगाई दिँदा १-२ पत्र बाक्लो कपडा लगाई दिनुभन्दा ३-४ पत्र पातलो कपडा लगाई दिनु राम्रो हो । धेरै पत्र लुगा लगाई दिँदा शरीरलाई गरम राखी राख्नुपर्दछ ।
५. बच्चाहरुलाई लुगा लगाई दिँदा सबैभन्दा भित्री पत्र सुतिको होस् । त्यसपछि थर्माकोट लगाई दिनु त्यसमाथि सर्ट टि–सर्ट जामा आदि लगाई दिएर सबैभन्दा बाहिरी पत्र हावा नछिर्ने Wind proof ज्याकेट लगाई दिनुपर्छ ।
६. जाडो भरी सकभर बच्चाको टाउको खाली नराखी दिनु टोपी लगाई राख्नु । मङकी क्याप जाडोको लागि अन्य टोपीहरु भन्दा उत्तम छन् ।
७. जाडो भरी भित्र रुवा हालेर सिलाएको भोटो लगाइ दिनुपर्छ ।
८. मोजा र पञ्जा सकभर हटाउनु हुँदैन ।
९. जाडोमा बच्चालाई धेरै पिसाब लागि रहने हुँदा डायपर बदली रहनुपर्छ । कपडामा पिसाब फेरे तुरुन्त कपडा फेरी दिनुपर्छ ।
१०. जाडोमा धेरै कपडा लगाइदिँदा पनि भित्र पसिना आएर पसिनाले बच्चाहरूलाई असर गर्न सक्छ यसो हुन नदिन बेलाबेलामा पसिना आए नआएको जाँच गर्दै गरौं ।
११. बिहान बेलुका धेरै कपडाको लेयर लगाई दिएपनि दिउसो यसको लेयर घटाऔं ।
हिटरको प्रयोग
कोठालाई न्यानो राख्न अधिकाँश अभिभावकहरु कोठामा हिटर बाल्ने गर्दछन् । कोठामा हिटर चलाएको त्यति राम्रो होइन । हिटर चलाउँनुनै हिटरको साथ साथै केही क्षणको लागि ह्यामीडीफाएर पनि चलाउँनु राम्रो हुन्छ ।
हिटरले कोठाको आद्रतालाई कम गर्दछ । हिटर चलाउनै परे लगातार नचलाउनु होला । एकाध घण्टाको विश्राममा १०-१५ मिनेटको लागि बन्द गर्नुहोला ।
बाहिर जानुपर्ने छ भने जानुभन्दा २० मिनेट अगाडि नै हिटर बन्द गरिदिनुहोला । भित्र र बाहिरको तापक्रममा आएको परिवर्तनले बच्चाहरुलाई असर पार्न सक्दछ ।
मालिस गरिदिनुहोस् ।
मालिस एक किसिमको निस्क्रिय व्यायाम हो । स्नान वा स्पञ्ज पूर्व मालिस गरिदिँदा रक्तसञ्चार शसक्त हुन पुग्दछ । मांशपेशी, हड्डी, नशा, नाडी, छाला आदि सबै स्वस्थ रहन मालिसले विशेष भूमिका खेल्दछ । यसर्थ नानीबाबुहरुलाई स्नान पूर्व १०-१५ मिनेटको मालिस दिनै पिच्छे गर्नुपर्छ ।
१. जाडोमा बच्चाको मालिस गर्दा तातो स्थानमा अगेनु, हिटर, फाएर बिग्रेड आदिको नजिक राखेर सेक्दै मालिस गर्दैै गर्नुपर्दछ । मालिस १०–१५ मिनेटको मात्र हुनु पर्छ ।
२. मालिस गर्दा गाईको घिउमा कपुर मिसाएर गर्दा सबैभन्दा राम्रे हो । यसो हुन नसकेमा तातो तोरीको तेलमा मेथी फुराएर मालिस गरिदिनुस् । तोरिको तेल नभएमा बदामको तेलले पनि मालिस गरिदिनुस् ।
३. मालिस र स्नान खाना खानु पहिलेनै गराउनु पर्छ । मालिस गरेको १०-१५ मिनेटमा बच्चालाई नुहाई दिनुपर्छ, केही खाएको १ घण्टासम्म बच्चालाई मालिस गर्नु हुँदैन ।
कसरी नुहादिने ?
१. जाडोको मौसममा बच्चाहरुलाई दिनैपिच्छे नुहाउनु हुँदैन । हप्ताको २/३ चोटिसम्म भने नुहाउनु अवश्य पर्छ । जाडोमा बच्चाहरुको नियमित नुवाई धुवाई नहुने हुँदा दिनको १ पल्ट मनतातो पानीले स्फन्ज बाथ भने अवश्य गर्नुपर्ने हुन्छ ।
२. नानीबाबुहरुलाई जाडोमा नुहाउँदा खुल्ला ठाउँमा नभएर बन्द कोठामा नुहाई दिनुपर्छ । खुल्ला ठाउँमा हावा खेल्ने हुँदा चिसो हावाको कारण नानीबाबुहरु बिरामी पर्न सक्दछन् ।
३. घाममा नुहाउन चाहेको खण्डमा शिशाबाट घाम छिर्ने ठाउँलाई रोजेर वा हावा नचलेको बेला हेरि नुहाई दिनुपर्ने हुन्छ ।
४. नुहाउनु पूर्व नै बच्चालाई नुहाउने सामग्रीहरु (जस्तो बच्चाको स्याम्पो, साबन, तौली, लोसन, बाथ टव, डाइपर, कपडा, खेलौना आदि) सबै एकै ठाउँमा जम्मा गर्नुहोस् ।
५. सानो बच्चाहरुलाई नुहाउँदा हातमै राखेर नुहाउनु होला । १ वर्ष माथिका बच्चालाई टवमा राखेर नुहाइदिनु होला ।
६. नुहाउनु पूर्व पानीको तापक्रम जाँच गरी पहिले आफ्नै हात डुबाएर अञ्जलीले पानी उठाएर हाली दिनुहोस् । पानी ठिक मनतातो हुनुपर्छ । ज्यादा तातो वा चिसो पानीले बच्चालाई नुहाइ दिनुहुँदैन ।
७. बच्चालाई नुहाउँदा सकभर दुईजना भएर नुहाउनु राम्रो हो । नुहाई सकेपछि तुरुन्त कोमल तौलीयामा बेरेर बाथरुमबाट बाहिर ल्याउनुहोस् र लुगा लगाई दिनुहोस् ।
घाममा पनि निकाल्ने गर्नुहोस् :
जाडो लाग्छ भनेर बच्चालाई कोठैमा गुम्स्याएर राख्नु हुँदैन । घाम लागेको बेलामा हावाले असर नगर्ने ठाउँ हेरेर घाम तपाउने गर्नुपर्छ । घाम ताप्दा भिटामिन डी मिल्दछ ।
सरसफाइमा विशेष ध्यान पुयाऔँ :
चिसोको मौसममा बच्चाले धेरै पिसाब गर्ने हुँदा बार-बार कपडा बदलिरहन सम्भव हुँदैन । यस्तो अवस्थामा डाइपर प्रयोग गर्नुपर्ने हुन्छ । तर डाइपरको ख्याल नराख्दा यहिबाट घाउ पनि हुन सक्छ । डाइपरको प्रयोग गर्दा निम्न कुराहरुको ध्यान दिनुपर्दछ ।
१. डाइपरको साइज ठिक्क हुनुपर्छ । टाइट डाइपरले घाउ बनाउन सक्दछ भने खुल्ला डापर पनि काम गर्दैन ।
२. डाइपर लगाएको बच्चालाई बेला-बेलामा डाइपर भिजे नभिजेको चेक गर्दै गर्नुपर्छ । डाइपर भिजीसकेको भए तुरुन्त फेरिहाल्नु पर्छ ।
३. दिसा गरेको भए मजाले धोइदिऔं । पिसाब गरेको भए डाइपर बदलिदिऔँ ।
४. हरेक चोटी डाइपर बदल्दा डाइपरले घाउ बनायो कि भनेर सजग रहौँ ।
५. डाइपर बदल्दा आफ्नो हात त सफा छ भनेर विशेष ध्यान दिऔँ ।
६. डाइपर नलगाएका बच्चाहरुको कपडा भिज्ने बित्तिकै बदलिदिऔँ ।
७. जाडोमा सिङ्गानबग्ने खोकीलाग्ने आदि पनि हुन सक्ने हुँदा नाक र मुखको सरसफाईमा विशेष ध्यान पुर्याऔं ।
८. खाना खुवाइसकेपछि बच्चालाई राम्रोसँग चुठाऔँ ।
९. धुलो, माटो, बालुवा खानेकुरा आदि लागेको खण्डमा पनि तुरुन्त सफा गरि दिऔँ ।
१०. शिशुलाई धुवा, धुलो, धुम्रपान , डियोड्रिन्ट आदिबाट पनि बचाउनुहोस् ।
यसरी सुताउनु होस् :
१. बच्चालाई चिसो उठेको बेलामा भन्दा सुतेको बेलामा लाग्न सक्छ । तसर्थ सुतेको बेलामा बच्चालाई न्यानो बनाउने इन्तजाम गर्नुहोस् ।
२. बच्चा सुताउने बिछ्याउना न्यानो हुन अत्यन्त आवश्यक छ । बच्चा सुताउनुभन्दा पहिले ओछ्यान लगाएर त्यसमाथि हट वाटर ब्याग राखेर ओछ्यान तताउनुहोस र सुताउन लागे पछि त्यहाँबाट ब्याग हटाउनु होस् ।
३. बिच्याउना सिरक कपासको हुनुपर्छ ।
४. ६ महिनासम्मको बच्चाहरुलाई तोरीको सिह्रानी लगाइदिनु राम्रो हो ।
५. सिरक धेरै बाक्लो हुन हुँदैन ।
६. सुताउँदा विशेषतः उनीको जुराफ, पञ्जा, टोपी आदि लगाएरै सुताई दिऔँ ।
के-के खुवाउने जाडोमा ?
१. नवजात बालकहरुका लागि आमाको दुध सबैभन्दा उत्तम आहार हो । आमाको दुध पर्याप्त नभएको खण्डमा गाईको बाख्राको वा त्यो पनि नभ भैंसीको दुध खुवाउन सकिन्छ ।
२. खाना वा लिटो खान सक्नेका लागि मल्टीग्रेन पिठोको लिटो खुवाउनु ।
३. हरियो साग–सब्जी, उसिनेको च्याउ अन्य फलफुल आदि पनि खुवाउँदै रहनुपर्छ । दालको झोल, तरकारीको सूप पनि खुवाउँदै रहनु होला ।
४. दुधमा शुद्ध बेसार हालेर पनि खुवाउँदै रहनुहोला ।
५. काजु बदाम किसमिस आदि पिसेर पनि खुवाउन सकिन्छ ।
६. अंकुरित गेडागुडी हालेको खिचडी दलिया आदि खुवाउँदा चिसोमा राम्रो हुन्छ ।
७. तारे भुटेको चिसो प्रकृतिक फलफूल खानेकुरा खुवाउनु हुँदैन ।

डा. हेमराज कोइराला
डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।
प्रतिक्रिया