‘तिहारमा माला लगाएर गाउँ घुम्न मनपर्छ’

काठमाडौं । लोकदोहोरी गायक राजु परियारले यस वर्षको तिहार काठमाडौंमै मनाउँदै छन् । यस वर्ष लोकगायिका बिमाकुमारी दुराको हातबाट टीका ग्रहण गरेर तिहार मनाउने उनले सुनाए । तिहार उनलाई मन पर्ने चाड हो । तर पछिल्लो समय कोरोना संक्रमणको जोखिम कायमै रहेकाले गाउँ नगई काठमाडौंमै बसेर तिहार मनाउने तयारीमा छन् ।
चाडपर्व सधैं रहिरहने भएकाले आफ्नो संस्कृतिलाई निरन्तरता दिने हिसाबले मात्रै हाल तिहार मनाउनुपर्ने उनको बुझाइ छ । उनले यस वर्ष परिवारमै सीमित रहेर जनस्वास्थ्यका सम्पूर्ण मापदण्डको पालना गरी तिहार मनाउँदै छन् ।
‘भाइटीकाको दिन दिदीबहिनीबाट टीका थापेर फूलको माला लगाएर गाउँमा साथीभाइ भेटघाट गर्नुको मज्जा नै बेग्लै क्या ।’
गायक परियारलाई तिहारमा फूलमाला लगाएर गाउँ डुल्न खुब मन पर्छ । उनले भने, ‘भाइटीकाको दिन दिदीबहिनीबाट टीका थापेर फूलको माला लगाएर गाउँमा साथीभाइ भेटघाट गर्नुको मज्जा नै बेग्लै क्या ।’ तर यसपटक गाउँ नजाने उनले दोहोर्याए । काठमाडौंमा हुँदा भने साथीभाइ भेटघाट गरी वर्षभरिको कामको समीक्षा गर्ने, रमाइलो गर्ने योजना छ । कोभिड संक्रमणको जोखिम कायमै रहेको हुँदा धेरै साथीभाइ पनि भेटघाट नगर्ने उनले बताए ।
गायक परियारको बुझाइमा चाडबाडको लोकप्रियता पुस्ताअनुसार केही फरक छ । उनले नेपालखोजसँग भने, ‘बाजेको पालाको जस्तो चाडबाड बुबाको पालामा भएन । परिमार्जित हुँदै गयो । बुबाको पालाको जस्तो हाम्रो पालामा छैन । अब हाम्रो पालाको जस्तो छोराहरूको नहोला ।’ उनले मूल कुरा भने कसैले नबिर्सेको बताए ।
गायक परियारले तिहारलाई आफ्नो संस्कृतिलाई निरन्तरता दिने हिसाबले सुरक्षाका सबै मापदण्डहरू पालना गरी मनाउन सबैमा आग्रह गर्दै तिहारको सबैलाई शुभकामना दिए । हाम्रा तर्फबाट पनि गायक परियारलाई तिहारको शुभकामना !
प्रतिक्रिया