सोमबार, वैशाख ८, २०८२

केशव आचार्यका ५ शब्द सिर्जना

नेपालखोज २०७८ कार्तिक २० गते ७:५३

१ .
दल-दलमा फसेर अदाको “लत” बिग्रीयो।
कतैको घाउ निको भो कतैको “खत”बिग्रीयो।

संयोगले आज मैले कालो कोट भिरेको थें,
उस्ले रूदै भन्यो-आजै मेरो “इज्जत” बिग्रीयो।

कोटलाई काँटीमा झुण्ड्याएर बुझाएँ मैले,
गोजीको भोकले गर्दा तेरो “आदत” बिग्रीयो।

ऊ चुपचाप झुण्डी रह्यो मैले मनमा गमें,
यही कोटले गर्दा धेरैको “लागत” बिग्रीयो।

र मेरो कोटको कारणले बिग्रेको लागत,
कसैको सोझै अनि कसैको “मार्फत” बिग्रीयो।

यस्तै -यस्तै अनेकौं दल-दलमा भासिएर,
“कोट”को पहिचान “शत प्रतिशत” बिग्रियो।

२.
सर्वसाधारण, डाक्टर अनि ” धामी”-धाउँदैछन्।
गुम्बा-मन्दिरतर्फ फूलका “मलामी”-धाउँदैछन्।

खोइ किन हो,दिन ढल्किए पछि मधुशाला तिर,
बाल ब्रह्मचारी महाराज ती “स्वामी”-धाउँदैछन्।

होसियार! मन्दिरका ए! मूल्यवान मूर्तिहरु हो,
चोरी गर्न , साधु- ओडेर “रामनामी”-धाउँदैछन्।

“देश स्वर्ग छ” भनी थाक्तैनन् नेताहरु-तर किन?
मरूभूमि तिर देशका युवा “ज्यामी”-धाउँदैछन्।

पुराना दुला पसे ठानेर कदापि ढुक्क नहुनू,
जनतालाई लुट्न नयाँ “प्रतिगामी- धाउँदैछन्।

राजनीतिलाई एउटा फोहोरी खेल हो -भनिन्छ,
होला-र त यो खेल् खेल्न प्राय:”हरामी”धाउँदैछन्।

३.
पातमा लेखूँ कि ,पत्करमा लेखूँ ?
दृश्यमा लेखूँ कि, नजरमा लेखूँ ?

एउटा छ प्यासी, अर्को छ चन्चल,
नदीमा लेखूँ कि, बगरमा लेखूँ ?

मनमा उर्लन्छन्, अनेक तरङ्ग,
बासमा लेखूँ कि, सफरमा लेखूँ?

एकमा छ ज्योति,अर्कोमा छ वाँणी,
आँखामा लेखूँ कि, अधरमा लेखूँ?

भयो र भएन, भए भन्ने धेरै,
“वाहा”मा लेखूँ कि ,बदरमा लेखूँ?

सधैं केही त लेखूँ, लागिरहन्छ,
काव्यमा लेखूँ कि , खबरमा लेखूँ?

म त लेख्ता लेख्तै, दोधारमा पर्छु,
“बाछी”मा लेखूँ कि, बहरमा लेखूँ ?

४.
सक्तिन म नेता बन्न, ढाँट्नु पर्दो रैछ।
हिजो बोल्या कुरा आफै, काट्नु पर्दो रैछ।

जाल झेल धोका धडी, आफू भित्र पाली,
मै हूँ ठूलो भनी फुर्ति , छाँट्नु पर्दो रैछ।

भन्या मान्ने,ताली हान्ने, बाहेक् अरुलाई,
तुच्छ गाली गरी छी छी,डाँट्नु पर्दो रैछ।

आफू भन्दा बढि जान्ने,अर्को निस्क्यो भने,
बाध्य भई आफैं पनि, फाट्नु पर्दो रैछ।

भए जति लाज घिन, सबै पचाएर,
आफैं थुक्या थुक पनि, चाट्नु पर्दो रैछ।

को हो शत्रू, को हो मित्र, चिन्न नसकेर,
अति स्वार्थी माया मात्र, साट्नु पर्दो रैछ।

५.
शब्द सिर्जना

बुझी नसक्नु, गुरुको खेल -हामी ट्वाल्ल।
हिजो पास भन्थे, आज फेल-हामी ट्वाल्ल।

भन्थे- विध्यालय सभ्यताको मन्दिर हो,
मन्दिर भित्रै, ठेलम-ठेल – हामी ट्वाल्ल।

कोही गुरु तल त, कोही माथि मन्चमा,
खोइ किन हो, पेलम- पेल-हामी ट्वाल्ल।

बम्किने, चम्किने, चिच्याउने- कराउने,
यो चल्ने हो अझै,कतिन्जेल-हामी ट्वाल्ल।

भन्ने गर्छन्- “हाम्रो योगदान सानो छैन”,
धेरै भोग्या अरे, जेल-नेल – हामी ट्वाल्ल।

हामीले सिक्नु के ? यी अगुवाहरुबाट,
बाध्य छौं हेर्न, यो अनमेल-हामी ट्वाल्ल।

आफ्नो गाँस काटी-काटी पाल्ने चाहिँ हामी,
निकाल्ने भए हाम्रो नै तेल- हामी ट्वाल्ल।

प्रतिक्रिया