बारले आन्दोलनलाई सर्वोच्च केन्द्रित गर्ने, आजबाट दैनिक २ घण्टा विरोध

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको नेपाल बार एशोसिएशनले आन्दोलनको स्वरुप परिवर्तन गरेको छ । बारले आजबाट दैनिक दुई घण्टा आन्दोलन गर्ने बताएको छ ।
अब सर्बोच्च अघि बिहान १० बजेदेखि १२ बजेसम्म आन्दोलन हुनेछ । यसअघि दैनिक एक घण्टा कालोपट्टी बाँधेर बारले विरोध जनाउँदै आएको थियो ।
बारले उपत्यकाका सबै बार इकाईलाई समेत सर्वोच्च परिसरमै आन्दोलनका लागि भेला गर्दैछ । कात्तिक २२ गतेको निर्णयअनुसार एकीकृत आन्दोलन गर्न लागिएको हो ।
सर्वोच्चमा इजलास बहिष्कार जारी रहँदा उपत्यकाका उच्च अदालत पाटन, विशेष अदालत, जिल्ला अदालत काठमाडौँ, भक्तपुर र ललितपुरमा पनि आजदेखि दुई घण्टा सेवा प्रभावित हुनेछ । यस्तै, उपत्यकामा रहेका अन्य अदालत र न्यायाधीकरणमा पनि सेवा प्रभावित हुनेछ ।
बारले यसअघि नै दुई घण्टा सुनुवाइ नगरिदिन अदालत तथा न्यायाधीकरणहरुलाई लिखित पत्राचार नै गरिसकेको छ ।
बारको पूर्वनिर्धारित निर्णयअनुसार आइतबारदेखि इकाईहरुमा पनि आन्दोलन सुरु भएको छ । दैनिक एक घण्टा कालोपट्टी बाँधेर विरोध हुनेछ । कात्तिक २९ गतेसम्म बार इकाइहरुमा विरोध जारी रहनेछ ।
दोस्रो चरणको आन्दोलनका कार्यक्रम समापनसम्म पनि प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलनको नयाँ कार्यक्रम सार्वजनिक गर्ने बारको तयारी गरेको छ ।
प्रतिक्रिया