नेपाली राजनीति : राष्ट्रप्रेम, विचार र आदर्श

राजनीति एक पवित्र सेवा हो । राजनीति राष्ट्र वा देश सेवा, मातृभूमिको सेवा, समाज सेवा सबै हो, यो सेवा निस्वार्थ भावले, पवित्र मनले गरिन्छ । तर अहिले राजनीतिको अर्थ बदलिएको छ । राजनीतिक पात्रहरूले राजनीतिलाई बदनाम गरेका छन् । आजभोली राजनीतिलाई सेवा होइन पेशा बनाइएको छ, व्यापार बनाइएको छ, कमाई खाने भाँडो बनाइएको छ । राजनीतिबाट मूल्य, नैतिकता र मर्यादा भन्ने विषय हराएको छ । राजनीतिबाट देशप्रेम, नीति, सिद्धान्त र आदर्श मरेको छ । त्यसैले आजभोली आम जनतामा नेपाली राजनीति प्रति चरम निराशा छाएको छ ।
राजनीतिलाई कसरी लोकप्रिय बनाउने ? राजनीतिलाई कसरी गलत बाटोबाट सही बाटोमा हिडाउने, नैतिकता, सिद्धान्त र आदर्शको मार्गबाट हिडाउने ? राजनीति कर्मीलाई कसरी राष्ट्रप्रेमी, सदाचारी, इमान्दार एवम् आदर्शवादी बनाउने ? यी सवालहरू नै वर्तमान नेपाली राजनीतिको प्रमुख सवाल हो । यी सवालहरूलाई यथोचित सम्वोधन गर्न सकिएन भने नेपाली राजनीतिमा सुधार हुने सम्भावना रहँदैन । नेपाली राजनीतिमा सुधार भएन, निष्ठा, विचार आदर्शबाट च्युत भएको राजनीति, राष्ट्रप्रेमको भावनाबाट विमुख, केवल सत्ता केन्द्रित राजनीति रहेसम्म, राजनीतिमा व्याप्त भ्रष्टाचार, अराजकता र अनुशासनहीनता रही रहे नेपाली राजनीतिको सुधार हुने कुरा त कल्पना नगरौं, देशको अस्मिता माथि नै, सर्वभौमसत्ता र अखण्डतामाथि नै आँच आउने खतरा रहन्छ ।
राजनीति सेवा होइन, पैसा र सम्मान आर्जन गर्ने साधन भएको छ । तन्नम राजनीतिककर्मी राजनीतिका माध्यमले नवधनाढ्य भएका छन् । व्यापार, व्यवसाय, कमिसनखोर, प्रशासक सबै क्षेत्रका मानिसलाई वैधानिक÷अवैधानिक सम्पति कमाएकाहरू सम्मानको प्यास मेट्नको लागि राजनीतिमा आउँछन् र पैसाकै भरमा राजदूत, सांसद एवम् मन्त्री लगायतको नियुक्ति पाउने प्रवृत्ति नेपाली राजनीतिको सामान्य संस्कृति भएको छ ।
देशको संविधान राम्रो भएर मात्र हुँदैन, राजनीतिक दल, शक्ति, राजनीतिक कर्मी र नेतृत्वको व्यवहार र चरित्र पनि सफा, चरित्रवान् र इमान्दार हुन जरूरी हुन्छ । राजनीतिक नेतृत्व र कार्यकर्ताको चरित्र भ्रष्ट भए पछि, पार्टी भ्रष्ट हुन्छ, जनताका प्रतिनिधिको रूपमा काम गर्ने राजनीतिक दल भ्रष्ट भए पछि देशको सिङ्गो राजनीति भ्रष्ट हुन्छ । अहिले हाम्रो राजनीति यही बाटोमा छ । जसले गर्दा नेपाली राष्ट्रिय राजनीति संकटको बाटोमा अग्रसर छ ।
गलत बाटोमा हिंडेको नेपाली राजनीतिलाई सहि बाटोमा ल्याउने नेपालीले नै हो । राजनीति प्रति असल मानिसहरूको आकर्षण र सक्रियता विना राजनीति सही बाटोमा आउँदैन । राजनीति प्रति चासो राख्न खोज्ने, राजनीतिको बाटोमा भरखर पाइला टेक्दै गरेका नवजवान युवाहरूलाई राजनीतिको सत्मार्गमा हिड्न थोरै भए पनि प्रेरणा मिलोस् । राजनीतिप्रति पढेलेखेका युवाहरूको आकर्षण बढोस् । राजनीतिक कार्यकर्ताहरूमा राष्ट्रप्रेमका भावना भरिएको होस् । उनीहरू राजनीतिक सिद्धान्त, सदाचार र आदर्शको मार्गमा हिँडुन् भन्ने उद्देश्यले नै यो मेरो सानो प्रयास भएको हो ।
मेरो पुस्ता युवा विद्यार्थी कालमा राजनेता बीपी कोइरालाको विचार, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई जस्ता नेताको आदर्शको पथलाई पछ्याउँदै प्रजातान्त्रिक आन्दोलनमा पाइला टेकेको पुस्ता हो । हाम्रो पुस्तालाई नेपाली राजनीतिकै महान विचारक सीके प्रसाईको विचारबाट उद्वेलित बन्दै राजनीतिमा लागेको पुस्ता हो । २०३७ सालको जनमत संग्रह पछि सी के प्रसाईको सानो पुस्तिका ‘आजको सरल राजनीति’ ले म जस्ता हजारौं युवालाई राजनीतिमा अग्रसर बन्न र निरङ्कुश पञ्चायती व्यवस्था विरूद्ध प्रजातान्त्रिक प्रजातान्त्रिक आन्दोलनमा होमिन निकै उत्साह र प्रेरणा दिएको थियो । त्यसैबाट प्रभावित एवम् अभिप्रेरित हुँदै यो सानो पुस्तक तयार गर्न मलाई प्रेरणा मिल्यो ।
राजनीतिमा चासो राखेर अगाडि बढ्दै गरेका युवा पुस्ताका लागि यो मेरो सानो प्रयास मात्र हो, यो नै पर्याप्त होइन । विषय वस्तुमाथि पाठकलाई केही कुत्कुति पैदा होस्, जिज्ञासा बढोस् र अगाडि खोजी गर्ने, अध्ययन गर्ने संस्कृति बसोस् र यसबाट राजनीतिलाई मर्यादामा ल्याउन युवा पङ्तिलाई थोरै भए पनि सकारात्मक सन्देश दिन सकोस् भन्ने यसको धेय हो । त्यसैले पुस्तकलाई सरल र छरितो बनाउने प्रयास गरिएको छ ।
प्रतिक्रिया