सोमबार, वैशाख ८, २०८२

नारायणगोपाल : केही नखुलेका पाटा

प्रकाश सायमि २०७८ मंसिर १९ गते ७:२२

-नारायणगोपालका दुई पाटा छन्, गायन र संगीतको ।
-चर्चाको हिसाबले नारायगोपाललाई गायक धेरै भनियो तर उनी संगीतमा ‘जेठा’ र गायनमा ‘माहिला’ हुन् । २०२३ सालमा रेडियो नेपालद्वार आयोजित प्रतियोगितात्मक आधुनिक संगीत सम्मेलनमा उनलाई ‘सर्वोत्कृष्ट संगीतकार’ को पुरस्कार दिइएको थियो भने अर्को वर्ष मात्र उनलाई ‘सर्वोत्कृष्ट गायक’ को पुरस्कार दिइएको हो ।
-आफ्नो पहिलो डिस्क रेकर्ड गरेको पाँच वर्षपछि मात्र उनी प्रतियोगितामा प्रथम भएका थिए ।
-उनले संगीतमा रुचि भएका कारण नेपाली फिल्म ‘मनको बाँध’ मा संगीत निर्देशन गर्न निवेदन हालेका थिए तर उनलाई पाश्र्व गायकमा चयन गरियो ।
-शास्त्रीय संगीत पढ्न उनले भारतको महाराज सयाजी राव युनिभर्सिटीमा छात्रवृत्ति पाए तर चार वर्षको पढाइ उनले तीन वर्षमा अपूरोमा छोडेर आए ।
-नेपालमा संगीतको पत्रिका निकाल्नुपर्छ भनेर उनले ‘बागीना’ (बाजा गीत र नाच) समेटिएको पत्रिका सुरु गरे, उनका गुरु वासुदेव शर्मा लुइँटेलले ‘यो काम फाप्दैन’ भने तर उनले पत्रिका निकालेर छाडे । यो नेपालको हालसम्मको संगीत प्रधान पत्रिकमा तेस्रो मानिन्छ, ‘हिमाली कलाकार, ‘संगीत-सरिता’ पछि ।
-नारायणगोपालले अरुको संगीतमा भन्दा आफ्नै संगीतमा धेरै गीत गाए , त्यसैले उनी प्रथमतः संगीतकार नै हुन् ।
-नेपालमा दिइने ‘जगदम्बा-श्री’ पुरस्कार पाउने उनी पहिलो व्यक्ति हुन् ।
-राष्ट्रिय चलचित्र महोत्सवमा दिइएको सर्वोत्कृष्ट गायक (विसं २०४३) वहिष्कार गर्ने उनी पहिलो कलाकार हुन् ।
-विसं २०४४ सालमा उनलाई छिन्नलता पुरस्कार दिइँदा मन्त्री एक घण्टा ढिलो आउँदा उनी झन्डै पुरस्कार नलिईकन फर्केका थिए ।
-२०४५ सालमा उनलाई अन्तर्राष्ट्रिय मञ्च पत्रिकाले ‘वर्षको सर्वश्रेष्ठ पुरुष’ घोषणा गरेको थियो भने, यही साल उनलाई कामना मासिकले ‘जाँड-सम्राट’ भनेर उपाधि दिएको थियो ।
-बीएस थापाको फिल्म ‘माइतीघर’ मा पाश्र्वगायकमा फ्याँकिएका नारायणगोपाल पछि बीएस थापाको दोस्रो फिल्म ‘कान्छी’ कै गीतका कारण सर्वोत्कृष्ट गायकमा छनिए ।

नारायण गोपाल : लुकेका दश कुरा

-पाकिस्तानका प्रसिद्ध गजल गायक मेन्हदी हसन र गुलाम अली नेपाल आउँदा नारायणगोपालको ‘आँखा छोपी नरोऊ भनी भन्नु पर्या छ’, ‘आजै र राति के देखे सपना’ अनि ‘जुन फूल मैले चाहेको थिएँ’ गाएको इतिहास छ ।
-रत्न रेकर्डिङ संस्थानबाट सबैभन्दा बढी एल्बम बिक्री भएकाले विसं २०२९ मा नारायणगोपाललाई रत्न रेकर्ड पुरस्कार दिइएको थियो ।
-नारायणगोपाल पछिल्लो समय ‘उर्वशी’ पत्रिकाका अतिथि सम्पादक पनि भए ।
-संगीतका एसोसिएट प्रोफेसर नारायणगोपालले पछि ललितकला क्याम्पसमा पढाए भने उनले विवाह गरेकै सालमा पोखराको सोल्जर्स बोर्ड (हाल अमरसिंह उच्च मावि) स्कुलमा पढाए, जहाँ उनलाई विद्यार्थीले ‘लद्दू सर’ भनेर चिन्थे ।
-नारायणगोपाल तबलावादक भनेर पनि चिनिन्छन्, तर उनका धेरै गीतमा राजु अग्रवालले तबला बजाएका छन् ।
-नारायणगोपालका धेरै गीतमा ओमविक्रम विष्टले गितार बजाएका छन् ।
-रेडियो नेपालमा नारायणगोपालको धेरै गीतको रेकर्डिङमा सुदन खत्री, राधाकृष्ण खड्काले रेकर्डिस्टको काम गरेका छन् ।

नारायणगोपालका १० कुरा
१. नारायणगोपाल वाद्यवादकहरुको संरक्षण गर्ने । उनले सगरभरि छाति चिरी गीत रेकर्ड गर्दा पहाडबाट जसवीर राईलाई तार बाजा बजाउन बोलाएका थिए ।
२ . हरिभक्त कटुवालको शब्दमा नारायणगोपालले गाएको यो गीत अप्रतिम गीतमध्ये एउटा हो, यस गीतलाई संगीतकार दिव्य खालिङले संगीत संयोजन गरेका थिए । संयोजक खालिङले यसमा नारायणगोपालको संगीतलाई भरपूर न्याय गरेका छन् र अर्को विशेष कुरा यो गीतमा एक विदेशी वाद्यवादक डेभिड म्याथ्युले गज्जबले गितार बजाएका छन् । डेभिड म्याथ्युले यस गीतमा गितार बजाएपछि भनेका थिए, ‘आई प्लेइड फर नरैनगोपाल…’
यो गीतको शब्दमा नारायणगोपालले एउटा चिज बदले, ‘नसोध मलाई कहाँ दुख्छ घाउ’ को ठाउँमा ‘मलाई नसोध’ गरेर गाए…
३. वाद्यवादकलाई माया गर्ने नारायणगोपालको नाममा स्थापित स्वरसम्राट नारायणगोपाल स्मृति पुरस्कार पहिलोपटक सितारवादक गणेश भण्डारीलाई दिइएको थियो ।
४. नारायणगोपालका पिता आशागोपाल गुरुवाचार्य उस्ताद हुन् भने उनका भाइ हेमगोपाल एक कुशल गायक हुन् र अर्का भाइ मनोहरगोपाल गुरुवाचार्य संगीतका प्राध्यापक हुन् ।
५. नारायणगोपाल तबलावादक हुतराज शर्माका घनिष्ठ मित्र हुन्, हुतराज शर्माकी पत्नी सावित्री झा (शर्मा) लाई नारायणगोपालले एकपटक यसो भने, ‘मेरो एउटा नराम्रो गीत ल्याउनुस् भाउज्यू । म आफ्नै खुट्टाले कुल्चेर नष्ट गरिदिन्छु ।’
६. नारायणगोपालले चोट फिल्मका लागि गाएको अन्तिम गीत तिमी किन आज यस्तो आँखा तरे जस्तो… पछि गायक प्रकाश श्रेष्ठले गाए ।
७. नारायणगोपालले गाएको पहिलो गीत ‘धरतीको याद दिलाइ पंखमा उड्यो…’ डा राममान तृषितको रचना र प्रेममाणिकको संगीतमा थियो ।
८. नारायणगोपालको प्रायः गीतमा तबला बजाउने तबलावादक राजु अग्रवाल हुन् ।
९. नारायणगोापल आफ्ना साथी फत्तेमान राजभण्डारीलाई महाराज भन्थे भने अम्बर गुरुङलाई सैन्डो पहलमान भन्थे ।
१० . नारायणगोपालले आफ्नो जीवनको अन्तिम समयमा हेरेको फिल्म हो, राम्बो ।

प्रतिक्रिया