माओवादी केन्द्रलाई स्थानीय तहमा नेतृत्व चयन गर्न सकस

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेशको कास्कीमा स्थानीय तहका पार्टी कमिटीको नेतृत्व चयन गर्न सकस परेको छ । देशैभर गत मङ्सिर ११ गते एकै दिनमा ७५३ स्थानीय तहमा अधिवेशन गरेको माओवादीले कास्कीका पाँच पालिकामध्ये तीनवटामा अझै नेतृत्व चयन गर्न सकेको छैन ।
मादी र रुपा गाउँपालिका कमिटीमा नेतृत्व चयन गरिए पनि भौगोलिकरूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरसहित अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा अध्यक्षका आकांक्षीबीच सहमति नजुट्दा नेतृत्व चयन गर्न अप्ठ्यारो परेको हो ।
माओवादीको सबै पालिका कमिटीमा नेतृत्वका लागि एकभन्दा बढीको दाबी छ । पार्टीले सर्वसम्मत नेतृत्व चयनलाई पहिलो प्राथमिकतामा राखे पनि कसैले पनि आफ्नो दाबी नछाड्दा सहमति बन्न सकेको छैन । नेतृत्व चयन हुन बाँकी पालिकामा पालिका कमिटीका सदस्यहरूको टुंगो लागे पनि अध्यक्ष र पदाधिकारी चयन बाँकी छ ।
माओवादीका जिल्ला संयोजक बखानसिंह गुरुङले नेतृत्व चयन हुन बाँकी पालिकाका अध्यक्षलगायत पदाधिकारी सहमतिका आधारमा टुंगो लगाउने प्रयास जारी रहेको बताएका छन् । मङ्सिर २५ गते हुने प्रदेश अधिवेशनअघि सबै पालिकामा नेतृत्व चयन गरिसक्ने लक्ष्यअनुसार आकाङ्क्षीहरूका बीचमा बसेर छलफल गरिएको र निचोडमा पुग्ने दाबी उनले गरेका छन् ।
माओवादीका कास्की जिल्ला संयोजक गुरुङले भने, ‘नेतृत्व चयन गर्न बाँकी पालिकामा प्रदेश अधिवेशनअगावै गर्ने गरी छलफल भइरहेको छ । सहमतिका लागि अधिकतम प्रयास गर्छौं। सहमति नबने विधानमा भएको व्यवस्थाअनुसार निर्वाचन प्रक्रियाका माध्यमबाट समेत नेतृत्व छनोट गर्नेछौँ ।’
पोखरा महानगरको भोलि बुधबार कमिटीको बैठक बसेर नेतृत्व चयनको प्रयास गरिने माओवादीले जनाएको छ । माछापुच्छ्रे र अन्नपूर्णमा पनि छिट्टै प्रक्रियामा लगिने जनाइएको छ । नेतृत्वका आकांक्षीहरूले आफ्नो दलिल पेश गर्नु जायज रहे पनि लचकता अपनाउन पार्टीले आग्रह गरेको संयोजक गुरुङले बताएका छन् ।
नेतृत्वका आकाङ्क्षीहरूले भने लामो समय पार्टी कमिटीलाई अनिर्णयको बन्दी नबनाउन नेतृत्वसँग आग्रह गरेका छन् । माछापुच्छ्रे गाउँ कमिटीमा अध्यक्षका सुनिल दाहालले छिटो निर्वाचन प्रक्रिया सम्पन्न गर्न आग्रह गरेका छन् । पालिका अधिवेशनअन्तर्गत माओवादीले कास्कीको मादी गाउँपालिकामा तोरण गुरुङ, रुपामा नवराज बराल र मजदुर विशेष शाखामा टंक पौडेलेको अध्यक्षतामा ५५ सदस्यीय कमिटी चयन गरेको छ ।
आगामी पुसमा राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादी केन्द्रले वडा र पालिका अधिवेशन सम्पन्न गरेको छ । यही मङ्सिर २५ गते माओवादीले देशका सातवटै प्रदेशमा एकै दिन प्रदेश अधिवेशन गर्न लागेको छ ।
प्रतिक्रिया