आइतबार, वैशाख ७, २०८२

संयुक्त अरब इमिरेटस् अर्थात यूएई !

नेपालखोज २०७८ मंसिर २७ गते ७:३१

काठमाडौं । यूएई अर्थात संयुक्त अरब इमिरेट्स, नेपालीको रोजगारीको महत्त्वपूर्ण गन्तव्य । मानिसहरु साउदी अरब र संयुक्त अरब इमिरेट्सलाई लिएर भ्रमममा पनि हुन्छन् । वास्तवमा यी अलग-अलग देश हुन् । आउनुहोस् संयुक्त अरब इमिरेट्सबारेमा केही जानकारी लिउँ ।

इमिरेट्स अरबी भाषाको शब्द हो र यसको अर्थ रियासत वा राज्य हो । इमिरेट्सका राजालाई अमिर भनिन्छ । यहाँका इमिरेट्सहरुमा अरबी भाषा बोलिन्छ । संयुक्त अरब इमिरेट्समा सातवटा इमिरेट्स छन् । यी सातैवटा इमिरेट्सका अलग-अलग अमिर छन् । ती सबै इमिरेट्सका एक राष्ट्रपति हुन्छन् ।

१९७१ सम्म यी इमिरेट्समा अंग्रेजको शासन थियो । डिसेम्बर १९७१ मा यी इमिरेट्सहरु अंग्रेजको शासनबाट मुक्त भए । त्यतिबेला ६ वटा इमिरेट्स मिलेर नयाँ देश गठन गरेका थिए । अर्को इमिरेट्स रास अल खइमाहचाहिँ १९७२ मा संयुक्त अरब इमिरेट्समा सामेल भएको हो । यूएई अरब देशमध्ये सबैभन्दा उदारवादी देश मानिन्छ ।

यहाँ सातवटै इमिरेट्सका सातजना अमिरले एउटा काउन्सिल निर्माण गर्छन् जसले प्रधानमन्त्रीको नियुक्ति गर्छ । यहाँका प्रधानमन्त्री उपराष्ट्रपतिसमेत हुन्छन् ।

यूएईमा २७.८ प्रतिशत भारतीय, १२ प्रतिशत अमिराती, १०.२ प्रतिशत पाकिस्तानी, ९.५ प्रतिशत बंगलादेशी, ६.१ प्रतिशत फिलिपिनो, ४.७६ प्रतिशत इरानी, ४.२३ प्रतिशत मिश्रका मानिस, २.२ प्रतिशत चिनियाँ तथा १४.१ प्रतिशत नेपालीसहित अन्य देशका मानिस बसोबास गर्छन् ।

यूएईका इमिरेट्समध्ये सबैभन्दा बढी जनसंख्या भएको इमिरेट्स दुबई हो । दुबईको जनसंख्या करिब ४२ लाख छ भने यसको क्षेत्रफल ३,८८५ वर्ग किलोमिटर छ ।

अबुधाबी क्षेत्रफलका दृष्टिले सबैभन्दा ठुलो इमिरेट्स हो । यसको क्षेत्रफल ६७,३४० वर्ग किलोमिटर छ । अबुधाबीको जनसंख्या करिब २८ लाख छ ।

तेस्रो ठूलो इमिरेट्स शारजाँह हो । शारजाँहको क्षेत्रफल २,५९० वर्गकिलोमिटर र जनसंख्या करिब २४ लाख छ । जनसंख्याका आधारमा चौथो ठूलो इमिरेट्स अजमान हो । अजमानको जनसंख्या करिब ५ लाख र क्षेत्रफल २५९ वर्ग किलोमिटर छ ।

जनसंख्याका दृष्टिले पाँचौं ठूलो इमिरेट्स रास अल खइमाह हो । यहाँ करिब चार लाख मानिस बसोबास गर्छन् भने यसको क्षेत्रफल १,६८४ वर्गकिलोमिटर छ ।

फुजेराह इमिरेट्समा करिब डेढ लाख मानिस छन् र यसको क्षेत्रफल १,१६५ वर्गकिलोमिटर छ । यूएईको सबैभन्दा सानो इमिरेट्स उम अल कुवेन हो जहाँ करीब ७२ हजार मानिस बसोबास गर्छन् । यसको क्षेत्रफल ७७७ वर्ग किलोमिटर छ ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया