एयरक्राफ्ट म्युजियम धनगढीबाट नेपालगन्ज सरेपछि…(तस्बिरसहित)

काठमाडौं । क्याप्टेन वेद उप्रेतीले धनगढीबाट एभिएसन म्युजियम नेपालगन्ज सारिएको जानकारी दिएका छन् । क्याप्टेन उप्रेतीले लेखेका छन्- आठ वर्षअघि धनगढीमा एउटा उत्कृष्ट एभिएसन म्युजियम बनाउने सपना थियो जुन साकार पनि भयो तर धेरै वर्ष टिक्न सकेन । अर्कों शब्दमा भन्नुपर्दा धनगढीको एयरक्राफ्ट म्युजियम सधैंका लागि बन्द भएको छ ।
जहाजका पार्टपुर्जा खोलिँदै गर्दा मेरा आँखाबाट आँसु खसिरहे, मन पोलिराख्यो तर सहकर्मी राजु महत भाइले एकनासले जहाज खोल्दै गयो । सात दिनमा जहाजका पार्टपुर्जा लामा ट्रकहरुमा लोड हुन थाले । म मेरी प्रेमीरूपी एयरक्राफ्ट म्युजियम सधैंका लागि हराउँदै थिए । प्रतेक मिनेट फोटो खिच्दै थिएँ । म मेरी मायालुलाई सधैंभरि आफ्नो मुटुभित्र कैद गर्न चाहन्थे ।
यसअघि दुईपटक पत्रकार सम्मेलन गरेको थिएँ । तर कसैले धनगढीको एयरक्राफ्ट म्युजियम बचाउन सकेनन् ।
चिन्ता, दुःख र आँशु मात्र जीवन होइन । जीवन संघर्ष पनि हो भन्ने कुरा मलाई राम्रोसँग थाहा थियो । मुटुभित्र ढुंगा राखी मुस्कराइरहें र नया यात्राका लागि मानसिक तवरले आफूलाई बलियो बनाएँ ।
मेरी बेहुलीजस्ती म्युजियम काटिएर ट्रकमा बेहोस् थिई ! एयरक्राफ्ट म्युजियम धनगढीका लागि सहिद हुँदै थिई । जसले काठमाडौंको एभिएसन म्युजियम, महेन्द्रनगरको महेन्द्रनगर म्युजियम र नेपालगन्जको नेपालगन्ज म्युजियम जन्माइसकेकी थिई ।
अब नयाँ यात्रा सुरु भयो ।
मलाईजस्तै धनगढीवासीलाई पनी दुःख लागेको होला । प्रयास गर्दा-गर्दै पनि धनगढीको एयरक्राफ्ट म्युजियम बचाउन नसकेकाले क्षमाप्रार्थी छु !
म चिसापानीसम्म सँगै आए। एयरक्राफ्ट म्युजियमको रातीको बास चिसापानीमा भयो । पौष १ गते एयरक्राफ्ट म्युजियम नेपालगन्जको बीपी चोकबाट दाहिनेतिर भित्र गइसकेकी थिई । ऊ धनगढीबाट नेपालगन्जकी भइसकेकी थिई ।
म नेपालगन्जबाट लखनऊ हुँदै दिल्लीका लागी उडेँ । उता नेपालगन्जमा राजु भाइ एकनासले नेपालगन्ज एभिएसन म्युजियम बनाउँदै छ । लखनऊबाट प्यासेन्जर भरेर उड्दै गर्दा धनगढीमा फेरि एकपटक उत्तम खालको एभिएसन सेन्टर बनाउने सोच आएको छ । खासगरी स्थानीय सरकारसँग सहकार्य गरेर भविष्यमा फेरि भेट्ने प्रण गर्दै एयरक्राफ्ट म्युजियम धनगढीबाट बिदा लिन चाहन्छु !

क्याप्टेन उप्रेतीको यो स्टाटसमा थुप्रै प्रतिक्रिया आएका छन् जसबाट केही चुनिएका प्रतिक्रिया हेरौं :

आरती चटौत
धनगढीको त्यो म्युजियममा मैले पनि जाने मौका पाएको थिएँ र यहाँको नयाँ कर्म सोच्न सक्ने सहास र त्यसलाई पूरा गर्न सक्ने आँटको खुलेर प्रशंसा पनि गरेको थिएँ ! आज त्यो रहेन सुन्दा अलि मन कस्तो-कस्तो त भयो तर फेरि सोचे एकपल्ट प्रमाणित नयाँ सोचको तरंगले धेरै नयाँ कर्मका लागि आधार खडा गरिसक्छ !! यस अर्थमा त्यो सुरु गर्नुको महत्त्व बढी छ !
यो सिर्जनशील मस्तिस्क र कर्मप्रतिको अनुराग तथा निष्ठाप्रति मेरो सम्मान क्याप्टेन साब ।
किरण सिग्देल ढकाल
म धनगढी नगएको धेरै भएको थियो अब जाँदा म्युजियम पनि हेर्छु भन्ने थियो, हजुरको प्रयासको सबैले सराहना गरेका थिए, फेरि पनि त्यो म्यूजियम बनोस् अझ राम्रो अनि कहिले बन्द नहुने गरी ।
क्षितिज भण्डारी
मार्मिक सत्यकथा ! कैलालीमा पर्यटनको विकास गर्ने र लगानीकर्तालाई आवश्यक पूर्वाधार सुविधा दिने राजनेता चाहिएको छ ।
उमेश बडू
साह्रै नरमाइलो लाग्यो तर हेर्दै जाँदा हिजो भन्दा आज ठाउँ परिवर्तन हुन आवस्यक पनि छ भनेर सम्झे!!! आगामी दिनमा फेरि केही नयाँ काम अवश्य गरिनेछ भन्ने विश्वास लिएको छु।




बलबहादुर महरा
सुदूरपश्चिमका लागि दुखद कुरा ।
शिवराज तिमिल्सिना
तपाईको बाध्यता पनि होला तर धनगढीबाट बाहिर जानू हुँदैन थियो । कसको सक्रियता पुगेन मनन् गर्नु जरुरी छ ।
भक्तराज उप्रेती
मार्मिक आलेख आयो , पढेर आल्हादित हुन् बाहेक अरु उपाय भएन काका म संग पनि ।
हेमबाबु लेखक
तपाईंको पवित्र नियत र सोचलाई बुझ्न नसकेकोमा एकदिन पक्कै पछुतउनेछन् धनगढीवासी ।
सोनु भण्डारी
साह्रै दुख लाग्यो मेरो माइतिदेशमा चौतर्फी बिकास गर्ने स्थानीय सरकार जन्माईदेउ भगवान ढकमक्क्क फुलेर बसेको बिकास कार्यलाई विनाशतिर धकेल्ने सरकार होइन, ठूलो-ठूलो भाषण गर्ने नेता होइन सृजनशिल कार्य गर्ने राज्नेता जन्माइदिनुस भगवान । केटिएमको म्युजियम धेरै पटक अबलोकन गरे , धनगढीको पनि अबलोकन गर्नेछु माइत गएको मौकमा भन्ने मेरो धोको अपुरै रहयो ।
दीपकबहादुर खड्का
नेपालमै पहिलो म्युजियम बनाउन प्रेरणादायी भुमिका भयो , धनगढी शहर चिनियो हामिजस्ता लाई पर्यटन सिकाउनु भयो तपाईं लाई सम्मान दिन सक्ने हाम्रा कुनै शब्दहरु छैनन् । आगामि यात्राहरु सफलताको शिखरमा पुगुन ।
अविनाश थारु
जन्मभूमिलाई निस्वार्थ मनले तपाईको उपहार थियो, त्यो म्युजियम । तर, पाएको उपहार यो स्मार्ट धनगढीले जोगाउन सकेन । टुरिज्म विकासको फगत गफ दिने तर, भएको चिजपनि जोगाउन नसक्ने । हो यसरी नै हुने हो सुदूरपश्चिमको पर्यटन विकास । यहाँ पर्यटन विकासका लागि म्युजियम सबथोक थिएन, तर एक इँटा अवश्य थपिएको थियो ।
योगेश भण्डारी
आजभोलीका धेरै मानिस र बालबालिकाहरु पनि धनगढी र अन्य सहर बाट राजधानिमा आकासमा प्लेनको यात्रा गर्छन , बसको यात्रा बराबर को मूल्यमा ! अब नेपालका सहरहरु मा पाइलटको प्रशिक्षण दिने संस्था को सुरवात को समय आए जस्तो लाग्छ ! खेल्ने खेलौनाका रुपमा बच्चाहरु त्यो म्युजियममा जान्थे ,एक पटक अनुभव लिए पछि उत्साह रहन्थेन !




भीमबहादुर शाही
जन्मभूमिलाई निस्वार्थ मनले तपाईको उपहार थियो, त्यो म्युजियम तर आज हामीले त्यो उपहारको सम्बर्द्धन गर्न सकेनौ ।
प्रभाकर भण्डारी
एयरक्राफ्ट धनगढीबाट जानू , तपाईंको जस्तो निस्वार्थ ब्यक्तीको बिचारले ठाउँ नपाउनु,हामी धनगढीबासीको भाग्यमा ग्रहणनै लागेको हो !
मुटुमाथी ढुङ्गा राखी हास्नु पर्या छ!
भबिस्यमा सफलताको कामना गर्दै एयरक्राफ्ट लाई बाइ !
ओमप्रकाश भण्डारी
म पनि यो म्युजियमको पडौसी हूँ । पिलेन टूक्क्रा हूँदैगर्दा र ट्रकमा लोड हूदा मन गरूङगो गर्दै निशब्द भै हेरी रहे । मित्र क्याप्टन बेद संग अन्तीम पटक म्यूजियमको अबलोकन गर्दा दूख लाग्यो । धिक्कार छ प्रदेश तथा स्थानीय सरकार लाइ ।
टंक मुडवरी
यो सुदुरपश्चीमका लागी दुखद घटना हो, सुनेर मन पोल्यो, राज्यबाट उपेच्छित गरिएको सुदुर पश्चिमलाइ यो म्युजियमको माध्यमबाट पर्यटन प्रवर्द्धनमा विशेष टेवा पुर्याउँदै आएको र सुदुरपश्चिम लाई नेपाल भरि मात्र नभई बिदेसमा समेत चिनाउने प्रयास भैरहेको थियो , आज आएर यसलाई बचाउन नसक्नु धनगढीवासीका लागि लज्जाको कुरो हो ।
देवराज जोशी
सुदुर पश्चिममा सबकुछ छ,तर सोच छैन। राम्रा सोचलाई समर्थन दिने यहांँका जनता , नेता , प्रशासक कसैको संस्कारै छैन । यो म्युजियम यहाँबाट बाहिर जानु भनेकै समस्त सुदुरपश्चिमको दरिद्रताको परिचयात्मक नमुना हो ।
दीपकबहादुर खड्का
नेपालमै पहिलो म्युजियम बनाउन प्रेरणादायी भुमिका भयो, धनगढी सहर चिनियो । हामिजस्तालाई पर्यटन सिकाउनु भयो तपाईं लाई सम्मान दिन सक्ने हाम्रा कुनै शब्दहरु छैनन् ।
तीर्थराज पाण्डे
अति मननीय कुरा ! धनगढीवासीका लागि दुखद समाचार!!दाजुले धनगढीलाई फेरि पनि माया गर्नुहुनेछ र त्यो म्युजियम धनगढीमै हृष्टपुष्ट नयाँ जवानीका साथ फर्केर आउने आसामा हुनेछौं ।

राजेन्द्रबहादुर चन्द
विडम्बना भनौं वा के भनौं हामी आफुलाई सुन्दर सुदुरपश्चिमेलि भनाउदाहरु आफ्नो ठाउका लागि कहि कतै कसैले केही गर्न खोज्दै र गर्दै छ भने सबै भन्दा पहिले उसको बाटो रोक्ने छेक्ने कार्यमा तल्लीन हुने सोचका कारण आज सुदुरपश्चिमको धनगढी बाट नपालकै पहिलो एयरक्राफ्ट म्युजियम बिस्थापित भएको हो जस्तो लाग्दैछ । केही छैन क्याप्टेन बेद उप्रेती सर हाम्रो जीवन संघर्षको लागि बनेको हो संघर्ष गर्दै गईरहेका छौं र आगमि दिनमा पनि संघर्ष गर्दै जाउला चाहे त्यो म्युजियम स्थापनाका लागि होस वा मझगाउ बिमानस्थल पुनः निर्माणका लागि होस। समग्र सुदरपश्चिमको बिकास र पर्यापर्यटनमा यहाँले गर्नु भएको योगदानको बर्णन गर्न हामी संग शब्द नै छैन।
चेतन थापा
बिडम्बना हो तिन थरिका सरकार यहाँ छन तर समाजमा राम्रो काम गर्ने को उचित सम्मान हुदैन त्यसैले सबै पलायन हुन बाध्य छन्।
झलक पाली
निजी क्षेत्रको सुनौलो प्रयासलाई सरकारी तवरबाट सहयोग नमिल्दा उत्पन्न परिस्थितिले निकै भावुक बनायो ।
टंकराज पनेरु
दु:खद । तपाईं पवित्र नियत र मातृभुमी प्रतीको मायालाई बुझ्न सकेनन् सरकार संन्चालकहरुले।यो सुदुरपश्चिमको लागि लज्जाको विषय हो ।
मनोज गिरी
सुपको पर्यटन प्रवर्धनका लागि यो म्युजियम कोसेढुँगा थियो, जे खबर आयो दुखद आयो ।
शिवराज तिमिल्सिना
तपाईको बाध्यता पनि होला तर धनगढीबाट बाहिर जानू हुँदैन थियो। कसको सक्रियता पुगेन मनन् गर्नु जरुरी छ।
टेकराज पनेरु
धनगढीको एउटा सम्पत्ति गयो, पर्यटनमा ठूलो धक्का पुगेको छ । पर्यटन मन्त्रालय मूर्दावाद….।
योगेन्द्र केसी
कहिँ नसोचेको सफलता प्राप्त हुन्छ
कहिँ बिपरित … यो सबै क्षेत्रमा देखिन्छ .. धन्न स्थान्तरण योग्य छ ।
एचराज डोटेली
वुझ्ने लाई श्रीखण्ड नवुझ्ने खुर्पाको बिड भनेझैं एयरक्राफ्ट म्युजियमको महत्व धनगढी उपमहानगरपालिका जनप्रतिनिधि ले वुझ्न सकेनन्।
शेरबहादुर शाही
एयरक्राफ्ट म्युजियम को त के कुरा धनगढी उपमहानगरपालिका नजिक रहेकी त्यति सुन्दरि पार्कको त के हालत छ स्थानिय सरकारले ब्यबस्थित गरेर मनमहोक सुन्दरता दिने खालको बनाउन नसकेर कुनै एक जना ठेकेदारलाइ जिम्मा दिएर चराचुरुङ्गि, जनावर बस्ने जंगलमा परिणत गरेको देख्दा मेरो पनि सारै मन दुख्यो, त्यो पार्कको रुप हेर्दा कहिलेकाँही फेमेलि गएर बसेर रमाइला गफगाफ गराै भन्ने खालको छैन । यता उता जता हेर्नू अल्लारे जोडि मात्र तमासा गरेर बसेको देख्दा सारै मन खिन्न भयो र सम्झिए यो स्थानिय सरकार के हेरेर बसेको होला ? एयरक्राफ्ट धनगढीबाट लामो-लामो ट्रकमा लोड गरेर जाँदै गर्दा मार्कमोडमा बसेको थिए , मन चसक्क पनि भयो ।

थर्कबहादु शाही
अत्यन्त दुखद र पीडादायी । पर्यटन क्षेत्रमा सहयोग गर्न नसक्ने हामी र हाम्रो सोच ले कसरि बामे सरला। एउटा आकर्षक आज हरायो भोलि पनि हराउने र नयाँ पनि केही नहुने कुराले हामी लाइ नै घाटा हुदैं जान सक्छ।
ईश्वरराज पन्त
नेपालगन्जमै राम्रो चल्ने हो । यो एकदमै राम्रो काम हो । परिवर्तन संसारको नियम हो । अब धनगढीमा बनाउन हुँदैन । भविष्यमा अत्तरियामा राम्रो हुन्छ । अत्तरितापूर्वको क्षेत्र २० सालका लागि नि:शुल्क मिलाइदिनेछौं ।
रामदत्त मिश्र
नसोचेको घटना भयो, यसमा स्थानीय सरकार र प्रदेश सरकार चुकेको देख्छु । तपाईंको यो यात्रामा सरकारले साथ दिएको भए यो अवस्था आउने थिएन् ।
हरिकृष्ण खडायत
दु:खद् खबर ! स्ट्याटसको अन्त्यमा क्याप्टेनसाबले जुन भावी योजनाको सपना देखाउनु भो छिट्टै त्यो सपना पूर्ण भएको देख्न पाउँ, हामी धनगढीवासी साथमा छौं ।
प्रतिक्रिया