अलिखित कविता
रिमा केसी
२०७८ पुष १० गते ११:२५

तिमी कविता लेख भन्छौ
म मेरा आँसु लेख्छु,
हाँसो कोर्छु
मनलाई कागतीझैं निचोर्छु
दु:ख अनि पीडा उतार्छु
अक्षर रुपी धर्काहरुमा
हृदयलाई शब्दमा उल्था गर्छु
कहिले काहीँ हावाको झोंकाले ल्याएका
एक सर्को खुसी लेख्छु
मेरा मौनताहरुलाई चिर्दै
जीवनका सुस्केराहरुलाई
संवेदनाका स्वरहरुमा बगाउँछु
तर मलाई कविता लेख्न आएन
मेरा भाव कहिल्यै कविता भएनन
फूलको आँखामा फूलै संसार भने झैँ
फूल देख्छौ र मात्र तिमी मलाई
अनि मेरा कवितारुपी भावलाई
मेरा टुटे फुटेका शब्दलाई तिमी प्रेम गर्छौ
र मात्रै हो तिमीलाई मन परेको
तिमी लाइक गर्छौ
कमेन्ट गर्छौ
त्यो मेरो दिल भित्र सेभ हुन्छ सदाका लागि
मेरो मुटुको वालपेपरमा
कहिले डिलिट नहुने गरी…
अनि जानी नजानी
तिम्रै प्रेमिल लाइक र कमेन्टको लोभमा
आफूलाई शब्द बनाएर बगाइरहन्छु म सधैं
कविताको अवतारमा…
सम्बन्धित
प्रतिक्रिया