सोमबार, वैशाख ८, २०८२

कृष्णभूषण बल सिर्जना पुरस्कार ३ स्रष्टालाई !

नेपालखोज २०७८ पुष १३ गते १०:३९

काठमाडाैं । कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले २०७७ सालको तीन पुरस्कार सम्मानको घोषणा गरेको छ । प्रतिष्ठानले कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार कवि डा. विष्णुविभु घिमिरेलाई प्रदान गर्ने भएको छ । लामो समयदेखि नेपाली साहित्यको कविता विधामा दिएको योगदानका लागि उक्त पुरस्कार दिइने निर्णय गरिएको हो ।

पुरस्कार राशि २५ हजार छ । यस अघि यो पुरस्कारबाट साहित्यकारहरू जसराज किराँती, श्यामल, मन्जु काँचुली, बम देवान, नारायण तिवारी, गणेश रसिक र भागिरथी श्रेष्ठ पुरस्कृत भइसकेका छन् । यसै गरी २०७७ सालको कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान, कवि समालोचक डा. गीता त्रिपाठी तथा कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार कवि सगुन सुसारालाई प्रदान गरिने छ ।

नेपाली कविता, समालोचना विधामा दिएका योगदानका लागि त्रिपाठी लाई र कविता विधामा दिएका योगदानका लागि सुसारालाई उक्त पुरस्कार सम्मान प्रदान गरिने भएको हो । सो पुरस्कारबाट यस अघि कवि कविराज पोखरेल, सुदीप पाखरिन, निमेष निखिल पुरस्कृत भैसकेका छ्न् ।

सम्मान र पुरस्कारको राशि जनही क्रमशः पन्द्रह हजार र एघार हजार रुपैयाँ छ । प्रतिष्ठानका प्रमुख संरक्षक शोभा लामा बलको समुपस्थिति र प्रतिष्ठानका कार्यवाहक अध्यक्ष केशव आचार्यको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । पुरस्कार सम्मान आगामी माघ महिनामा विराटनगरमा समर्पण गरिने बताइएको छ ।

प्रतिक्रिया