राजा महेन्द्रको अमेरिका भ्रमण

अमेरिकी राष्ट्रपति लिन्डन बी जानसनको निमन्त्रणामा २०२४ सालमा अमेरिका पुगेका राजा महेन्द्रलाई ह्वाइट हाउसमा भव्य स्वागत गरिएको थियो । राजा महेन्द्र तथा रानी रत्नको यस भ्रमणमा अमेरिकामा अध्ययन गरिरहेका युवराज वीरेन्द्र पनि सम्मिलित भएका थिए । साथै उप प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कीर्तिनिधि विष्ट पनि यस भ्रमणमा सहभागी भएका थिए ।
एक महिना लामो अमेरिकी भ्रमणको समय अमेरिकी विभिन्न सहरलगायत उत्तर अमेरिकी अन्य देशको समेत भ्रमण गर्नुभएको थियो । नेपालमा राजाबाट स्थापित पञ्चायती ब्यबस्थाबाट राष्ट्रपति जोनसन समेत प्रभावित भएका थिए । भियतनाममा अमेरिकी उपस्थितिको विषयमा समेत राजाले बिशेष चासो राख्दै भियतनाममा जेनेभा सन्धिअनुरुप छिट्टै शान्ति आउने आशासमेत गरेका थिए । भ्रमणको समाप्तिमा राष्ट्रपति जोनसनले नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरेका थिए ।
राजाको फिर्तीपछि अमेरिकी उपराष्ट्रपति स्पाइरो एग्न्यू नेपालको बाइसघण्टे भ्रमणमा आएका थिए । देखावती रुपमा अमेरिकी उपराष्ट्रपतिको यो भ्रमण सौहाद्रपूर्ण थियो । साथै चन्द्रमामा लगिएको नेपालको झन्डा तथा चन्द्रमाको चट्टानको टुक्रा हस्तान्तरण गर्नु थियो । तर गोप्य रुपमा नेपालमा गाँजा प्रतिबन्ध गर्न लगाउनु थियो । अहिलेसम्म पनि नेपाल सरकारले गाँजालाई प्रतिबन्ध नै गरिरहेको छ तर कतिपय देशले यसलाई औषधिका रुपमा यसको खेती थालिसकेको छ ।
यस भ्रमणपछि अमेरिकी विदेशमन्त्री कोलिन पावेलले सन् २००२ को जनवरी १८ मा भ्रमण गरेका थिए । माओवादी द्वन्द्वको चरमउत्कर्षको समय भएको यस भ्रमण पनि कूटनीतिक दृष्टिकोणले समेत निकै विवादमा रहेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको समय माओवादीविरुद्ध राज्य लागिरहँदा हतियारको माग गरेको नेपालको कुनै सुनुवाइ नै नगरी प्रधानमन्त्री भ्रमणलाई समेत निजी भ्रमणको संज्ञा दिएर कुनै औपचारिकता नै राखेको थिएन । पावेलको भ्रमणपछि भने कुनै पनि अमेरिकी उच्च पदस्थ व्यक्तिको नेपाल भ्रमण भएको छैन ।
तस्बिरमा राजा महेन्द्रको ह्वाइट हाउसमा स्वागत गरिएको समयको हो । नेपालको झन्डासहित राखिएको द्वारको तल नेपाली भाषामै ‘स्वागतम् श्री ५ महाराजधिराज तथा श्री ५ बडामहारानी’ लेखिएको ब्यानर पनि झुन्ड्याइएको छ । राजा सवारी भएको कारमा नेपाल तथा अमेरिकी झन्डा राखिएको छ भने पर्याप्त सुरक्षाको प्रबन्ध पनि गरिएको छ । यो फोटो लाइफ पत्रिकाका प्रसिद्ध फोटोग्राफर फ्रान्सिस मिलरले खिचेका थिए ।

प्रतिक्रिया