मंगलबार, वैशाख ९, २०८२

‘पद धारण गर्दैमा सबैले सलामी पाउँदैनन्’

महेशविक्रम शाह २०७८ पुष २४ गते १३:४३

आजकल सामाजिक सन्जालमा माननीय मन्त्री रामकुमारी झाँक्रीले तुलले छोपिएको पिर्कामाथि उभिएर सलामी खाइरहेको दृष्यमाथि व्यापक टिकाटिप्पणी भइरहेको छ । मेरो विचारमा सेना वा प्रहरीले अर्पण गर्ने सलामीमा धेरैजसोमा भ्रम रहेको पाइएको छ । सेना वा प्रहरीले दिने सशस्त्र सलामी कुनै व्यक्ति विशेषलाई नदिएर उसले धारण गरेको पदलाई दिइने हो । पद धारण गर्दैमा पनि सबैले सलामी पाउँदैनन् । कुनै संस्थाको निर्देशक वा महाप्रबन्धकको सशस्त्र सलामी खाने हैसियत हुँदैन ।

सेना वा प्रहरीको सशस्त्र टुकडीले सलामी दिँदा सलामी ग्रहण गर्नका लागि विशेष सलामी मञ्च बनाइएको हुन्छ । सलामी मञ्च नभएको अवस्थामा इँटाले चिनेर वा काठको फल्याक राखेर भए पनि सलामी मञ्च तयार गरिएको हुन्छ । त्यो मञ्चलाई रातो कपडाले छोप्ने परम्परा छ । सलामी लिने व्यक्ति उभिएको सतह सलामी दिने समूह उभिएको सतहभन्दा उँचो हुनुपर्छ भन्ने मान्यता छ । त्यसैकारणले नै हामी सलाम खाइरहेको व्यक्तिलाई उँचो सतहमा उभिएको देख्छौं । सलामी दिनेले जहाँ उभ्याइदियो सलामी लिने व्यक्ति त्यहीँ उभिने हो । उसले आफ्नो मनले सलामी मञ्चको दाबी गर्ने होइन ।

पिर्के सलामीप्रति मन्त्री झाँक्रीको स्पष्टीकरण- यो कुनै आलोचना गर्ने विषय  नै हैन | sarlahiexpress.com

कहिलेकाही उट्पट्याङ खालका सलामी मञ्चहरु (जस्तो : खाट, गाडी, टेबुल, कुर्सी) मा उभिएर सलामी खाइरहेको पनि हामीले देखेका छौँ । यी सलामी मञ्चहरु भने सेना र प्रहरीका परम्परा र मान्यताविपरीत हुन् । यसमा सलामी खाने व्यक्तिको भन्दा त्यस्तो मञ्च तयार गर्ने व्यक्ति वा संस्था दोषी हुन्छ । माननीय रामकुमारी झाँक्रीको हैसियत सेना र प्रहरीको सशस्त्र टुकडीको सलामी ग्रहण गर्ने हैसियत हो । उहाँलाई नेपाल प्रहरीको सशस्त्र टुकडीले सलामी दिइरहेको छ । यो त एक गरिमामय स्वाभाविक प्रक्रिया हो, परम्परा हो, मान्यता हो ।

जिल्ला भ्रमणमा आएका मन्त्रीलाई जिल्ला प्रहरी कार्यालयको प्रहरीले सलामी अर्पण गर्नु प्रहरीको दायित्व हो भने राज्यको प्रहरीले मन्त्रीको सम्मानमा सलामी अर्पण गर्ने कार्यक्रम राख्दा मन्त्रीले सलामी ग्रहण गर्नु भनेको राज्यको सम्मानित पदप्रति दर्शाइएको सम्मानप्रति आदर गर्नु हो । यो संस्कार हो, सभ्यता हो । कुनै पनि मन्त्रीले मलाई सलामी खाने मन छ, सलामी देऊ भनेर भन्दैन । सलामी सम्बन्धमा कसैलाई भ्रम छ भने हटोस् ।
(नेपाल प्रहरीका पूर्ववरिष्ठ अधिकारी शाहको फेसबुक बालबाट )

प्रतिक्रिया