आइतबार, वैशाख ७, २०८२

‘अब पारपाचुकेसँगै घरपालुवा जनावरको हक पनि टुंग्याउनुपर्ने’

नेपालखोज २०७८ पुष २८ गते १८:०२

काठमाडौं । स्पेनमा दम्पतिको पारपाचुके वा सम्बन्धविच्छेद गराउँदा अब अदालतले उनीहरुले पालेको घरपालुवा जनावरको कल्याणलाई पनि ध्यानमा राख्नुपर्नेछ । स्पेनभन्दा पहिले फ्रान्स र पोर्चुगलमा यस्तै कानुनी व्यवस्था लागु भइसकेको छ ।

यो नयाँ कानुनले स्पेनका न्यायाधीशहरुलाई दम्पतिको स्वामित्वमा रहेका घरपालुवा जनावरलाई संवेदनशील प्राणीका रूपमा मान्न बाध्य तुल्याउँछ । यो कानुन निर्माण हुनुपहिले पनि यस किसिमको व्यवहार त्यहाँ चलनचल्तीमा चाहिँ थियो ।

स्पेनकी अधिवक्ता लोला गार्सिया भन्छिन्, ‘जनावरहरु परिवारका अभिन्न अंग हुन् । जब दुई साथी वा जोडी अलग हुने निर्णयमा पुग्छन् तब परिवारक‍ो अन्य हिस्साको जस्तै घरेलु जनावरको अधिकारको पनि ख्याल गरिनुपर्छ ।’

गएको अक्टोबरमा म्याड्रिडमा एक न्यायाधीशले यस्तै मुद्दामा एक कुकुरको संयुक्त हेरचारको पक्षमा फैसला सुनाएका थिए । अब अलग भएपछि ती अविवाहित जोडीले आफूहरुले पालेको कुकुर पालैपालो गरी एक-एक महिना साथ राख्नुपर्नेछ । अदालतका अनुसार उनीहरु दुवैजनाले त्यो कुकुरका प्रति कानुनी रूपमा संयुक्त रुपमा जिम्मेवारी लिनुपर्छ ।

गार्सिया यसलाई कानुनी सुधारको एउटा प्रमुख र पहिलो कदम मान्छिन् जसले आउने दिनहरुमा जानवर र मानिसबीचको सम्बन्धमा ठूलो परिवर्तन ल्याउनेछ ।

युरोपीय देश स्पेनमा पालतु जनावरको स्वामित्व एउटा ठूलो समस्याका रुपमा छ । त्यहाँको गठबन्धन सरकार भविष्यमा यस विषयमा थप कानुन बनाउन चाहन्छ जसले वन्यजीवसमेत घरपालुवा जानवरहरुको अधिकारको रक्षा गर्न सकोस् । स्पेनी सरकार सर्कस तथा पसलमा हुने जनावरको खरिद-बिक्री पनि बन्द गर्न चाहन्छ । यद्यपि स्पेनमा जनावरको अधिकारका विषयमा सबैको समान विचार भने छैन । खासगरी बुलफाइटिङलाई लिएर पशु अधिकारवादी र यो परम्परालाई निरन्तरता दिन चाहनेहरुबीच ठूलो मतभेद छ ।

गार्सिया भन्छिन्, ‘पारपाचुके लिँदा त्यो जोडीका सन्तानसँगै उनीहरुले पालेका जनावरको भविष्य तथा स्वामित्व पनि महत्त्वपूर्ण हुनपुग्छ । म्याड्रिडस्थित मनोविज्ञ रोड्रिगो क्यास्टोविलोस भन्छिन्, ‘बालबालिकाहरु घरका पालतु जनावरसँग नजिक हुन्छन् । दम्पतिबीच पारपाचुके हुँदा ती जनावरबाट अलग्गिँदा घरका बालबालिकाको मनमा भावनात्मक प्रभाव पर्न सक्छ ।’
-रोयटर्स

प्रतिक्रिया