बुद्धको मृत्यु

विवश पोखरेलका ५ छोटा कविता
१. फरक अनुभूति
तुलसीमठमा छु,
आफन्तहरू आउँछन् र रुँगेर जान्छन्
जीवित छु वा मृत
गिद्धहरू आउँछन् र सुँघेर जान्छन्
जिन्दगी अचेल बोटमा पाकेको अम्बा जस्तै छ
साला ! चमेराहरू आउँछन् र ठुँगेर जान्छन् ।
२. असहज अनुभूति
सीधै कुरा बोल्छु भन्छु
सधैँ बांगो बोलेको बात लाग्छ
फूलहरूको कोमल बस्तीमा
काँडैकाँडा हात लाग्छ
तिमी मायाको छाताले छेक्छु भन्छ्यौ
असम्भव छ
अचेल आफ्नै आँखाको आँसु पनि
निथ्रुक्क भिजाउने बर्सात लाग्छ ।
३. नियति
मलाई काटेर लगेपछि
मेरा बोक्राहरू दाउरा बने
गुदीहरू कुर्सी
लामो समयसम्म कुर्सीमा
सुखसयल भोगिरहेका बेला
कुर्सी युद्धमा
कुर्सीकै चोटले दिवंगत भएपछि
सत्तामोहको लिसोमा टाँसिएको
बिचरो मान्छे
आज मेरै बोक्रामा जलिरहेछ !
४ . बुद्धको मृत्यु
टाढा छु- धेरै टाढा
चाहेर पनि भेट्न सक्दिनँ म
सम्भावनाको क्षितिज
तर्न सक्दिनँ
जीवनका अफ्ठ्यारा साँघु ।
ढिकुरोभित्र छु आशौचको
अँध्यारिएको छ लुम्बिनी
आँखामा मात्र
सपनाहरू तैरिरहेछन् शान्तिको
जुन दिन तिमीले इमानको अस्तुलाई
बेइमानीको घाटमा विसर्जन गऱ्यौ
त्यसै दिन भएको छ
मभित्रको बुद्धको मृत्यु ।
५ . स्मृति दंश
सुखमा सहर सम्झिन्छन्
दु:खमा गाउँ सम्झिन्छन्
तिम्रा सन्तानको स्वभाव नै यस्तो –
संकटमा तिम्रो नाउँ सम्झिन्छन्
तिमी अगाध मायैमाया मिसिएको
एउटा कोमल मुटु हौ आमा !
जब आँखा आँसुले रुझ्छ
तिम्रा बचेराहरू
अतीत गाँसिएको ठाउँ सम्झिन्छन्।
विराटनगर
प्रतिक्रिया