कोभिडबाट श्वास फेर्न गाह्रो भए…

१. थर्ममिटरले तापक्रम नापिरहनुहोला । ९८-९९ फरेनहाइटसम्म व्यक्तिअनुसार नर्मल तापक्रम हो । १०० पुग्यो भने पारासिटामोल खानुहोला । शरीर दुखेमा र टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ ।
२. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला । यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला । यसलाई प्रोन पोजिसन भनिन्छ । पेटमा दुईवटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलीगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला । यसले फोक्सोको क्षमता बढाउँछ । यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ ।
३. भिटामिन सी दुईपटक, जिंक दुईपटक, भिटामिन डी साताको एकपटक खानुहोला । आवश्यकताअनुसार पारासिटामोल, कफ सिरप र ट्याब्लेट खान सकिन्छ ।
४. अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोला । यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनियाँ गराउँछ । तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसँग जाँच गराउनुहोला । छातीको एक्स-रे वा सिटी स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि ( एन्टिभाइरल र एन्टिबायोटिक ) खानुपर्ने हुन्छ। कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ ।
५. जाँच नगरी घरमा अक्सिजन दिएर नबस्नुहोला । अक्सिजनले रोग निको गर्दैन । चिकित्सकको सिफारिसअनुसारको औषधिले मात्र निमोनियाँ वा अन्य अवस्था ठीक हुन्छ । अक्सिजन उपचार होइन । धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्यामेज भएको अवस्था पनि छ ।
६. एक रातमै अवस्था क्रिटिकल हुनसक्छ । तसर्थ गाह्रो हुँदाहुँदै भोलि अस्पताल जान्छु नभन्नुहोला । अस्पताल प्याक भए पनि त्यहाँ तपाईंले कुनै न कुनै उपचार पाउनुहुन्छ ।
७. अप्रमाणित औषधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औषधि खाएर समय एवं स्वास्थ्य नष्ट नगर्नुहोला । प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन । यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ ।
८. मरिच, बेसार,अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, जेठीमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोला ।
९. घरमा एकजना संक्रमित भए सबैको परीक्षण गराउनुहोला । यसपटकको प्रजाति निकै संक्रामक छ ।
१०. घरको खानाको अतिरिक्त फलफूल, दूध, गेडागुडी, अन्डा, सुप आदि प्रशस्त खानुहोला ।
११. पानीको बाफ लिँदा आराम हुन्छ ।
१२. रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ र कोल्ड ड्रिंक्स सेवन नगर्नुहोला ।
१३. हल्का व्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला ।
१४. आफ्नो मानसिक अवस्थालाई सुदृढ एवं सबल राखुहोला, नआत्तिनुहोला ।
१५. दिनमा १ र २ पटक मात्र समाचार हेर्नुहोला । सामाजिक सन्जाल नहेर्नुहोला । अनधिकृत समाचारले तनाव बढाउँछ ।
१६. गाह्रो भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स मगाउनुहोला ।
प्रतिक्रिया