दुई गजल
कमल संघर्ष
२०७८ माघ १५ गते ७:०७

१.
सफर गरेर आयो
निस्किरह्यो सफरमा सफर गरेर आयो
एक फकिर पलभरमा सफर गरेर आयो
आत्मविश्वासले रहेछ बाँच्न सिकाउने
हेर त माछा बगरमा सफर गरेर आयो
आज मनमा बस्ने अनुमति माग्दैछ ईस्वर
हिजोसम्म पथ्थरमा सफर गरेर आयो
हिलोमा सडक बनेर फूलिरहेछ कमल
लाग्ला तिम्रो नजरमा सफर गरेर आयो ।
२.
ठीक छ भन्नु पर्छ
समय परिवर्तनको नजिक छ भन्नु पर्छ
कुरुक्षेत्रमा गएर कलम बिक्छ भन्नु पर्छ
घरि घरको पिर लाग्छ, घरि देशको चिन्ता
के छ ? भनि सोध्छौ तिमी ठिक छ भन्नु पर्छ
हरेकपटक मौनताले जवाफ फर्काउँछौ
मैले पनि मेरो मान्छे सालिक छ भन्नुपर्छ
हिटलरहरु रकम तिर्दै नियालेर जान्छन्
यो देशमा बुद्धसमेत श्रमिक छ भन्नुपर्छ
फुटपातमा लगेर जिन्दगी बेच्नेहरुले पनि
मजबुत छ, भरपर्दो छ, टिक्छ भन्नु पर्छ ।
सम्बन्धित
प्रतिक्रिया