बिहीबार, वैशाख ११, २०८२

बलेफी हाइड्रोको १८ लाख कित्ता आईपीओ आउँदै

नेपालखोज २०७८ माघ २० गते १८:०७

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ आउने भएको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर (आईपीओ) माघ २७ गतेदेखि निष्कासन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन गर्न लागेको हो । निष्कासन गरिने कुल सेयरमध्ये ६० प्रतिशत अर्थात् १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकको जुगर गाउँपालिका वडा २, ३, ४ का बासिन्दाका लागि र बाँकी ४० प्रतिशत अर्थात सात लाख ३१ हजार १८८ कित्ता जुगल गाउँपालिका वडा ५ र ७, बलेफी गाउँपालिकाको वडा १, ३, ६ तथा ७ र सुनकोसी गाउँपालिकाको वडा ७ का बासिन्दाका लागि निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ ।

निष्कासन बन्द छिटोमा फागुन १२ गते हुनेछ भने ढिलोमा फागुन २७ गते हुनेछ । आईपीओमा कुमारी बैंकको जलविरे शाखा, एनसीसी बैंकको बाँडे शाखा, ग्लोबल आईएमई बैंकको चौतारा शाखा, लक्ष्मी बैंकको चौतारा र खाडीचौर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले हाल जुगलको बलेफी खोलामा ३६ मेगावाट क्षमताको बलेफी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कुल अनुमानित लागत सात अर्ब ६५ करोड रुपैयाँ हुने जनाएको छ ।

प्रतिक्रिया