युरिक एसिड बढ्दा खान नहुने कुरा…

रगतमा युरिक एसिड बढेर हुने जोर्नी समस्यालाई गौट-बाथरोग भनिन्छ । खानपान र जीवनशैलीसँग सम्बन्धित रोग भएकाले उचित निदान र रोगको प्रकृति, विकृति र रोगोस्थितिको उचित आकलनपश्चात् खानपान सुधार र जीवनशैली परिवर्तन गरेर यो रोगबाट पूर्ण मुक्ति पाउन सकिन्छ । त्यसमा पनि विशेषतः यो रोगमा पथ्य-अपथ्य (के खाने, के नखाने ?) को उचित व्यवस्थापन नि:तान्त आवश्यक छ । जसका लागि यहाँ दिइएका केही सुझाव लाभकारी हुन सक्छन् ।
रगतमा युरिक एसिडको मात्रा बढ्नुमा प्युरिन न्युक्लिक एसिडयुक्त खाद्यान्नहरूको मूख्य भूमिका छ । युरिक एसिडको, प्युरिन न्युक्लिक एसिड उपपाचन (मेटाबोलिजम्) को अन्तिम उत्पादन हो । रगतमा युरिक एसिडको मात्रा प्युरिन न्युक्लिक एसिडको उपपाचनमा आएको गडबडीको कारणले वा बनेको युरिक एसिड युरियामा परिवर्तन भएर पिसाबबाट बाहिर जान नसक्नाले बढ्छ । यस्तो अवस्थामा प्युरिन न्युक्लिक एसिडयुक्त खाने कुराहरू पहरेज गरी, बनेको युरिक एसिडलाई पिसाबमार्फत बगाएर लैजाने र युरिक एसिडका कारणले हुने प्रदाहत्मक क्रियालाई समन गर्न सघाउने खालका खानेकुराहरू खान आवश्यक छ ।
१. युरिक एसिड बढेकाहरुले रातो मासु, फल मासु, ठूला जनावरका मासु, हासको मासु, टर्कीको मासु, मुटु, कलेजो मिर्गौला र गिदीजस्ता भित्री अंगको मासु खान हुँदैन । रातो मासु र भित्री मासुमा प्युरिन न्युक्लिक अम्लको मात्रा ज्यादा हुने भएकाले यी पदार्थको सेवनले युरिक एसिडको मात्रा बढ्छ ।
२. समुद्री खाद्यान्न विशेषगरी झिँगे माछा, प्राउन, लोवस्टोर, ट्युना, एन्कोभिज प्रजातिका माछाहरु र अन्य समुद्री वनस्पतिहरुबाट निर्मित खानेकुराहरुमा प्युरिन न्युक्लिक अम्लको मात्रा बढी भएकाले युरिक एसिड बढ्दा राम्रो मानिँदैन ।
३. मदिरा : युरिक एसिड बढ्दा रक्सी, ब्रान्डी, ह्विस्की, रमजस्ता अल्कोहोलिक पेय सेवन सर्वथा वर्जित छ । मदिराजन्य पेयले शरीरमा युरिक एसिडको मात्र बढाउनुका साथै शरीरमा बनेको युरिक एसिडलाई पिसाबबाट उत्सर्जन हुन पनि रोक्छ ।
४. कोल्ड ड्रिंस : कोकाकोला, पेप्सीकोला, स्प्राइट, फ्यान्टा, मिरिन्डाजस्ता कार्बोनेटेड र मधुराकृत पेयहरुले युरिक एसिडलाई बढाउँछ । फ्रुक्टोज-स्विटन्ड-ड्रिंस मह पानी, सोडापानी पनि युरिक एसिडका लागि राम्रो होइन । यी पेयहरुमा प्रचुर मात्रामा फ्रुक्टोज पाइन्छ । फ्रुक्टोजले एटीपीलाई एएमपीमा तोडेर युरिक एसिडको उत्पादनलाई बढावा दिन्छ ।
५. दाल-गेडागुडी : दाल तथा गेडागुडीमा प्रशस्त मात्रामा प्युरिन न्युक्लिक अम्ल पाइन्छ । यो अम्ल उपयोगपश्चात शरीरमा प्रशस्त युरिक एसिड बन्छ ।
६. कुरिलो, फूलगोभी, बन्दागोभी, पालुंगो, च्याउ र गोलभेंडा जस्ता सागपातमा अन्य सागपातमा भन्दा धेरै प्युरिन पाइन्छ । यसका अलावा यी फलफूल र तरकारीमा आक्जलेटको मात्रा पनि ज्यादा पाइन्छ ।
७. जंकफुड : जंकफुड तथा बेकरी उत्पादनमा सेचुरेटेड फ्याट धेरै हुन्छ । यसका अलावा जंकफुडमा हालिएको प्रिजरभेटिभले पनि रगतमा युरिक एसिडको मात्रालाई बढाउन र गौट बाथको विकृततालाई बढाई समस्या ल्याउन सक्छ । जंकफुड ज्यादा खादा तौल बढ्न गई युरिक एसिड बढ्ने समस्या आउँछ ।
८. अचार (पुरानो) तामा, गुन्द्रुक-सिन्की पनि राम्रो होइन ।

डा. हेमराज कोइराला
डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।
प्रतिक्रिया