मंगलबार, वैशाख ९, २०८२

मेरो अवकाशको जीवन !

कर्ण शाक्य २०७८ माघ २६ गते १४:४०

‘अवकाश’ जीवनको अन्तिम यात्रा हैन, भगवानको वरदान हो, सुन्दर शीतल शान्त सन्ध्याकालीन ज़िन्दगीको सुरूवात हो । अवकाश मृत्यु पर्खेर बस्ने प्रतीक्षालय हैन, बोनसको जीवन रमाउने दबली हो । आर्थिक, पारिवारिक, शारीरिक समस्या आइरहन्छन् जीवनमा । तर मलाई लाग्छ, ‘जीवन यस्तै हो’ भन्ने यथार्थ बुझेर स्वीकारेर चिन्ताको व्यवस्थापन गर्नु हाम्रो आवश्यकता हो ।

अधिकांश मानिस घडी हेर्न नपरेपछि; बिदा छुट्टी लिन नपरे पछि; परिवारको बोझ बोक्न नपरे पछि; ६० को उमेरमा अवकाश लिने गर्छ । मेरो हकमा म ६० वर्ष पुगेपछि संयुक्त परिवार छुटेको हुँदा KGH होटेल समूह सुरु गर्दा गर्दै ७५ वर्षको उमेरमा मात्र शान्तिघट महाविहारमा क्षत्राभिषेक दिन अवकाश लिने मौका पाएँ ।अवकाश यसरी बिताइरहेकोछु ।

-सहरको नजिक रानीबनसँगै घर छ । त्यसैले प्रकृतिको काखमा बस्न पाइरहेकोछु । अक्सिजन प्रसस्त छ, अनेक चराचुरुंगी बगैंचामा आएर गीत गाइरहन्छ ।

-बच्चैदेखि भित्तामा खुट्टा पसारेर सुत्ने बानी भएकाले भित्तामा खाट सटाएर राखेको छु । सुत्ने कोठा सानै भए पनी फिल्म हेर्ने सोख भएकाले ठूलै टीभी राखेको छु ।

-इन्टरनेट प्रविधि सिकेको छु । आइफोन आइप्याडलाई खेलौना बनाएको छु । खुब प्रयोग गर्छु । महँगो छैन । नवीनतम विचारहरू फेसबुकमा पोखिरहन्छु । युवाहरूसँग अन्तक्रिया गरिरहन्छु । समय बितेको चालै पाउँदैनँ ।

-बिहान चाँडै उठ्छु । पहिले योग गर्छु । अनि ध्यान । पछि मन्त्र, भजन, सुन्छु । सर्वांग सिमलको भुवाजस्तै हुलुंगो हुन्छु । कहिलेकाहीँ बुद्ध, सतगुरु, ओशो र विकाशानन्दको प्रवचन सुन्छु । कहिले भावुक भक्ति-संगीत सुनेर खुसीको आँसु झार्छु । मन शीतल हुन्छ । राति सुत्न नसक्ला भनेर दिउँसो सुत्ने बानी गरेको छैन ।

  • निर्भय जीवन बाँच्ने कोशिसमा मृत्यवरणको ज्ञान ग्रहण र श्रवण गर्न शवाशनमा सुतेर योगनिद्रामा चेतना स्पन्धन गर्दै प्राणलाई तारामण्डल लगेर ब्रम्हाण्डको Blackhole मा हराउने प्रयास गर्छु।सुन्दा होला र ? जस्तो लाग्छ, तर हुन्छ, मैले अनुभव गरेकोछु।

-हिँड्न अल्छी लाग्छ । बाहिर जान्नँ, घरैमा हिँड्छु । सोफा देख्नासाथ थचक्कै बस्न मन लाग्छ । बिहान-बेलुका इयरफोनमा हनुमान चालिसा भजन सुनेर दिनमा अन्दाजी ४००० स्टेप बगैंचामा हिँड्छु ।

-सोच्ने लेख्ने बानी छ । आँखाका कारण पढ्न सक्तैन । दिनभर सामाजिक सन्जालमा मज्जाले खेलिरहन्छु । खबर हेर्छु, सुन्छु, रिसाउँछु कहिलेकाहीँ नेता र युट्युबेहरुलाई मुखै छाडेर गाली गर्छु । यद्यपि रिसाउनुभन्दा पहिले एकचोटि अरूको ऑंखाबाट हेरेर रिस राग, लोभ, ईर्श्या जलन मन्थर गर्ने कोसिस गर्छु ।

-Intermittent Diet गर्दै छु । बिहान ९ बजे हेबी ब्रेकफास्ट लिन्छु । लन्च कम खान्छु । मासु त्यत्ति मन पर्दैन । सकेसम्म माटोमा उम्रने र माटैमा मिसिने तरकारी खान्छु । कहिलेकाहीँ स्वाद बदल्न अनलाइनबाट खानाका परिकार मगाएर खान्छु । ६ बजेअगाडि हल्का डिनर खाइसक्छु । ड्रिंक गर्दिनँ ।

-धेरैजसो म धरैमै बस्छु । पार्टीमा त्यति जान्नँ । घरमा कुनै पार्टी पनि गर्दैन । कुरा मिल्ने साथीहरूसँग घरैमा आफूले पकाएर ख्वाउँछु ।

-पहिले साथी नभईकन नहुने ! आजकाल समकालीन साथीहरू बाहिर जाँदैनन् । म पनि जान्नँ । त्यलैले आफूले आफैंलाई साथी बनाउने कोसिस गर्छु । एकान्तमा एक्लै रमाउने र मौनताको मनभित्र आनन्द खोज्ने प्रयास गर्छु । हितैषीहरू घरमा आइरहन्छन्, उनीहरूसँग चिया खाएर भोगाइ अनुभव साटिरहन्छु ।

-व्यापार केही हेर्दिनँ । होटेलहरूमा कहिलेकाहीँ रमाउन जान्छु । रेखदेख केही गर्दिनँ । छोराछोरीसँगै छन् तर खाने लाउने व्यवस्था अलग मिलाएको छ । छोराछोरीको आफ्नै विचार छ । म React गर्दैन । बाटो देखाउने मेरो काम हो, destiny उनीहरूकै हातमा छ। बिस्तारै पारिवारिक मायामोहको जाल बाट detach हुन कोसिस गरिरहेको छु । यद्यपि बिहान उठ्ना साथ सबभन्दा पहिले छोराछोरीकै लागि भगवानसँग प्रार्थना गरिरहन्छु ।

-सुगर छ, प्रेसर छ तर सबै कन्ट्रोलमा छ। पहिले Body weight ९४ केजी थियो अहिले ८६ केजी छ । हात-खुट्टा, कुर्कुच्चा, जोर्नी, ढाड आदि दुखिरहन्छ तर आफैं निको पनि भइरहन्छ । सायद यो उमेरको कारणले हो । पहिले-पहिले बानी पर्ला भनेर पेनकिलर खाँदैनथें । अहिले जिउ कतै दुख्यो भने नदुख्ने औषधि खाई हाल्छु ।

-डिमेन्सिया नहोस् भनेर मनलाई सधैं क्रियाशील राखिरहन्छु । बुढ्यौली कर्कस बिस्मृती Senile नहोस् भनेर मानसिक सन्तुलनमा निरन्तर ध्यान दिइरहन्छु ।

-जीवनपछि जीवन छ/ छैन भन्ने विषयमा म तर्क-वितर्क गर्दैन ।आस्थालाई स्वीकारेको छु । अब मलाई अर्को जुनीमा होइन, यही जुनीमा अरूहरूको मनमा बाँच्ने रहर छ । त्यसैले ऊर्जावान् युवाहरूसँग म सकारात्मक सोच समूहमा जोडिएको छु । जीवनमा म धेरै अभियानमा लागें, अब यो सकारात्मक सोच अभियान मेरो जीवनको सबभन्दा महत्त्वपूर्ण, अर्थपूर्ण र सायद अन्तिम अभियान हुनेछ । यो अभियानलाई धेरैले साथ दिरहेका छन् । यो मेरो सौभाग्य हो ।

प्रतिक्रिया