भ्यालेन्टाइनको सन्देश
सुनील सापकोटा
२०७८ माघ २७ गते ८:०१

बिर्सियौ होला शायद
धेरै वर्ष अगाडी तिमिले
एउटा प्रेम-पत्र लेखेकी थियौ
त्यसलाई अझै मैले
सम्हालेर राखेको छु
तिम्रो याद आउँछ जब जब
थोत्रो बन्द दराज बाट
त्यो झिकेर पढ्छु
अनि पुग्छु ती
पुराना स्थलहरुमा
जहाँ तिमी र मैले
घन्टौं बिताएका थियौ
आज त्यो प्रेम-पत्रको
कागज झुत्रो भइसक्यो
ठाउँ-ठाउँमा कीराले
प्वाल पारी सक्यो
अक्षरहरुका मसी
उड्न लागि सक्यो
सेतो कागज पनि
कालो भइसक्यो
हिजोआज
भेलेन्टाइन सप्ताह अरे
फेरि तिमीलाई
आज सदा झैं सम्झिए
आज गुलाब त
दिन सक्तिनँ म
तर त्यस्को सुगन्ध
हावा बाट पठाउँदै छु
त्योचाहिँ लिन न बिर्सनु है
प्रिये…।
सम्बन्धित
प्रतिक्रिया