नेप्से २८०१ अंकमा, सातामा २४ अर्ब ४४ करोडको सेयर किनबेच

काठमाडौं । लगानीकर्ताहरूका लागि यो साता पनि नेप्से खासै सुखद देखिएन । नेप्सेको नियमित कारोबार कक्ष पाँच दिन नै खुला रहे पनि यो साता लगातार चार कार्य दिन नेप्से सूचक एवं कारोबार रकम दुवै ओरालो लागेका छन् ।
दोस्रो कार्य दिन मात्र नेप्से उकालो लागेको थियो । सोही आधारमा लगानीकर्ताका लागि नेप्से यो साता खासै सुखद नदेखिएको हो । जसअनुसार यो साता नेप्से दुई हजार आठ सय एक दशमलव ५६ अंकमा पुगेर रोकिँदा सेन्सिटिभ इन्डेक्स पनि पाँच सय २७ दशमलव २८ अंकमा पुगेर रोकिएको छ ।
सातामा दुई सय ३० वटा कम्पनीको तीन लाख चार हजार सात सय ६२ पटकको कारोबारमा चार करोड ५६ लाख ८१ हजार पाँच सय ५१ कित्ता सेयर किनबेच भएका छन् । जसबाट यो साता कुल कारोबार रकम २४ अर्ब ४४ करोड ६३ लाख दुई हजार दुई सय आठ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको भन्दा दुई अर्ब रुपैयाँले कम हो ।
गत साता भने नेप्सेमा दुई सय ३१ कम्पनीको तीन लाख ४० हजार ६ सय ७० पटकको कारोबारमा पाँच करोड दुई लाख नौ हजार चार सय १९ कित्ता सेयर किनबेच भएको थियो । सोही आधारमा उक्त साता कुल कारोबार रकम २६ अर्ब ६६ करोड ५४ लाख ६८ हजार दुई सय १७ रुपैयाँ पुगेको थियो ।
नेप्सेको नियमित कारोबार कक्ष यो साता पाँच कार्य दिन नै खुला रहेकामा पहिलो, तेस्रो, चौथो र पाँचौं कार्य नेप्से लगातार घटेको थियो भने दोस्रो कार्य दिन नेप्से बढेको थियो । सोही आधारमा पहिलो ४० दशमलव ५७ अंकले घटेर दुई हजार आठ सय ३६ दशमलव १७ अंकमा खुम्चिएको नेप्से अन्तिम कारोबार दिन पनि ११ दशमलव ९६ अंकले घटेर दुई हजार आठ सय एक दशमलव ५६ अंकमा सीमित हुन पुगेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो कारोबार दिन सात दशमलव ७३ अंकले घटेर पाँच सय ३१ दशमलव ९२ सीमित भएकामा अन्तिम कारोबार दिन पनि एक दशमलव सात अंकले घटेर पाँच सय २७ दशमलव २८ अंकमा खुम्चिन पुगेको छ ।
यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेसनल हाइड्रो पावर कम्पनी, अरुण भ्याली हाइड्रो पावर कम्पनी, नेपाल टेलिकम आदि अगाडि परेका छन् । सेयर कारोबार भएको संख्याको आधारमा भने नेपाल टेलिकम, नेसनल हाइड्रो पावर कम्पनी, नबिल बैंक, आदि अगाडि परेका छन् । बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।
प्रतिक्रिया