मंगलबार, वैशाख ९, २०८२

प्रोमिस डे : प्रेममा वाचा-बन्धन !

सुनील सापकोटा २०७८ माघ २८ गते १८:०५

‘भ्यालेन्टाइन सप्ताह’ अन्तर्गत आज ‘प्रोमिस डे’ । हुन त यो हाम्रो संस्कृति होइन । तर अचेलका केही सहरिया आधुनिक भनाउँदा फेसनेबल युवा-युवतीहरुले यो आयातित अङ्ग्रेजी संस्कृतिलाई मनाएको देख्छु । यो हाम्रो संस्कृति नभए पनि सबैलाई प्रेम गर्ने कामचाहिँ राम्रै काम हो ।

प्रेम र सत्ता वाचाको जगको विश्वासमा अडेको हुन्छ । तर गजबको कुरा के छ भने यही दुई क्षेत्रमा वाचाहरु बढी तोडिएको देखिन्छ अचेल । आजको दिन दुनियाँभरिका प्रेमीहरु र प्रेमिकाहरुले एक-अर्कालाई मनाउन म तिमीले भनेको सबै कुराहरु मान्छु भनेर विभिन्न वाचा गरी विश्वास दिलाउने कोसिस गरेका हुन्छन् । तर यदि तिनीहरुबीच विवाह भइहाल्यो भने पनि नुनतेल र व्यवहारको चक्करमा त्यो सबै पहिलेका ती वाचाहरु टुटेर कता पुग्छ कता ।

त्यस्तै विवाहपछि प्रेमी र प्रेमिकाको बीचमा जुन पहिलेको प्रेम थियो त्यो पनि हावा झैं उडेर कता पुग्छ । त्यसैले भनिन्छ प्रेमको मृत्यु विवाह हो । यो विषयमा भारतीय निर्माता निर्देशक एवं कथाकार गुलजारको हिन्दी सिनेमा इजाजत हेर्दा हुन्छ । यो चलचित्रमा प्रेमको अन्त्य विवाह हो भन्ने कुरा देखाउन खोजिएको छ ।

‘प्रेम’ एउटा बाहिरी उत्प्रेरक तरंग हो, जसले हाम्रो मस्तिष्कका शिराहरुलाई आफ्नो स्पर्शबाट झंकृत गरिरहेको हुन्छ र हामीलाई एउटा स्वप्निल संसारमा लगेर हाम्रो मनलाई आनन्दको स्थितिमा पुर्याउँछ । बाहिरी उत्प्रेरणाले भित्री चेतनालाई जुन प्रभाव पार्छ त्यो अदृश्य आनन्द नै प्रेम हो । प्रेममा हामी कसैको देह (रुप) कसैको ममतामयी स्पर्श, कसैको बोली, कसैको सानिध्य, कसैको स्वार्थरहित माया आदिले जुन प्रभाव पार्छ र त्यो नै प्रेमोन्मत्त स्थिति हो । त्यो प्रेम नै ईश्वरको आभास हो ।

प्रतिक्रिया