मंगलबार, वैशाख ९, २०८२

प्रेम : एक वैज्ञानिक चर्चा

सुनील सापकोटा २०७८ फागुन २ गते १८:०७

हिजोआज सोसल मिडियाहरुमा युवा-युवतीहरुले भेलेन्टाइन सप्ताह मनाएको देखिन्छ । जताततै प्रेम दिवसको कुराहरु देखिन्छ र सुनिन्छ । वास्तवमा प्रेम के हो ? भन्ने सन्दर्भमा वैज्ञानिकहरुको विचार पनि महत्त्वपूर्ण छ । विभिन्न वैज्ञानिक तथा शोधकर्ताहरुको भनाइअनुसार युवा-युवतीहरुलाई धेरै पछि मात्र थाहा हुन्छ कि प्रेम भनेको भावनाको, गणितको, खेल नभएर यो हाम्रो शरीरको (हार्मोन) रसायनशास्त्रको एउटा मात्र प्रतिक्रिया हो, प्रभाव हो । जब बाल-बालिकाहरुको आयु बढ्दै जान्छ तब तेह्र-चौध वर्षको उमेरपछि उनीहरुको शरीरमा परिवर्तन देखिन थाल्छ । केटा छ भने उसको अनुहारमा जुँगाको रेखी देखिन लाग्छ, स्वर धोद्रो हुन्छ । उसका शरीरका मांसपेशीहरु बढ्न थाल्छन् र उसमा पुरुष तत्त्वको बोध हुँदै जान्छ ।

त्यस्तै केटी हो भने उनका स्तन बढ्दै जान्छन्, मासिक धर्म हुन थाल्छ । परपुरुषसँग लाज लाग्न थाल्छ । अनि किशोर-किशोरी दुवैमा केटाकेटीपन हराउँदै जान्छ । उनीहरुका शरीरको रसायनिक हार्मोनले उनीहरु जवान भएको संकेत दिन थाल्छ । अनि पुरुष र स्त्री देखा-देख हुनासाथ विपरीत यौनको आकर्षण हुन थाल्छ । प्रकृतिको आदेश र नियमअनुसार उनीहरुमा यौनसम्पर्कको इच्छा बढ्दै जान्छ र प्रजनन् गर्नेतिर चाहना बढ्छ । जसको फलस्वरूप यो बेला किशोर र किशोरी दुवैमा प्रेम र रोमान्सको मौसम चलेको हो भन्ने कुरा पुराना बुढापाकाहरुले बुझ्नुपर्छ । यो प्राकृतिक नियम हो । यो प्राकृतिक प्रेमको खेलमा मनुष्यहरु अभिनय गर्ने काठपुतली मात्र हुन । रसायनशास्त्रीहरुको भाषामा मानव शरीरमा रसायनको प्रभावले गर्दा जवान पुरुष र स्त्रीहरुमा प्रेमको भावना तीव्र भएको हो ।

मनोवैज्ञानिकहरुको भनाइ अनुसार शरीरको हार्मोनको कारणले कुनै किशोर र किशोरीहरु भेट भई एक-अर्कामा आकर्षण हुना साथ पाँच मिनेटमै उनीहरुको मनमा प्रेमको उभार आउन सक्छ । उनीहरुको भनाइमा किशोर र किशोरीहरुले एक-अर्कोमा भेट हुनासाथ प्रेमको उभार आएको शरीरको हाउ-भाउ (बडी ल्याङवेज) बाट थाहा पाउँछन् ।

जब हामी कसैसँग आकर्षित हुन्छौं तब अवचेतनमा उसको जिनलाई मन पराइरहेका हुन्छौं । जब हामी कसैसँग आकर्षित हुन्छौं तब मन भित्रैबाट जिउ ज्यानले आकर्षित भइरहेका हुन्छौं । जसलाई हामी मन पराउँछौं, त्यसको रुप-रंग मात्र होइन, उसको गन्ध पनि हामीलाई मन परिरहेको हुन्छ । वैज्ञानिकहरुको भनाइमा प्रेमको आकर्षण रसाकर्षण हो । जब दुई व्यक्तिको मिलन हुन्छ भने त्यो वास्तवमा ‘केमेस्ट्री’ को मिलन हो ।

यो केमेस्ट्रीको भूमिका एस्ट्रोजन, टेस्टोस्टेरान, सेरोटोनिन तथा डोपामीन रसायनले गरेको हुन्छ । प्रेममा एउटा रसाकर्षणले अर्को रसायनलाई आकर्षित गर्छ । जस्तै यदि कुनै स्त्रीमा ‘एस्ट्रोजेन’ नामक हार्मोन (रसायन) धेरै छ भने त्यसले ‘टेस्टोस्टेरान’ रसायन धेरै मात्रामा भएको पुरुषलाई आफूतिर आकर्षित गर्छ । वैज्ञानिकहरुका अनुसार अर्को सुगन्धले पनि प्रेमको आकर्षणमा भूमिका खेलेको हुन्छ । शरीरको यो सुगन्ध ‘फेरोमोन’ रसायनको देन हो । यसमा बाबु-आमाको जिनको देन हुन्छ । सन्तानलाई यो सुवास बाबु-आमाबाट विरासतमा प्राप्त भएको हुन्छ ।

जो हरेक समय आफ्नो प्रेमको दिवा स्वप्नमा डुबिरहन्छन् उनीहरुको शरीरको तिन तन्तुको रसायन सक्रिय भइरहेको हुन्छ । यी तीन रसायन हुन्- एड्रिनलिन, डोपामिन र सेरोटोनिन । प्रेमको सुरुवातमा शरीरमा तनाव बढ्छ र रगतमा एड्रिनलिन तथा कार्टिसोल हार्मोनको मात्रा बढ्छ । त्यो अवस्थामा जब कुनै प्रेमीको अचानक आफ्नो प्रेमिका भेट हुँदा त्यो पसिनाले भिज्छ । उसको हृदय जोडले ढुक-ढुक भई मुख सुक्न थाल्छ ।

दोस्रो डोपामिनले मस्तिष्कमा त्यही असर गर्छ, जुन कोकिन वा निकोटिनले गर्छ । अर्थात् यो रसायनले दिमागमा प्रेमको नशा भरिदिन्छ । प्रेमको अवस्थामा डोपामिनले प्रेमिका प्राप्त गर्ने चाहना बढाउँछ र मन-मस्तिष्कमा एउटा अचम्मको आनन्दको अनुभूति भरिदिन्छ र भोक-प्यास र निद्रा गायब गरिदिन्छ ।

तेस्रो रसायन हो- सेरोटोनिन । यो रसायनले आनन्दको अनुभूति गराउँदै प्रेममा पागल तुल्याउँछ । मनमा हरेक पल प्रेमको विचार प्रकट गराउँछ ।

त्यसपछि आसक्तिको अवस्था आउँछ । यो अवस्था आउँदा प्रेमको परिणति पूरा हुन्छ । यहि प्रेम नै त्यो रसायनिक बन्धन हो, जसले मिलनपछि जोडेर राख्छ र हामी जन्म-जमान्तर सँगै रहने सपना पाल्छौं । प्रेमको यो बन्धनमा मुख्य रूपले आक्सिटोसिन तथा ब्यासोप्रेसिन नामक दुईवटा रसायनको हात हुन्छ । ती पनि हार्मोन नै हुन् । यिनले रसायनिक भाषामा सन्देश पुर्याउँछन् ।

अन्त्यमा, अरु पनि धेरै रसायन एवं हार्मोनहरु छन्, जसले प्रेममा ठूलो भूमिका खेल्छन् । तिनको चर्चा निकै लामो हुने भएकाले आजलाई यत्ति मात्र ।

प्रतिक्रिया