ओमिक्रोन संक्रमण भए के गर्ने ?

अहिले डेल्टा, ओमिक्रोनलगायत कोरोना भाइरसका प्रजाति नेपालमा पनि उच्चदरमा फैलिएको छ । अन्य देशको संक्रमणदर हेर्ने हो भने नेपालमा पनि यसको फैलावट ठूलो समुदायमा हुनसक्छ । यसको प्रकोप हेर्दा लाग्छ, हामी सबै कोरोनाबाट अछुतो रहन मुस्किल छ । सुखद कुरा के छ भने यो लहरका प्रजातिले त्यति गम्भीर बनाएका छैनन् । ओमिक्रोनको लक्षण कडा रुघाजस्तो देखिएको छ ।
१. कडा रुघा वा जिउ दुख्ने/जाडो हुने भएमा तत्काल पीसीआर टेस्ट गर्ने । रोग थाहा पाउनु भनेको उपचारको बाटो क्लियर हुनु हो ।
२. पीसीआर पोजिटिभ देखिएमा डर नमान्ने/पटक्कै नआत्तिने । खोप लगाएका व्यक्तिमा सामान्य लक्षण देखिएर निको हुन्छ ।
३. विभिन्न अनुसन्धानले देखाएका छन्, कोभिडमा घरेलु उपचार प्रभावकारी छ । बेसार, अदुवा, ज्वानो, मरिच, तुलसीका पात तथा कागतीपानी पकाएर पटकपटक सेवन गर्ने । मनतातो पानी प्रशस्त मात्रामा पटकपटक पिउने ।
४. पोषिलो तथा विविध प्रकारका खाना खाने । जंक फुड नखाने । चिसोबाहेक अन्य खाना बार्नु पर्दैन ।
५. इम्युनो प्लस, इम्युन केयर, इम्युनोभिरलगायत हर्बल औषधि (रोग प्रतिरोधात्मक क्षमता बढाउने) आयुर्वेद चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा सेवन गर्ने ।
६. ज्वरो आएमा/टाउको दुखेमा/शरीर दुखेमा पारासिटामोल, खोकी लागेमा एलर्जीको ट्याब्लेट/कफ सिरप, नाक बन्द भएमा न्याजल ड्रप आदिको प्रयोग गर्ने । घाँटी दुखेमा गार्गल सोलुसनले पटकपटक कुल्ला गर्ने ।
७. घाम ताप्ने, हल्का व्यायाम गर्ने, योग गर्ने, ध्यान गर्ने, भेन्टिलेसन पर्याप्त भएको ठाउँमा बस्ने तथा सकारात्मक सोंच राख्ने ।
८. अक्सिमिटरले अक्सिजन नापिरहने ।
९. घाँटी धेरै दुखेमा, सामान्य उपचारले खोकी वा ज्वरो निको नभएमा चिकित्सकको सुझावअनुसार एन्टिबायोटिक प्रयोग गर्ने ।
१०. अक्सिजनको स्तर घटेमा, सास फेर्न गाह्रो भएमा, खान खान नसकेमा तथा अन्य गाह्रो भएमा तुरुन्त अस्पतालमा जाने ।
प्रतिक्रिया